काठमाडौं– सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि उडेको जहाजको ल्यान्डिङ गियरमा समस्या भएको थियो ।
काठमाडौंबाट विराटनगर उड्ने जहाजले कोसी टप्पु वन्यजन्तु आरक्ष कटेपछि विराटनगर टावरसँग अवतरण अनुमति माग्छन् । तर, सोमबार बुद्ध एयरको एटीआर जहाजले विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई धावनमार्गमा अवतरणको अनुमति मागेन । उल्टै पाइलटले एटीसीलाई अप्रत्याशित काम अह्राए, ‘हाम्रो जहाजको चक्का खुलेको छ कि छैन हेरिदेऊ ।’ विराटनगरबाट १० माइल परै रहेको जहाजले यस्तो सोधेपछि एटीसीले नाङ्गा आँखाले जहाजका पाङ्ग्रा खुले/नखेलेको हेर्ने प्रयास गरे तर देखेनन् ।
चालकदलका चार सदस्यसहित ७७ जना सवार ‘अल्फा नोभेम्बर इन्डिया’ एटीआर जहाज दोस्रो पटक धावनमार्गमाथिबाटै उड्यो । पाइलटले चक्का खुलेको र लक भए/नभएको पक्कापक्की गर्न चाहेका थिए । तर, दोस्रो प्रयासमा पनि सफल हुन सकेनन् । त्यो जहाजको पछिपछि आइरहेको अर्को जहाज भने सजिलै अवतरण भयो । पहिलो पटक एटीसीले पाइलटलाई ‘कुनै पनि ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेको र लक नभएको’ सूचना दिएका थिए । दोस्रो पटकको प्रयासमा पनि एटीसीले ‘सर, बायाँ र अगाडिको पाङ्ग्रा देख्यौं तर दाहिनेपट्टिको देखिएन’ भनेपछि जहाजका क्याप्टेन आङ गेलु शेर्पाले काठमाडौं फर्किने निर्णय लिए ।
विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विराटनगरका लागि सोमबारको पहिलो फ्लाइट नै अवतरण हुन नसकेपछि ‘इमर्जेन्सी डिक्लियर’ नगरेर सामान्य उडान जस्तै फर्किएको थियो । यसको अर्थ जहाजमा कुनै पनि प्राविधिक समस्या नदेखिनु तर आपत्कालीन अवस्था आउनु हो । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सामान्य अवस्थामा एटीआर–७२ ले काठमाडौंबाट विराटनगर एकतर्फी उडानका लागि ४० मिनेट हाराहारी लगाउँछ । ३ शिशु, २ बालबालिका र वयस्क गरी ७३ यात्रु बोकेर बिहान ८ बजेर ३१ मिनेटमा उडेको जहाज विराटनगरबाट ७९ औं मिनेटमै फर्किएको थियो ।
बिहानको मौसम सफा भएकाले बुद्धका लागि भीएफआर (हेरेर गरिने उडान) उडान तय गरिएको थियो । फर्किंदा पनि यसले उपकरण (आईएफआर) को सहायता नलिई काठमाडौंभित्र प्रवेश गर्यो । जहाज काठमाडौंभित्र नपस्दै वायुसेवा कम्पनी बुद्ध र काठमाडौं विमानस्थलले यसबारे जानकारी पाइसकेका थिए । दुम्जा, धुलिखेल, साँगा हुँदै जहाज काठमाडौं उपत्यकाको आकाशमा प्रवेश गरेपछि काठमाडौं कन्ट्रोल टावरलाई फेरि भन्यो, ‘मेरो जहाजको पाङ्ग्रा हेरिदेऊ ।’ टावरमा रहेका एटीसी, बुद्ध एयरकै प्राविधिकहरूले दूरबिनको सहायताले हेरे । त्यतिबेला जहाज काठमाडौंको आकाशमा १२ हजार फिट उचाइमा थियो । विमानस्थल प्रवक्ता शेर्पाका अनुसार अप्ठ्यारोमा परेको जहाजलाई अवतरणमा प्राथमिकता दिँदै विमानस्थल एकतर्फी चलाइयो । अर्थात्, काठमाडौंबाट बाहिरका लागि हुने उडान रोकियो । तर आउने जहाजलाई सावधानीपूर्वक अवतरण गराउने क्रम जारी नै राखियो ।
