images
images
  • ‘चितवनमा प्रचण्डसँग चुनावमा भिड्न तयार छु’ : बादल

    काठमाडौं – एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन्।

    शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन्। चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

    प्रचण्ड र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए । पूर्वमाओवादी नेता बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

    उनले सभामुख अग्नि सापकोटाको पनि आलोचना गरे । सभामुख सापकोटाले निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप बादलले लगाए । उनले भने, ‘उहाँले (सभामुख सापकोटाले) लोकतन्त्र, विधि उल्लंघन गरिराख्नु भएको छ ।’

    अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको आरोप उनले लगाए । अर्को एक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।

    दुवै नेताकोे गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिडन्त हुन्छ भनी उनलाई प्रश्न सोधिएको थियो। ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।’

    उनले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलायन भएको बताए। नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेकोसमेत उनको आरोप छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images