काठमाडौँ -सरकार गठनको ७० दिन नाघिसक्दासमेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
सत्तारूढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रीको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको अर्को मुख्य कारण हो, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यो अध्यादेश खारेजी वा प्रतिस्थापन विधेयक ल्याए मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आएका छन् ।
तर यही अध्यादेशबाट विभाजित भएको गठबन्धनको अर्को दल नेकपा एकिकृत समाजवादी अहिले अदालतमा मुद्दा बिचाराधिन रहेकाले खारेजी वा प्रतिस्थापन गर्न नहुने पक्षमा छ । जसकारण सरकार न अघि बढ्ने न पछि हट्ने अवस्थामा रहेको हो ।
बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बिहीबारको संसद बैठकमा दल प्रतिस्थापनसम्बन्धी विद्येयक आउने र लगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने ब्रिफिङ पार्टी बैठकमा गरेका थिए । तर त्यसबारे अन्य गठबन्धनमा रहेका दलहरुले जानकारी नभएको बताएका छन् ।
सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनमा रहेका दलहरु बैठकमा जुटेका छन् । तर सहमती भइनसकेको बताउँदै आएका छन् । यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेको थिएन । आज (बिहीबार) अपरान्ह पनि बैठक बस्ने भएको छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए ।
गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हालसम्म कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री सहभागी छन्। कोरोना महामारीमासमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रिबिहीन भएपछि देउवाले आफू नियुक्त भएको करिब २ सातापछि व्यवसायीसमेत रहेका उमेश श्रेष्ठलाई राज्यमन्त्रि नियुक्त गरेका थिए।
त्यसको सर्वत्र आलोचना खेपेका प्रधानमन्त्री देउवाले बुधबारमात्रै आफूनिकट नेता डा. नारायण खण्डालाई परराष्ट्र मन्त्रि बनाएका छन्। जसका कारण पार्टीभित्रसमेत चर्को असन्तुष्टि बढेको छ।


विश्व खबर 


















