काठमाडौं । गए रातिदेखि परेको ठूलो वर्षाका कारण काठमाडौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । बाढीका कारण ३८२ घर डुबानमा परेका छन् । १३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।
रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वागमती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।
अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौंको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । प्रहरीका अनुुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।
सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाडौंसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ । वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । यता बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् । काठमाडौंमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् ।
पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताएका छन् । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताए । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।
मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ । आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने जनाइएको छ ।


विश्व खबर 


















