काठमाडौं। अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज फर्किँदै छिन् ।नेपालमा एमसिसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं पुगेकी थिइन् ।
नेपाल आएकी एमसीसी उपाध्यक्षसहितको टोलीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको छ अमेरिकी सहयोग परियोजना नेपालमा लागू गर्ने वा नगर्ने भन्ने विषयमा चर्को बहस भइरहेका बेला टोली नेपाल आएको हो । भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन् । भेटमा एमसिसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन ।
जनस्तरबाट नै विरोध भइरहेको भए पनि उक्त टोलीले सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताहरूसँग भेट गरेको छ।काठमाडौं ओर्लेपछि उनले पहिलो भेट ओलीसँग गरेकी थिइन् । ओलीले सत्तारुढ दलमा सहमति जुटेपछि मात्र आफूहरुले धारणा सार्वजनिक गर्ने भन्दै एमसिसीको बल सत्तारुढ दलको कोर्टमा फर्काइदिए । यद्यपि आफू प्रधानमन्त्री हुँदा एमसिसी सदनमा टेबल गर्न खोजेको उनले स्मरण गराए ।
सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसिसीबारे आफ्नो पार्टीमा दुई धार रहेको बताउँदै आएका छन् । सुमारले प्रचण्डलाई शुक्रबार भेटेकी थिइन् । प्रचण्डले ‘एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलबीच सहमति बनाएर अगाडि बढ्न सकिने’ जवाफ फर्काएका थिए ।
एमसिसीबारे कांग्रेसभित्र त्यतिधेरै मतभेद छैन । सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पनि राजनीतिक दलहरुबीच सहमति गरेर एमसिसी सदनबाट पारित गराउने बचन दिएका छन् ।

सुमारले नेपालमा रहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसहितसँग भेट गरेकी छन् । उनको चार दिने भ्रमणमा ठोस उपलब्धी देखिएको छैन ।
एमसिसी संसद्बाट पास गर्ने सन्दर्भमा दलहरू दुई धारमा बाँडिएपछि उपाध्यक्ष फातिमासहितको भ्रमण उपलब्धी पूर्ण हुन सकेन। यद्यपि, नेताहरूले संशोधनसहित राष्ट्रिय सहमति जुटाएर अगाडि बढ्न सकिने भन्दै उक्त टोलीलाई विश्वस्त पारेको छ ।
सत्ता गठबन्धनभित्र नै एमसिसीका सन्दर्भमा दलहरू विभाजित रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एमसिसी पास गर्नुपर्ने पक्षमा छन्।
तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने जस्ताको त्यस्तै राष्ट्रिय सहमतिबिना पास गर्न नहुने पक्षमा रहेका छन्। फातिमासँगको भेटमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले दलहरूसँग सहमति जुटाउनका लागि प्रयास गरिरहेको र छिट्टै निष्कर्षमा पुगिने बताएका थिए।

