काठमाडौ – नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारीको टुंगो लगाएको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको राजेन्द्र पाण्डेले जानकारी दिए ।
चार उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिव रहनेगरी पदाधिकारीको टुंगो लागेको एक केन्द्रीय सदस्य जानकारी दिए । उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई छन् । महासचिवमा बेदुराम भुसाल चयन भएका छन् । यस्तै उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ चयन भएको एक नेताले बताए ।
नेकपा एमालेमा पोलिटब्युरो सदस्य रहेका नेतालाई नेकपा एसमा स्थायी कमिटी र आठौं र नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचितलाई पोलिटब्युरो सदस्य बनाउने सहमति भएको पाण्डेलले बताए । नेकपा एमालेमा पोलिटब्युरो सदस्य रहेका नेतालाई नेकपा एसमा स्थायी कमिटी र आठौं र नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचितलाई पोलिटब्युरो सदस्य बनाउने सहमति भएको बताइएको छ ।
त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । र, पोलिटव्युरो पनि आजै घोषणा हुने प्रस्तावित महासचिव बेदुराम भुसालले जानकारी दिए । केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि आजै हुने भुसालले बताए । पाण्डे र साह एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बनेर पराजित भएका थिए । त्यसबेला पाण्डे माधव नेपाल प्यानलमा थिए भने साह केपी ओली प्यानलमा थिए । महासचिव भुसाल एमालेको सचिवमा पराजित भएका थिए ।
त्यस्तै उपमहासचिव डा.तुलाधर,पौडेल र प्रकाश ज्वाला तीनै जना एमालेमा पोलिटव्यूरो सदस्य थिए । सचिवमध्ये केशवलाल श्रेष्ठ नवौं महाधिवेशनमा पनि ओली प्यानलबाट सचिवमै पराजित भएका थिए ।
यस्तो छ सूची :
अध्यक्ष- माधव नेपाल
वरिष्ठ नेता : झलनाथ खनाल
उपाध्यक्ष – राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल
महासचिव -डा बेदुराम भुसाल
उपमहासचिव -डा विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला
सचिव – रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ


विश्व खबर 


















