images
images
  • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालाबन्दी, कर्मचारी आन्दोलित

    काठमाडौं – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले मंगलवारदेखि प्रतिष्ठानको मुल ढोकामा तालाबन्दी गरेर कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

    मंगलवार कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चितताका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् ।

    ‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरू प्रदेश सरकारलाई उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा सरकारले नियमावली बनाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा नियमावली नबनाई हस्तान्तरण गर्दा हस्तान्तरण प्रक्रिया अपूर्ण रहेकोले प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी जनशक्ति व्यवस्थापन साथै कर्मचारीको वृत्ति विकास लगायत सबै क्षेत्र अस्पष्ट र अन्यौलमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतर्फ लामो समयसम्म प्रतिष्ठान र साविकका प्रशिक्षण केन्द्रहरूमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिसमेत नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र संकुचन हन पुगेको छ ।’

    प्रतिष्ठानको संस्थागत सुदृढीकरण तथा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चितताका लागि सामान्य प्रशासन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको, कार्यकारी निर्देशकलाई २२ सूत्रीय माग सम्बोधन गर्न ७ दिने अल्टिमेटम दिएकोमा कुनै पनि माग चित्तबुझ्ने गरी सुनुवाई नगरेकाले आफूहरु आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिष्ठान र कार्यरत कर्मचारीहरुको भविष्य सुनिश्चित गर्न तथा प्रतिष्ठानलाई संघीय प्रशिक्षण प्रतिष्ठानका रुपमा विकास गर्न तालाबन्दी गरेर आन्दोलन प्रारम्भ गरिएको र यसको सम्पर्ण जिम्मेवारी प्रतिष्ठानका कार्यकारी निर्देशक लगायतका नेतृत्वले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

    कर्मचारीहरुले नेतृत्वसँग १३ बुँदे माग राखेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images