images
images
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न (तस्विर सहित)

    काठमाडौं –  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा शुक्रबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।

    सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्री एवम् केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले केन्द्रलाई महत्वपूर्ण योगदान पुर्‍याउने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव श्रीमती रम्भा लामालाई सम्मानपत्र प्रदान गरे ।

    H0A9471

    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यकारिणी समितिका पदाधिकारीलाई सम्मानपत्र, केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन महाशाखा महाराजगंज, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र चिकित्सक तथा चिकित्सा मनोविद समेतलाई प्रशंसापत्र एवम् केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदातालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे । सो अवसरमा उहाँले उक्त केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचन समेत गरे ।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेको चर्चा गर्दै नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताए । साथै लागूऔषध दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन केन्द्र सफल रहेको उनले उल्लेख गरे ।

    H0A9460

    लागूऔषध समस्या विश्वकै साझा समस्याको रूपमा देखा परेकोले यसको दुर्व्यसन, उत्पादन, खरीद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि एक साझा चुनौतीको विषय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए ।

    कार्यक्रममा केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले लागूऔषध दुर्व्यसनीको विकराल समस्यालाई मध्यनजर गर्दै यस केन्द्रले प्रयोगकर्ताहरूलाई उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा दत्तचित्त भई लागि परेको उल्लेख गरे । कुलतमा फसेका युवावर्गलाई कुलतबाट मुक्ति दिलाउन केन्द्र क्रियाशील रहेको बताउँदै अध्यक्ष थापाले लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम, योगा अभ्यास जस्ता कार्यहरूलाई व्यापक रुपमा संचालन गर्नुपर्नेमा जोड दिए ।

    सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपक केसीले मन्तव्य व्यक्त गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । केन्द्रकी सचिव श्रीमती रिता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रका क्याम्प कमाण्डेण्ट प्रहरी निरीक्षक रविन्द्र थापाले कविता वाचन गरेको थियो ।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

    H0A9573

    कार्यक्रमको दोस्रो सत्रमा केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाले सोही केन्द्रमा उपचाररत सदस्यहरुलाई शारीरिक व्यायम तथा प्रशिक्षण प्रदान गर्नको लागि बनाइएको व्यायमशाला कक्षको उदघाटन गरे । उक्त अवसरमा उनले केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगंगालाई प्रशंसापत्र प्रदान गरे । साथै उनले नेपाल पुलिस स्कुल सामाखुशीमा अध्ययनरत २ जनालाई १ वर्षको मासिक छात्रवृत्ति समेत प्रदान गरे ।

    उक्त अवसरमा केन्द्रकी उपाध्यक्ष श्रीमती वविता पालले महिला आसरा सुधार केन्द्र तिलगंगामा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार वितरण गरेको थियो भने केन्द्रकी सचिव श्रीमती रिता श्रेष्ठले आन्तरिक खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेको थियो । उक्त अवसरमा केन्द्रमा उपचाररत सदस्यहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

     

    H0A9802

    H0A9619

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images