images
images
  • जग्गामा घर छ, लालपूर्जा छैन

    सिन्धुली– व्यापारिक केन्द्र बन्दै गएको कमलामाई नगरपालिका–९ स्थित भिमान बजार बर्षौदेखि लालपूर्जा विहिन छ । स्थानीय बासिन्दाका अनुसार उक्त बजारका तीन सयभन्दा बढी घरधुरी लालपूर्जा विहीन छन् ।

    उक्त बजारमा अहिले थप पक्की घर बनिरहेका छन्, तर घरधनीको हातमा लालपुर्जा छैन । लालपुर्जा नहुँदा व्यापार व्यवसाय गर्नेहरू झनै ठूलो समस्यामा परेका हुन् ।

    भिमान बजारमा अहिले सडक छेउको जग्गा प्रतिधुर कम्तीमा रु.चार लाखमा विक्री हुने गरेको छ । ‘नगरपालिकामा गएर विक्री वितरण हुन्छ, लालपूर्जा भने छैन,’ स्थानीय एवं समाजसेवी हरिशचन्द्र पौडेलले भने, ‘सरकारले तत्काल लालपुर्जा वितरण गर्नु प¥यो ।’

    ऐलानी जग्गा अहिले सबै नगरपालिकामा दर्ता छन् । ‘लाखौँमा जग्गा कारोबार हुन्छ, तर धितो चल्दैन,’ स्थानीयले पीडा पोखे । ‘भिमान बजारमा एक व्यक्तिको बढीमा दुई कट्ठा जग्गा छ । जग्गाको विक्री हुन्छ, तर धितो राखेर कारोबार गर्न पाइएन’, अर्का स्थानीय वसन्त भुजेलले आफ्नो पीडा सुनाए ।

    उनले तत्काल सरकारले भिमान बजारमा वर्षौँदेखि बस्दै आएका स्थानीयलाई लालपूर्जा दिनुपर्ने बताए । तत्कालीन समयमा सुकुम्वासी समस्या समाधान आयोगले लालपूर्जा वितरणका लागि पहल कदमी चालेपनि बिचमै रोकिएकोमा स्थानीयको गुनासो छ ।

    बैङ्क अथवा वित्तीय संस्थामा लालपूर्जा राखेर ऋण लिई उद्यम तथा व्यापार गर्नका लागि लाखौँ मुल्यको जग्गा कौडीको भाउमा समेत उपयोग गर्न नसकेको स्थानीय बासिन्दा सुशील मगरको गुनासो छ । घर गृहस्थी गरेर बस्नका लागि समस्या नभएपनि व्यापार व्यवसाय गर्नेका लागि भने समस्या भएको उनको भनाई छ ।

    उनकाअनुसार २०२८ साल र २०३६ सालको नापीमा भिमान बजार परेन । स्थानीय बासिन्दा शालीग्रामप्रसाद पौडेलकाअनुसार तिरोको भयले पहिला गाउँ व्लक भनेर नापी आउँदा समेत नपाउने चलन थियो ।

    भिमान बजार लालपूर्जा विहीन बन्नुमा लामो इतिहास छ । २०२२ सालतीर उक्त क्षेत्रमा दुई/चारवटा घरमात्र थिए, खेतहरू बजारभन्दा तल थियो । ‘पहिलो नापी आउँदा खेतहरू परे, तर भिमान बजारले नपाउँदा कसैले चासो राखेनन् ।’ स्थानीय बासिन्दा पौडेलले भने ।

    तत्कालीन समयमा वन सिमाना लगाएकोले नापी नभएको स्थानीय बासिन्दा बताउँछन् । ‘वन सिमाना सरकारले लगाएको थियो’, स्थानीय बासिन्दा टंकप्रसाद पोखरेलले भने, ‘बजारभन्दा तलको जग्गालाई सिमाना बनाएर डिभर्केशन (पोल गाडिएको) थियो । वनले खाँली गराएको जग्गा तत्कालीन समयमा गाँउ पञ्चायतको हुने भन्ने थियो ।’

    सोहीअनुसार गाँउ पञ्चायतले तत्कालीन समयमा विद्यालय सञ्चालनका लागि केही रकम लिएर जग्गा वितरण गरेको थियो । पूर्व क्याम्पस प्रमुख समेत रहेका स्थानीय बासिन्दा पौडेलले थपे,‘बस्ती बस्न दिएर उठेको रकमबाट भवन बनाई वाणिज्य बैङ्कलाई भाडामा दियौँ । त्यसबाट आएको रकम विद्यालय सञ्चालनमा खर्च गरिन्थ्यो । त्यस बेला जग्गा दिए बापत करिब ३० हजार रकम सङकलन भएको थियो ।’

    उनकाअनुसार विद्यालयले फिटको हिसाबमा पैसा लिएर स्थानीयलाई जग्गा वितरण गरेको थियो । भिमान बजारमा अहिले राष्ट्रिय वाणिज्य बैङ्क र मेघा बैङ्कका शाखा छन् । तर, भिमान बजारका बासिन्दाले जग्गा तथा घर धितो राखेर ऋण लिन पाएका छैनन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images