images
images
  • गौरीशंकर क्याम्पस जिल्लामा शिक्षाको अभिभावक बन्नुपर्छ : पूर्वमन्त्री गुरुङ

    दोलखा – पूर्वमन्त्री माननीय सांसद पार्वत गुरुङले दोलखाको सबैभन्दा अग्रणी सामुदायिक गौरीशंकर बहुमुखी क्याम्पसले अध्यापनका साथै अनुसन्धान क्षेत्र र विकास अभियानमा पनि दोलखा जिल्लालाई सघाउदै जानुपर्ने बताए ।

    समृद्ध दोलखा सुखी दोलखालीको नारालाई साकार पार्ने उद्देश्य साथ दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पसले ठोस योजना बनाउनुपर्नेमा पूर्वमन्त्री गुरुङले जोड दिनुभयो । गौरीशंकर क्याम्पसले शैक्षिक गुणस्तर सुधारमा जिल्लाभरीको अन्य क्याम्पसहरुलाई पनि सघाउनु पर्ने पनि बताए । उनले जिल्लाकै नेतृत्व गर्ने कलेज भएको नाताले समग्र जिल्लाको शैक्षिक विकासमा हातेमालो गर्न अनुरोधसमेत गरेको छ ।

    गौरीशंकर बहुमुखी क्याम्पसको पञ्चबर्षिय रणनीतिक योजना तर्जुमा सम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा दोलखाको निर्वाचित सांसदहरु, जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा पूर्वमन्त्री गुरुङले हिमाली विश्वविद्यालयको परिकल्पना बोकेको क्याम्पसले कम्तीमा पनि २० बर्षको गुरुयोजना निर्माण गरेर मार्ग तय गर्नुपर्ने सुझाव पनि दिनुभयो । बागमती प्रदेशको हिमाली जिल्लाहरुलाई केन्द्रभागमा राखेर हिमाली विश्वविद्यालयको औचित्य र सम्भाव्यता अध्ययन थाल्नुपर्छ ।’ उनले बताए ।

    कार्यक्रममा गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरले समुदाय, सरकार र व्यक्तिहरुको योगदानले छोटो समयमै क्याम्पसले उल्लेख्य सुधार गरेको वताए । भौतिक पूर्वाधार, विद्यार्थी संख्या, उतीर्ण दरमा प्रत्येक बर्ष सुखद सफलता मिलिरहेको बताउदै उनले भने, ‘अब शैक्षिक सुधारमा काम केन्द्रीत गरिने र त्यसैका लागि पञ्चबर्षिय योजना केन्द्रीत गरिने छ ।’

    कार्यक्रममा क्याम्पस प्रमुख शान्तबहादुर केसीले नेपालका १६ वटा हिमाली जिल्लाको ५६ वटा त्रिविवि अन्तर्गतको सामुदायिक कलेजमध्ये गौरीशंकर बहुमुखी क्याम्पस जेठो र विद्यार्थी संख्या सवैभन्दा वढि भएको क्याम्पसमा पर्ने हुँदा पनि हिमाली विश्वविद्यालयको सम्भावना रहेको जानकारी गराउनु भयो । पञ्चवर्षिय रणनीतिक योजना निर्माण समितिका संयोजक नारायण सेढाईले योजनाको खाका प्रस्तुत गरेको थियो ।

    कार्यक्रममा माननीय सांसद शान्ति पाख्रिन, जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, तामाकोसी गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेल, शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, उपमेयर कमला वस्नेत, उपाध्यक्ष उर्मिला केसीले क्याम्पसको योजना निर्माणसम्बन्धी विभिन्न सुझाव दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images