images
images
  • ‘परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास हो’ : कोमल वली

    काठमाडौं – एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले दल विभाजन अध्यादेशले लोकतन्त्र कमजोर बनाउने बताएकी छन् ।

    राष्ट्रियसभा बैठकमा एमालेका तर्फबाट बोल्दै वलीले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास भएको उल्लेख गरिन् । ‘परमादेशबाट सरकार, अध्यादेशबाट पार्टी लोकतन्त्रको उपहास हो । यी दुवैले सुरु गरेको विकृति विसंगतिबाट लोकतन्त्र संकटमा पर्छ,’ उनले भनिन्, ‘यो कसका विरूद्ध गरिएको छ भन्दा एमालेलाई सामना गर्न नसक्ने हुतिहाराको प्रयास हो ।’

    वलीले संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले नै दल विभाजन अध्यादेश ल्याएर संसदीय व्यवस्था कमजोर बनाउन खोजेको आरोप लगाइन् ।

    ‘संसदीय व्यवस्थालाई मजबुत बनाउन स्थायित्वका लागि अविश्वास प्रस्ताव ल्याउन नपाउने, पार्टीहरूलाई सजिलै विभाजन हुन नदिने ४० प्रतिशतको प्रावधान हुँदाहुँदै अर्को पार्टी फुटाउन त्यो पनि संसदीय व्यवस्थालाई आफ्नो लक्ष्य ठान्ने कांग्रेसले यस्तो गलत अध्यादेश ल्याउन हुन्छ? मिल्छ ?’ उनले प्रश्न गरिन्, ‘आफ्नो पहिचान, इतिहास भुल्नेबाट नेपाली संसदीय व्यवस्थाको रक्षा कसरी हुन्छ ?’

    एमालेको अवरोधले विधायन समितिको प्रतिवेदन पेस गरेर पहिलो बैठक १५ मिनेट स्थगित भइ बसेको दोस्रो बैठकमा अवरोधका क्रममा राष्ट्रियसभा सदस्य वली पार्टीका तर्फबाट बोलेकी थिइन् ।

    दुईजिब्रे अग्नि सापकोटालाई सभामुख पदमा बस्ने अधिकार छैन

    एमाले राष्ट्रियसभा सदस्य  वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् । वलीले कसैलेको स्वार्थका लागि आफ्नै कुर्सीलाई अपमान गर्ने व्यक्ति पदमा बस्न लायक नभएको बताइन् ।

    ‘संवैधानिक प्रक्रियाअनुसार विधि प्रक्रिया बाहिर जानेलाई पार्टीबाट निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कसैको स्वार्थका लागि, कसैको विनाशका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?’ उनले प्रश्न गरिन, ‘जसले कुर्सीको महत्व बुझ्दैन त्यसलाई कुर्सीमा बस्ने अधिकार हुँदैन ।’ सांसद वलीले सभामुख सापकोटालाई दुईजिब्रेको संज्ञा दिइन् ।

    ‘हिजो रामबहादुर बादल लेखराज भट्ट टोपबहादुर रायमाझी प्रभु साहको एमालेमा आउँदा पद जाने, माधव नेपालजीहरू जसले पार्टीको ह्विप मानेन, उहाँहरुले पार्टीलाई विखण्ड गर्दा उहाँहरुको पद रहिरहन मिल्छ ?’ उनले प्रश्न गरिन्, ‘एउटै दिमागभित्र दुइवटा चिन्तन ? एउटै जिब्रोभित्र दुइटा बोली ? यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थामा कुनै जिम्मेवारी दिनुहुँदैन ।’

    सभामुख पदलाई आँच पुर्‍याएकाले सापकोटा सभामुख भएर बस्ने अधिकार नभएको उनको भनाइ थियो । ‘न्याय भनेको कसैलाई लागु हुने कसैलाई नहुने हुनसक्छ र ? यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नु हुन्छ ? खुट्टी हेरेरै पत्याइयो । व्यवहारले नै पत्याइयो । मानव जीवनमा प्राप्त गरेको अमूल्य समयको दुरुपयोग सभामुखले गर्नुभएको छ नेपालको संसदीय इतिहासमा कलंकित बन्नेछ,’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images