images
images
  • कांग्रेस महाधिवेशन: पालिका अधिवेशन फेरि अनिश्चित !

    काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरगम बढेको छ । तर, पालिका अधिवेशन भने फेरि पनि अनिश्चित भएको छ ।

    १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नहुँदा पालिका अधिवेशन पुनः प्रभावित हुन लागेको हो । गत २५ भदौमा अन्तिम पटक संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन सकेर यही असोज ९ गते देशभरका पालिकामा एकैपटक महाधिवेशन गर्ने कार्यतालिका बनेको थियो ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म बाँकी १३ जिल्लाका क्रियाशील सदस्यको सूची विवाद मिलाएर पार्टीले हस्तान्तरण गरेको छैन । त्यसैले वडा अधिवेशन भएका ठाउँमा मात्रै अघि बढ्ने निर्णय पार्टीबाट नभए आगामी ९ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न सम्भव छैन ।

    पालिका अधिवेशन प्रभावित भए प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन स्वतः प्रभावित हुने छ । त्यसको असर प्रदेश र केन्द्रीय महाधिवेशनसम्म पर्न सक्छ । केन्द्रीय निर्वाचन समितिले यही अवस्थामा पालिका अधिवेशन असम्भव भएको ठहर गरिसकेको छ ।

    निर्वाचन समितिका सदस्यहरु पनि महाधिवेशन हुने नहुने विषयमा बोल्न तयार छैनन् । नेपाली कांग्रेसको कार्यतालिका अनुसार काम भएको भए गत भदौ २७ गते नै पालिका अधिवेशन सकिनु पर्थ्यो ।

    गत साउन केन्द्रीय समितिले गरेको निर्णयअनुसार भदौ २ गतेभित्र टुंग्याउने भनेको क्रियाशील सदस्यता अहिलेसम्म नटुंगिदा २७ गते हुने भनिएको पालिका अधिवेशन आगामी ९ गतेका लागि सारिएको छ ।

    तर त्यो तालिका प्रभावित हुने निश्चित भइसकेको छ । पाँच दिनअघि असोज १ मै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइसक्नुपर्ने थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंगलबार अधिवेशन हुनुपर्ने थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images