काठमाडौं । केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ ।काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको छ ।
सोमबार बिहान प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पर्दा पानी परिरहेको हो । सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले उल्लेख गरेको छ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार पनि धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनीका एकरदुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
बुधबार भने झरी केही थामिने देखिन्छ । बुधबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।
काठमाडौंमा ६ घन्टादेखि वर्षा, सिन्धुलीमा अलर्ट जारी
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । सोमबार बिहान पनि वर्षा थामिएको छैन ।
लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो ।
यसैगरी, सिन्धुलीमा पनि भारी वर्षा भएको छ । हरिहरपुरगढी र त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ । मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो ।
त्यस्तै, चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, कनकट्टा, गोविन्दवस्ती र आसपासका क्षेत्रमा तीन घन्टादेखि पानी परिरहेको छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।


विश्व खबर 


















