images
images
  • दशैँमा राम्रो आम्दानी लिनका लागि बेच्नुस् यी सामानहरू

    काठमाडौं- नेपालीहरूको महान् चाड बडा दशैँ नजिकिएको छ । बजारमा लुगा, जुत्ता, सजावटका सामाग्री, खानेकुरा आदिको किनमेल सुरु भइसक्यो । यो सामान बिक्ने बेला हो । दशैँको किनमेल प्रायः सबै घरका सदस्यले गर्ने भएकाले यसबेला दशैँ विशेष सामाग्रीहरू ल्याएर बेच्दा फाइदा लिन सजिलो हुन्छ । दशैँमा के–के सामान बेच्न सकिएला त ? के के मा राम्रो फाइदा छ ? यो लेखमा हामी यही विषयमा छलफल गर्दैछौँ ।

    लुगाः दशैँमा धेरैले नयाँ लुगा लगाउँछन् । झन् बच्चाबच्चीलाई दशैँ आएपछि नयाँ लुगा नकिनी हुँदैन । यसै कारणले पनि दशैँ आउनुअघि नै बजारमा लुगा किन्नेको धेरै भिड लाग्ने गर्छ । त्यसैले दशैँमा लुगा बेचेर निकै राम्रो आम्दानी गर्न सकिन्छ । बजारमा कुन डिजाइनको लुगा बढी चलेको छ, त्यसलाई ख्याल गरेर वा दशैँ विशेष लुगाहरू राखेर बेच्ने हो भने राम्रो व्यापार हुनसक्छ । मार्ट वा सामान्य पसल संचालन गरिरहनुभएको छ भने पनि दशैँको लागि मात्र भनेर होलसेलबाट लुगा ल्याएर बेच्न सक्नुहुन्छ ।

    चङ्गाः दशैँमा विशेष बिक्री हुने चिज भनेको चङ्गा हो । यो अरुबेला त्यति बिक्दैन । दशैँमा आफ्नो जे जस्तो व्यवसाय भएतापनि पसल अगाडी चङ्गा झुन्ड्याएर राख्नुभयो भने बिक्री हुनसक्ने सम्भावना धेरै हुन्छ । साना केटाकेटीहरूलाई चङ्गा उडाउने रहर हुन्छ । यसबेला उनीहरूको चङ्गा उडाउने प्रतियोगिता चल्ने गर्छ, जसका कारण दशैँमा चङ्गा राम्रै बिकेको देख्न सकिन्छ । चङ्गासँगै लट्टाइ र धागो राख्न नभुल्नुहोला ।

    पूजा सामाग्रीः अबिर, केसरी, फूलहरू, प्रसाद, अगरबत्ती, दुर्गाको फोटो आदि पूजा सामाग्रीहरू दशैँमा प्रयोग हुन्छन् । यी सामाग्री नभई दशैँ सम्पन्न हुँदैन । सबै घरमा पूजा हुने भएकाले दशैँमा यी कुराहरू नबिक्ने कुरै आउँदैन । त्यसैले दशैँमा पूजा सामाग्री बेचेर पनि आम्दानी गर्न सकिन्छ ।

    जुत्ताः दशैँमा जुत्ता किन्ने ग्राहकहरू पनि उत्तिकै मात्रामा देखिन्छन् । चलेका ब्राण्डअनुसारको जुत्ता राखेर दशैँमा राम्रो व्यापार गर्न सकिन्छ । विशेषगरी नेपालकै चर्चित गोल्डस्टार, हात्ती छाप जस्ता ब्राण्डका सामानहरू बेन्च सकिन्छ । साथै चाइनिज जुत्ताहरूको पनि माग राम्रो नै हुन्छ ।

    जमराः दशैँमा टिका सँगसँगै जमरा पनि लगाउने चलन छ । सहरमा व्यस्तता वा अरू कुनै कारणले जमरा राख्न नभ्याएकाहरूले किनेर लगाउने गर्छन् । त्यसैले दशैँमा जमरा बेचेर पनि फाइदा लिन सकिन्छ ।

    मासुः दशैँमा मासु नपाक्ने घर बिरलै हुन्छन् । खसी तथा बोकाको माग नपुगेर विदेशबाट पनि ल्याउने गरिन्छ । अरुबेलाको भन्दा यसबेला खसीको भाउ बढेको हुन्छ । मासु पसल खोलेर वा फ्रिज भएको ठाउँ हो भने मासु स्टोर गरेर पनि बेच्न सकिन्छ । यो समयमा विशेषगरी खसी लगाएका पशुहरुको माग पनि बढ्दो छ ।

    फलफूलः दशैँमा आफ्ना नातागोता इष्टमित्र भेट्न जाँदा फलफूल लगिदिने चलन छ । त्यस्तै पूजा गर्दा भगवानलाई चढाउन र घरमै खानका लागि पनि फलफूल किनिन्छ । स्याउ, केरा, अम्बा, सुन्तला आदि फलफुलको दशैँमा राम्रो व्यापार गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images