काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएको थियो । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएको थियो ।
बिहीबार बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए । उनले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
विधेयक पारित भएपछि प्रतिनिधिसभाको अर्को बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।


विश्व खबर 


