बुद्धको जहाज भने काठमाडौंभित्रको आकाशमा फन्को लगाइरहेको थियो । काठमाडौंबाट १८ सय किलोग्राम इन्धन राखेर उडेको जहाजले विराटनगरबाट फर्किने इन्धन पनि यतैबाट भरेर उडेको थियो । यदि ल्यान्डिङ गियर नखुलेको भए यसले अकाशमा उडेरै इन्धन नष्ट (फ्युल–बर्न) गरी फममा आपत्कालीन अवतरण गर्ने योजना बनाएको थियो । फम चिप्लो पदार्थ हो । पाङ्ग्रा नखुलेमा फायर ट्रकको माध्यमले धावनमार्गमा फम पोखेर जहाजको बेली (जहाजमुनिको भाग) ले घर्षण गराई अवतरण गराइन्छ ।
‘ट्यांकीमा रहेको अधिकांश तेल खाली उडाएरै सक्ने । थोरै तेलमात्रै राखेर फममा अवतरण गराउँदा घर्षण हुने र आगोको झिल्का नआउने भएकाले यो आपत्कालीन विधि हो,’ प्राधिकरणका एक विज्ञ पाइलटले भने ।
आठौं पटक एटीसीले बुद्धको एटीआर जहाजलाई धावनमार्गमाथिबाट उड्न अनुमति दिए । त्यसपछि जहाजलाई चालकदलले कोटेश्वरतर्फबाट ल्याए । त्यसबेला जहाज धावनमार्गदेखि १ हजार फिट माथिबाट उत्तरतर्फ उड्यो । यो पटक चाहिँ एटीसी र धावनमार्ग आसपासमा उभिएका सुरक्षाकर्मीले जहाजको सबै पाङ्ग्रा खुलेको देखे । जहाजलाई अवतरण अनुमति दिइयो । जहाज १० बजेर २७ मिनेटमा अवतरण भयो । पार्किङ वेसम्म आइपुग्दा उक्त जहाजले १ घण्टा १६ मिनेट बिताइसकेको थियो ।
सोमबारको घटना अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले बेग्लाबेग्लै समिति बनाएका छन् । प्राधिकरणले विज्ञ पाइलट डीआर निरौला नेतृत्वको आन्तरिक प्राविधिक छानबिन कमिटी बनाएको छ भने बुद्धले प्रमुख पाइलट रवि श्रेष्ठको नेतृत्वमा छानबिन गरिरहेको जनाएको छ । दुवै समितिले उडानको सोमबारै एफडीआर (फ्लाइट डाटा रेकर्डर) र सीभीआर (ककपिट भ्वाइस रेकर्डर) झिकेको छ । एफडीआर विश्लेषण गर्ने प्रविधि नियमनकारी निकाय प्राधिकरणसँग नभएकाले समितिले यसबारे जानकारी लिन बुद्धकै प्रविधिमा भर पर्नुपर्नेछ ।
प्रारम्भिक अनुमानअनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालकदलले विराटनगरमा अवतरण नगरेको देखिन्छ । ‘जहाजमा ल्यान्डिङ गियरका लागि दुइटा इन्डिकेटर हुन्छन् । यो घटनामा प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेन्डरी इन्डिकेटरले संकेत ठीक देखाएको,’ बुद्धले विज्ञप्तिमार्फत जानकारी दिएको छ । उसका अनुसार पाइलटको टाउको माथि रहेको सेकेन्डरी इन्डिकेटरले ठीक संकेत दिएको अवस्थामा ल्यान्डिङ गियर खुलेकै मानिन्छ । तर, सोमबारको घटनामा क्याप्टेनले सेकेन्डरी इन्डिकेटरलाई विश्वास गरेनन् ।
एक विज्ञ पाइलटका अनुसार सोमबारको जस्तो परिस्थितिमा चालकदलले जहाज विराटनगरमा अवतरण गराउन मिल्थ्यो । ‘उडानका कमान्डर एटीआर–७२ का प्रशिक्षक पाइलट तथा प्राधिकरणमा पाइलटलाई जाँच लिने डीसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन् । तर, उनले ककपिटमै अनिवार्य रहने क्यूआरएच (क्विक रिफरेन्स ह्यान्डबुक) को पनि मद्दत लिएको देखिएन, यो अब छानबिनबाट मात्रै प्रस्ट होला,’ ती पाइलटले भने ।