तत्कालीन समयमा विपक्षमा हुँदा पनि एमसिसी पास हुनुपर्ने धारणा राख्दै आएको कांग्रेसले अहिले पनि सोही धारणा राखिरहेको छ। प्रधानमन्त्री देउवाले एमसिसीको बारेमा नबुझेर धेरै राजनीतिकरण गर्न खोजिएको आरोप पनि लगाउँदै आएका छन्।
फातिमासँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संशोधनको आवश्यकता रहेको बताउनुभएको थियो । अहिलेको अवस्थामा संसद्बाट पास गर्न समस्या रहेकाले संशोधनसहित अगाडि बढाउन प्रयासरत रहने उनीहरूको भनाइ थियो।
यस्तै, जनता समाजवादी पार्टी भने आफ्नो तर्फबाट सम्झौता पास गर्न कुनै समस्या नरहेको र अन्य दलहरूसँग पनि सहमति गरेर अगाडि बढ्न तयार रहेको बताउँदै आएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सम्झौता कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्।
को हुन् फतिमा सुमार?
उनी यसअघि पनि पटक पटक नेपाल आएकी छन्। २०७२ को भूकम्पपछि नेपाल आएकी थिइन्। उनले भूकम्पमा भत्किएका संरचनाका विषयमा स्थलगत जानकारी पनि लिएकी थिइन्।
सन् २०१४ मा पनि नेपाल आएकी थिइन्। त्यति वेला उनी भोटेकोशी पुगेकी थिइन्।
अमेरिकाको विदेश सहयोग सम्बन्धी एजेन्सी एमसीसीको कर्पोरेट कार्यालयमा कम्प्याक्ट अपरेशन विभागमा उपाध्यक्षका रूपमा कार्यरत छिन्, सुमार। मोहम्मौद बाह कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेको एमसीसीका चार उपाध्यक्षमध्ये सुमार एक हुन्।
उनको विभागले एमसीसी सम्झौता गरिएका तथा सम्झौताको तयारीमा रहेका देशमा सञ्चालन सम्बन्ध तय गर्छ। सम्झौता अनुसारको कामको प्रगति बुझ्ने र विश्लेषण पनि यही विभागले गर्छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सुमारलाई गत फेब्रुअरीमा कम्प्याक्ट अपरेशन विभागको उपाध्यक्ष नियुक्त गरेका थिए। यसअघि पनि, उनी सन् २०१५ देखि २०१८ सम्म एमसीसीमा एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिका क्षेत्रीय उपाध्यक्षका रूपमा कार्यरत थिइन्।
सन् २०१८ मा उनले एमसीसी छोडेर अक्सफामको उपाध्यक्षका रूपमा काम गरेकी थिइन्। बाइडेन प्रशासनले उनलाई फेरि अमेरिकी सरकारको मुख्यालय क्यापिटल हिल भित्र्याएको हो। अन्तर्राष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीति आदि विषयमा उनको दक्षता रहेको एमसीसीको आधिकारिक वेबसाइटमा उल्लेख छ।
यसअघि एमसीसीको क्षेत्रीय उपाध्यक्षका रूपमा काम गर्दा पनि सुमारले नेपाल सहित श्रीलंका, मंगोलिया, जोर्डन, फिलिपिन्स, इन्डोनेसिया, जर्जिया, कोसोभो, माल्दोभा र एल साल्भाडोरमा सम्झौताका विषयमा काम गरेका थिइन्। अर्थात्, सुमार नेपालको एमसीसीमा तयारीको चरणदेखि नै जानकार मानिन्छिन्। एमसीसी परियोजना तयारीकै क्रममा उनले नेपालको भ्रमण गरेकी थिइन्।
सुमारको अमेरिकी ब्यूरोक्रेसीमा लामो अनुभव छ। उनले सन् २०१३ देखि १५ सम्म अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्यएशिया मामिलामा उप(सहायक सचिवका रूपमा काम गरेकी थिइन्। दक्षिण र मध्यएशियाका देशको कूटनीतिक मामिला सोही विभागले हेर्छ।
त्यसअघि, सन् २००९ देखि २०१३ सम्म उनले अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिमा दक्षिण र मध्यएशिया हेर्ने गरी ‘सिनियर प्रोफेसनल स्टाफ मेम्बर’ का रूपमा काम गरेकी थिइन्। यो समितिको नेतृत्व जोन केरीले गरेका थिए।
अमेरिकाको ख्याति प्राप्त प्रिन्सटन विश्वविद्यालयको पब्लिक एण्ड इन्टरनेशनल अफेयर्स स्कूलबाट स्नातकोत्तर गरेकी सुमारले शैक्षिक उपलब्धिका लागि सम्मानित अवार्ड पनि पाएको उनको व्यावसायिक व्यक्ति(वृत्तमा उल्लेख छ।
सुमारले कोर्नेल विश्वविद्यालयबाट राजनीतिशास्त्र र सरकार विषयमा स्नातक गरेकी छन्। यससँगै इजिप्टको कायरोस्थित अमेरिकन विश्वविद्यालयमा राजनीतिक र अरबिक भाषा अध्ययन गरेकी थिइन्।
सुमारका बाबु भारतीय मूलका मुस्लिम हुन्। सन् २०२० को अप्रिलमा प्रकाशित गरेको एक लेखमा उनले आफ्ना काका जुल्फिकर गुन्जालाई कोभिड(१९ का कारण गुमाएको उल्लेख गरेकी थिइन्।
जुल्फिकरलाई काका सम्बोधन गर्ने गरेको र उनको जन्म भारतको मुम्बईमा गरीब परिवारमा भएको सुमारले उक्त लेखमा उल्लेख गरेकी थिइन्। ४२ वर्षीया सुमार तीन छोरीकी आमा हुन्।


विश्व खबर 


















