images
images
  • सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर

    चितवन- नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

    हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको हो ।उच्च अदालत हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र निर्मला शाक्यको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालतको हेटौंडाका सूचना अधिकारी केशव कौशिकले जानकारी दिए ।

    उच्च अदालतले सरकारी वकिल र जिल्ला अदालतका यी परस्पर विपरीत दावीमाथि कुनै राय दिएको छैन । सैनिक अदालतले मुद्दाको फैसला गरिसकेको कारण देखाएर केही गडबडी भएको भए पुनरावेदनमार्फत् सुधार गर्न सकिने भनेको छ । अघिल्लो आदेशमा क्षेत्राधिकार विषयको विवादमा आदेश दिँदै अदालतले फैसलाको सक्कल प्रति मगाएको थियो ।

    गत १ भदौमा चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले कर्तव्य ज्यान र हतियार चोरी मुद्दामा अभियुक्त सेनाका जवान गंगाधर ढकाललाई सैनिक अदालतमा बुझाउने आदेश गरेको थियो । एकै व्यक्तिसँग जोडिएको फरक मुद्दामा नागरिक अदालतकै क्षेत्राधिकार रहेको सरकारी वकिलको तर्क थियो भने सैनिकले सैनिक ऐनअनुसार कारबाही हुनुपर्ने तर्क गरेका थिए ।

    सैनिक ऐनको दफा ६६(१) मा हत्या बलात्कार, यातना र अपहरण कसुरलाई सैनिक अदालतको क्षेत्राधिकारमा नपर्ने भनी उल्लेख छ । यस मुद्दामा सरकारी वकिलले हत्या र हतियार चोरी दुवै मुद्दा नागरिक अदालतबाट हेर्नुपर्ने दावी गरेको थियो ।

    चितवन अदालतले सैनिक ऐनको क्षेत्राधिकार भएको उल्लेख गरी सोही अदालतबाट कानुनी कारबाही अघि बढाउन आदेश गरेपछि जिल्लास्थित सरकारी वकिलको कार्यालय आदेशविरुद्ध उच्च अदालतमा गएको थियो । सरकारी वकिलको कार्यालय नागरिक अदालतको क्षेत्राधिकारको विषय अन्तर्गत पर्ने भन्दै पुनरावलोकनका लागि माथिल्लो निकायमा गएको हो । जिल्ला अदालतले पाटन उच्च अदालतको हेटौंडा इजलासमा कैफियत प्रतिवदेन पठाएको थियो । उच्च अदालतबाट गत १७ भदौमा प्रतिवेदन मागका सम्बन्धमा आदेश भएपछि चितवन अदालते प्रतिवेदन पठाएको हो ।

    गंगाधर ढकालले सहकर्मी भरत गुरुङको गत ७ साउनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो । चोरी भएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो । हत्या आरोप लागेका गंगाधरविरुद्ध सैनिक अदालतले २५ वर्ष कैद तोकेको छ ।

    भदौ १ मा चितवन जिल्ला अदालतले सेनाको हतियार चोरी र हत्याको अभियोग लागेका गंगाधर ढकाललाई सैनिक अदालतको जिम्मा लगाउन आदेश दिएको थियो । सैनिक ऐनले हत्या मुद्दा सैनिक अदालतमा नभएर नियमित अदालतमा चल्ने व्यवस्था गरेको भन्दै उच्च सरकारी वकीलको कार्यालयले पाटन उच्च अदालतको हेटौंडा इजलासमा जिल्ला अदालतको आदेश बदर गराउन निवेदन दिएको थियो ।

    उक्त निवेदन उच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा समरी जनरल सैनिक अदालतले ढकाललाई हतियार चोरी र हत्या मुद्दामा दोषि पाउँदै भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुनेगरी जन्मकैद ९२५ वर्ष० सजाय तोकेको थियो । उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र निर्मला शाक्यको इजलासले बिहीबार जिल्ला अदालतको आदेश सदर गर्ने आदेश गरेकोथियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images