काठमाडौँ । काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ ।
बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।
प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ ।
गुहेश्वरी आसपासमा आएको बाढीले सोमबार बिहान सडक अबरुद्ध हुन पुगेको थियो । वरपरका केहि घरमा समेत पानी पसेको बताइएको छ ।
यता आइतबार रातिदेखि अविरल वर्षापछि धोबीखोलामा आएको बाढीले चाबहिलस्थित तरकारी बजार डुबानमा परेको छ । सोमबार बिहान ४ बजेदेखि तरकारी बजारमा बाढी पस्न थालेको थियो । बाढीका कारण तरकारी बजार जलमग्न भएको छ । अहिले मेसिनले तानेर पानी फाल्ने प्रयास भइरहेको छ ।


विश्व खबर 



















