काठमाडौं – एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन् ।
गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए ।
प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो । ‘प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो । कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,’ उनले भने ।
आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो । ‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन् । ०६४ मा सरकार बनाएर के गरे ? सहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग साैदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । लेनदेनको राजनीति गरिरहेका छन्,’ उनले भने ।
ओलीले थपे, ‘प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो । माओवादी केन्द्र होइन । प्रचण्डको मोहजालमा नपर्नुस् । फर्किनुस् ।’ जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको बताउँदै उनले भने, ‘धम्क्याउनुपर्यो भने म आगो हुँ नजिक्याउ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउला भने । केको आँटले धम्क्याउन खोजेको हो ?’ प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न माओवादी केन्द्रमा अल्झिएकालाई ओलीले आग्रह गरे ।
एमाले एकीकृत पार्टी हो, कानुनी कारण एमाले नाम रह्यो
अध्यक्ष ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । एमाले-माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको उनले दाबी गरेका हुन् । एमालेमा पूर्वमाओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन् ।
‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी हैन, प्रचण्ड गुट हो ।’
उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे । प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे ।
ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।


विश्व खबर 


















