images
images
  • एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक निष्कर्षविहीन

    काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ । सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो ।

    संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए । ‘कुनै निचोडमा पुगेको छैन । यो सभामुख र प्रमुख प्रतिपक्षको कुरा हो, उहाँको उपस्थितिबिना कुनै परिणाम आउदैन’ अध्यक्ष ठाकुरले भने, ‘पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २,३ दिनमात्र भएको छ ।’

    राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् । ‘उहाँ (सभामुख)ले प्रयास गर्दै हुनुुहुन्छ । उहाँले त्यहीँ भन्नुभएको छ । प्रतिपक्ष नै नआएसम्म निष्कर्षमा पुगिँदैन भन्ने नै रह्यो । त्यही भएर प्रतिपक्षलाई समेत सहभागी गराएर बैठक गर्न अनुरोध गरेका छौ’, पौडेलले सहभागी राजनीतिक दलका प्रतिनिधिले दिएको सुझावबारे बताइन् । उनले बैठकअघि सभामुख र कानुन मन्त्रीले प्रतिपक्ष दलका नेताहरुलाई हटलाइनमा फोन गर्दा सो पार्टीका अध्यक्षले नै आजको बैठकमा उपस्थित हुन सकिदैन भन्ने जवाफ दिएको सभामुखले ब्रिफिङ गरेको पनि जानकारी दिइन् ।

    उनले बैठकमा सहभागी दलका नेताहरुले सदनलाई अनिर्णयको बन्दीबाट मुक्त गर्न प्रतिपक्ष सहभागी हुनैपर्ने भन्दै कानुन अनुसार नेकपा एकीकृत समाजवादी गठन भएकाले समाजवादी पार्टी सहभागी बैठकमा आउँदिन भन्नु हठ र इगोमात्रै भएको प्रतिक्रिया दिइन् । ‘सदनमा प्रतिपक्षको मुख्य भुमिका हुन्छ । छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । कानुन अनुसार एकीकृत समाजवादी बनेको अवस्थामा हठ र इगो लिएर प्रतिपक्षको भुमिका निश्कृय गराउन मिल्दैन । विधि प्रक्रिया अनुसार जानुपर्छ र निकास दिनुपर्छ’, बैठकपछि पौडेलले भनिन् ।

    सभामुख सापकोटाले भने आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाएका थिए । दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images