पाइलटहरू नै झुक्किएको घटनाले सोमबार जहाजभित्रका यात्रु त्रासमा रहे । जहाजले काठमाडौं फन्को लगाउँदा केहीले बान्ता गरेको बताएका छन् । आठौं पटक धावनमार्ग नजिकै उड्दा छेउछाउमा दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी तैनाथ थिए । बुद्धले सोमबारै उक्त उडानमा रहेका यात्रुलाई अर्को चार्टर्ड उडानमा विराटनगर पठाएको थियो । ७३ मध्ये १२ जनाले यात्रा रद्द गरेको एक अधिकारीले बताए ।
यसैबीच, उक्त उडानमा रहेको चालकदललाई ‘बिदा’ मा पठाएको र जहाजलाई प्राविधिकहरूको निगरानीमा ह्यांगरमा राखिएको कम्पनीले जनाएको छ । सोमबार बिहानै पोखराका लागि उडेको बुद्धकै अर्को एटीआर–७२ जहाजको कार्गो कम्पार्टमेन्टमा ग्यास भरिएको संकेत ककपिटमा देखिएको थियो । उक्त जहाज पनि बीचबाटोबाटै फर्किएको थियो । गोरखा, मनकामना नपुग्दै फर्किएको यो एटीआर पनि प्राविधिकको निगरानीमा राखिएको छ ।
पाइलटको चौतर्फी प्रशंशा
७३ जना यात्रुको ज्यान जोगाएको भन्दै सिनियर पाइलट आंगेलो शेर्पाको चौतर्फी प्रशंशा सुरु भएको छ । बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गेयरमा आकस्मिक समस्या देखिएपछि पाइलटले विमानलाई काठमाण्डुमा सफल अवतरण गराएका थिए ।
बुद्ध एयरको एनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए । ल्याण्डिङ गियरमा कुनै संकेत नदेखिएपछि काठमाडौं फर्किंदा केही यात्रु आत्तिसकेका थिए । त्यसकारण यात्रुलाई सम्झाउनेदेखि सेफ ल्याण्डिङ गराउनेसम्मको जिम्मेवारी चालक दलमा थियो । त्यसमा क्याप्टेन शेर्पाको टोली सफल भएको छ ।
के भन्छन् यात्रु ?
यात्रुहरु तालिँदा तिनै पाइलटले शान्त्वना दिएका थिए । यात्री अनमोल प्रधानले विमान अवतरण नुहँदा यात्रुहरु रुन र कराउन थालेको बताए । उनले केही मानिसहरु आत्तिएर बेहोस समेत भएको बताए ।
उनी भन्छन्,‘हामीले हाम्रो ज्यान जोगिन्छ भनेर आशा मारिसकेका थियौं। विमान अवतरण हुनेबेला त्यहाँ तल दम्कल, आर्मी प्रहरी तयारी अवस्थामा देख्दा ज्यान जान्छ भन्ने सोचेका थियौं। हामीलाई भगवानले मात्र बचाएको जस्तो लाग्छ। भगवान पशुपति नाथको कृपाले बाँच्यौं। हामी सबै हात जोडेर भगवान सम्झिँदै बसिरहेका थियौं।’
अर्का यात्रु प्रताप लिम्बुले जहाजभित्रको अवस्था यसरी सुनाए
बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो । त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६र७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाण्डु आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाण्डु आएपछि पनि ८र९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।
त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं ।
एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो । त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो ।
नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।


विश्व खबर 



















