images
images
  • नख्खु कारागारभित्र सात नाइकेको मनपरी, असमान व्यवहार र आर्थिक अनियमितता

    काठमाडौं । नख्खु कारागारमा रहेका नाइकेले कारागारभित्र अनियमितता, पक्षपाती व्यवहार र आर्थिक बार्गेनिङ गरेको पाइएको छ। कारागारभित्र रहेका सातजना नाइकेले आफूनजिकका कैदीलाई बढी सुविधा दिएको र कतिपयबाट आर्थिक बार्गेनिङसमेत गरेको प्रहरी अनुसन्धानका क्रममा भेटिएको हो।

    प्रहरीका अनुसार मूलनाइके शिव चौधरी, नाइके देवेन्द्र तिमिल्सिना र रिकेश अधिकारी, भाइनाइके दीपक कर्ण, सविन केसी, शम्भु कार्की र अरुणकुमार महतोले बार्गेनिङ तथा पक्षपाती व्यवहार गरेका थिए। उनीहरूलाई अन्यन्त्रैको कारागार पठाउने निर्णय भएको छ। साथै उनीहरूले पाउने सुविधा पनि कटौती हुने भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले कारागारभित्र असमान व्यवहार र आर्थिक अनियमितता भएको गुनासो कैदीबन्दीहरूले गरेपछि उनीहरूलाई अन्तै सार्ने निर्णय भएको बताइन्।

    आइतबार कारागारको सी ब्लकमा रहेका ६० जनाभन्दा बढी कैदीबन्दीले होहल्ला गर्दै नाइकेहरूमाथि हात हालेका थिए। आफन्त भेट्न र फोन गर्न नदिएको, आफन्तले ल्याइदिएको सरसामान लुकाएको, कारागारभित्र रहेको होटेलसँग मिलेर खानेकुराको मूल्य बढाएकोलगायत कारण देखाउँदै कैदीहरूले कारागारभित्रै चर्को होहल्लासमेत गरेका थिए। उनीहरूले नाइकेहरूबाट हेपिएको र ठगिएको भन्दै हातपातसमेत गरेका थिए।

    कैदीबन्दीबीच झडप भएपछि जावलाखेल परिसरको प्रहरी तत्काल पुगेको थियो। कैदीहरूले आफूहरूमाथि नाइकेले समान व्यवहार नगरेको, दुव्र्यवहार गरेको, आर्थिक बार्गेनिङ गरेको, फोन गर्न र आफन्त भेट्न नदिएको प्रहरीसँग बताएका छन्। प्रहरी अनुसन्धानका क्रममा नाइकेहरूले कतिपयबाट पैसा असुलेर धेरैपटक फोन गर्न, आफन्त भेट्न र सरसामान ल्याउन दिएको खुलेको होे। नख्खु कारागारमा यसअघि पनि नाइकेहरूकै मिलोमतोमा कैदीहरूसँग रकम असुलेर बाहिर निस्कन दिएको तथ्य बाहिरिएको थियो।

    को हुन् नाइके ?

    कारागारभित्र आन्तरिक प्रशासन चलाउन कैदीमध्येकै व्यक्तिलाई मूलनाइके, नाइके र भाइनाइके बनाइन्छ। मूलनाइके, नाइके र भाइनाइके बनाउन कैदीमध्येकै राम्रो व्यक्तिलाई छनोट गरिन्छ। लिडरसिप क्षमता भएका व्यक्तिलाई कारागार प्रशासनले नाइके बन्न पत्याउँछ। उनीहरूले कारागारभित्रको भित्री प्रशासन चलाउने जिम्मा पाउँछन्। उनीहरूले नै त्यहाँ रहेका अन्य कैदीहरूलाई रेखदेख र सुविधा प्रदान गर्छन्। त्यस्तै, अत्यावश्यक काम परेका वेला नाइकहरू बाहिर निस्कन पनि पाउँछन्। तर, विनाकाम बाहिर निस्कन पाउँदैनन्। केन्द्रीय कारागार सुन्धाराका जेलर वेदनिधि अधिकारीका अनुसार कैदीको सेवामा जुट्ने सक्ने, सक्रिय, क्षमतावान् र चलाख व्यक्तिलाई नाइके बनाइन्छ। केन्द्रीय कारागारको सन्दर्भमा उनीहरू नाइके, सहनाइके हुँदै चौकीदारसम्म बन्न पाउँछन्। त्यति गरेबापत उनीहरूको कैद सजायमा एकदेखि दुई महिना छुट हुन्छ। कारागारहरूमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाका कैदीलाई नाइके बनाउने चलन छ।

    फोन गर्नसमेत नदिएको कैदीबन्दीको गुनासो

    कारागारभित्र रहेका कैदीहरूलाई फोन गर्न वा आफन्त भेट्न नदिने भनेर कानुनमा लेखिएको छैन। आवश्यकताअनुसार कारागार प्रशासनले नै कैदीबन्दीहरूलाई फोन गर्न, आफन्त भेट्न र अन्य समस्यामा सहयोग गर्नुपर्छ। तर, केन्द्रीय कारागार सुन्धारामा रहेका कैदीहरूले आफूहरूलाई फोनसमेत गर्न नदिएको गुनासो गरेका छन्। उनीहरूले हप्तामा एकपटकसमेत फोन गर्न नपाएको गुनासो आफन्तहरूसँग गरेका हुन्। ‘छोरो चार महिनादेखि जेलभित्र छ, हप्ता दिनदेखि फोन गरेको छैन, फोन गर्न पाइँदैन, भिड मात्रै हुन्छ भनेर भनेको थियो,’ केन्द्रीय कारागार सुन्धारामा भेटिएका अर्घाखाँचीका चिन्ताराम भाटले भने। उनी त्यहाँ छोरालाई पैसा र खानेकुरा छाड्दिन आएका थिए।

    केन्द्रीय कारागारमा सातवटा फोन छ। यी फोन पालैपालो कैदीहरूले प्रयोग गर्न पाउँछन्। तर, धेरै कैदी संख्या रहेको यस कारागारमा फोन गर्नको लागि कैदीबन्दीहरू तीन घन्टासम्म पालो कुर्ने गर्छन्। कारागार प्रशासनले कैदीबन्दीहरूलाई सहज रूपमा फोन गर्न सक्ने व्यवस्था मिलाउन सकेको छैन। हाल प्रशासनले कोभिडको वहाना बनाउँदै आफन्त भेट्नसमेत रोकेको छ। आफन्तहरूले ल्याइदिएको पैसा र खानेकुरा प्रहरीले कारागारभित्र पुर्‍याइदिन्छ। हाल कैदीबन्दीले हप्तामा एकपटक मात्रै फोन गर्न पाउँछन्।

    केन्द्रीय कारागार सुन्धाराका जेलर वेदनिधि अधिकारीले आवश्यकताअनुसार फोन गर्न दिएको दाबी गरे। उनले भने, ‘कैदीलाई सबै सजिलो त कहाँ हुन्छ र, जेहोस् पाउनुपर्ने सुविधाहरू दिइरहेका छौँ।’ उनले कारागारभित्र तीन हजार दुई सय कैदी संख्या रहेको बताए। संख्या बढी भएकाले पनि व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images