काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५।३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५।८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।उता लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पाँच जना घाइते भएका छन् ।
भूकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उनले बताए ।
बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्