काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा लाग्नुपर्ने बताएका हुन् ।
सहमहामन्त्री डा महतले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बने पनि कांग्रेसले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पारे । अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकाले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उनको भनाई छ।
उनले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको भयबाट मुक्ति दिनेलगायत विषयमा काम गरिरहेको उल्लेख गरे ।
क्रियाशील सदस्य नै कांग्रेसको जग भएकाले निरन्तर सक्रिय रहन कार्यकर्तालाई उनको आग्रह छ। पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको उनको बताए । उनले सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान हुँदै संविधानसभाबाट संविधान जारी गर्ने कार्य कांग्रेसको नेतृत्वमा सम्पन्न भएको बताए । पार्टी र संस्थालाई केन्द्रमा राखेर कांग्रेस अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।


विश्व खबर 



















