images
images
  • एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा, भन्छिन्-‘ मेरो मुख्य एजेन्डा नागरिकता र श्रमिक अधिकार’

    काठमाडौं- गैर आवासीय नेपाली संघ (आइसिसी)को आसन्न निर्वाचनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । हाल आइसिसी उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन संघको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

    घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् ।’आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’ उनले भनिन् , ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ ।’

    उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन् । ‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहने छ । अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस् ।’ थापाले भनिन् । परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिईन् ।

    सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन । ‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो, ‘उनले भनिन्‘ समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ ।’

    अहिले एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र सदस्य रहेकोमा आफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउँने लक्ष्य रहेको उनले बताईन् । उनले भनिन् ,‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट बञ्चित छन्, त्यो अधिकार सबैले पाउँनुपर्छ ।’

    अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताईन।
    उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उनको भनाई छ ।

    संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन् । घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका निवासी थापा,बेलायतका कुल आचार्य र रसियाका डा.बद्री केसीबीच अध्यक्षमा प्रतिस्पधा हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images