images
images
  • काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान, यस्तो हुन्छ पाकेटमारको रोचक भाषा

    काठमाडौं-काठमाडौंमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ ।प्रहरीले उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात अभियुक्तलाई पक्राउ गरेको छ। झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ। बाँकी ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।

    उनले भने, ‘दसैँलक्षित सुरक्षा कार्यक्रम हामीले कार्यान्वयनमा ल्याएका थियौँ । यस क्रममा दुई सय सातजना पक्राउ परे। उनीहरू चोरी तथा पाकेटमार धन्दामा संलग्न भएको देखिएको छ जसमध्ये ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। बाँकीविरुद्ध अनुसन्धान जारी छ।’

    प्रहरीका अनुसार उनीहरूलाई चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो, नयाँ बसपार्क, बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो।चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सिंहले जाकारी दिए । पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको एसएसपी सिंहले बताए ।

    दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो । सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    यस्ता छन् चोरले प्रयोग गर्ने ‘कोड भाषा’ :
    पैसा – द
    मोबाइल – कान
    पकेटमारी पीडित – रामे
    पकेटमारी गर्ने (मास्टर) – काशी
    पैसा धेरै छ – टानको द

    पैसा थोरै छ – जुटको द
    गाडी –कांचा
    केटा – छापा
    केटी –भद्रि
    पुलिस आयो–ठुल्दाइ आयो
    ड्राइभर – माम
    खलासी– मले
    गाडीबाट झरेर भाग– टप्की
    गाडीभित्र अगाडि सर – अकल जा
    गाडीभित्र पछाडि सर – चिछल जा

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images