images
images
  • एमालेमा तीन उपाध्यक्ष र ७ सचिवको प्रस्ताव

    काठमाडौं –  नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकमा उपाध्यक्षको संख्या थप्न सुझाव दिइएको छ। उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि छलफल गर्न बनाइएका समूहहरूले उपाध्यक्षको संख्या थप्न सुझाव दिएका हुन्। उपमहासचिव पौडेलको प्रस्तावमा तीन उपाध्यक्ष र ७ सचिवको प्रस्ताव गरिएको छ। बैठकमा नेताहरूले  सात उपाध्यक्ष र त्यति नै संख्यामा सचिव बनाउन  सुझाव दिएका छन्।

    समूहगत छलफलपछि शनिबार अधिकांश टोली नेताले उपाध्यक्ष बढाउनुपर्ने सुझाव दिएका छन्। प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेशअनुसार उपाध्यक्ष संख्या राख्नुपर्ने सुझाव आएको जानकारी दिए। समूहगत टोली नेताहरूले उपाध्यक्षलाई प्रदेश नेतृत्वको जिम्मेवारी दिन पनि सुझाव दिएका थिए।

    नवौं महाधिवशेनदेखि ५ उपाध्यक्षको व्यवस्था गरिएको थियो। पार्टीमा विवादकैबीच अध्यक्ष ओली निकट केन्द्रीय सदस्यहरूको बैठकमा २ र पछि १ थप गरेर तीन उपाध्यक्षको प्रस्ताव गरिएको थियो। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार पार्टीको कुनै पनि कार्यकारी पदमा दुई कार्यकाल मात्र जिम्मेवारी पाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने सुझाव टोली नेताहरूले राखेका छन्।

    पार्टीको जिम्मेवारी लिन ७० वर्ष उमेर हद कायम गर्न पनि समूहगत छलफलबाट सुझाव आएको भट्टराईले जानकारी दिए। पार्टीको हालको विधानमा पनि ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्था छ।

    प्रदेश १ को समूहबाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापाले समूहको सुझाव प्रस्तुत गरेका थिए। यस्तै, उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागको तर्फबाट खगराज अधिकारीले सुझाव राखेका थिए।

    युवा सहभागिता नेतृत्वसम्मै
    एमालेमा युवालाई नेतृत्वसम्मै पुर्‍याउनुपर्ने माग पनि चर्को रूपमा उठेको छ। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार प्रत्येक तहमा युवा नेतृत्वलाई उल्लेख रूपमा बढाउनुपर्ने सुझाव आएका छन्। नीति निर्माणदेखि कार्यान्वयन तहसम्म, जनप्रतिनिधिदेखि नेतृत्वसम्मै युवाको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरिएको छ। पार्टी बढीभन्दा बढी समावेशी बनाएर राष्ट्रिय चरित्रको पार्टी बनाउनुपर्ने सुझाव पनि टोलीहरूले दिएका छन्।

    सम्पूर्ण ध्यान निर्वाचनमा
    आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीका कामकारबाही अगाडि बढाउनपर्ने सुझाव नेताहरूले राखेका छन्। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसको तयारीमा केन्द्रित हुनुपर्ने सुझाव बैठकमा नेताहरूले राखेका छन्।

    एमसीसीबारे पार्टीको धारणा माग
    केन्द्रीय कमिटी बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा स्पष्ट बनाउनुपर्ने माग उठेको छ। एमालेको राजनीतिक प्रतिवेदन एमसीसीबारे मौन छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images