images
images
  • एमालेमा दशबुँदे सहमति कार्यान्वयनमा विवाद, नेता–कार्यकर्ता तान्ने दुवै पार्टीबीच होडबाजी

    काठमाडौं । पार्टी विभाजनअधि माधव नेपाल समूहमा रहेका तेस्रो धारका नेता–कार्यकर्ता समेट्न गरिएको दशबुँदे सहमति कार्यान्वयनमा एमालेमा समस्या र विवाद देखिएको छ । एमाले र नेकपा एकीकृत समाजवादीबीच कतै नलागेर मझधारमा रहेका नेता–कार्यकर्ता तान्ने दुवै पार्टीबीच होडबाजी चलिरहेका वेला २ जेठ ०७५ अघिको संरचनामा पार्टीलाई फर्काउने दशबुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको हो ।

    सहमति कार्यान्वयन अघि नबढ्दै विभिन्न तहमा एमालेको धमाधम कार्यक्रम चलिरहेको छ । बिहीबार प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएलए)को कार्यक्रम विवादित बनेपछि अध्यक्ष केपी ओली अनुपस्थित भए । २ जेठ ०७५ सम्म पिपिएलएका इन्चार्ज रहेका रघुजी पन्त र अध्यक्ष रहेका रुद्र नेपाललाई जानकारी नै नदिई कार्यक्रम गरिएपछि कार्यक्रममा ओली अनुपस्थित मात्रै भएनन्, विवाद एमालेको केन्द्रीय कार्यालयसम्म पुग्यो ।

    तत्कालीन अध्यक्ष नेपालले विरोधमा वक्तव्य मात्रै जारी गरेनन्, उनीसहित पिपिएलएका सदस्यले कार्यक्रम नै बहिष्कार गरे । तैपनि कार्यक्रमको अन्तिम तयारी भएको कारण जनाएर स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य अग्नि खरेल उपस्थित भएर सम्बोधन गरेका थिए ।

    केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जिम्मेवार नेताहरूबीच आवश्यक समन्वय नभएकै कारण पिपिएलएको कार्यक्रममा विवाद देखिएको स्वीकार गरे । ‘दशबुँदे सहमतिअनुसार समन्वय गरेरै त्यो कार्यक्रम सम्पन्न गर्नुपथ्र्यो, तर जिम्मेवार नेताहरूबीच समन्वय नभएकाले कमजोरी भएको महसुस भएको छ,’ तामाङले भने, ‘तर, यसको अर्थ सहमति कार्यान्वयन भएन भन्न मिल्दैन ।’

    त्यसो त, बिहीबारै दार्चुलाको तुइन घटनामा प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले वक्तव्य जारी गरेपछि सहमति कार्यान्वयनबारे सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले प्रश्न उठाए । २ जेठ ०७५ सम्म प्रचार विभाग प्रमुख रहेका योगेश भट्टराईको सट्टा ज्ञवालीले वक्तव्य जारी गरेपछि नेपाल नेतृत्वको नेकपा एसका कार्यकर्ताले दशबुँदे सहमति कार्यान्वयनबारे प्रश्न उठाउँदै एमालेमै रहेका मझधारका नेताहरूको आलोचना गरे । सहमति कार्यान्वयनमा ढिलाइ र अलमलले पार्टी फुटपछि मझधारमा रहेका नेता–कार्यकर्तामा पनि अन्योल देखिएको छ । ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व ०७५ जेठ २ गतेको ९जेठ ३ गतेको केन्द्रीय कमिटीमा मनोनय गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।’ दशबुँदे सहमतिको यस्तो व्यवस्था भए पनि एमाले नेताहरूले सबै नेताको नयाँ कार्यविभाजन नभएसम्म यस्तो अलमल हुने बताउँछन् ।

    ‘भर्खरै हाम्राबीच एकता त भयो, तर अहिले नयाँ कार्यविभाजन भइसकेको अवस्था होइन, सबै केन्द्रीय सदस्यको कार्यविभाजन नभएसम्म पुरानो कार्यविभाजन विस्थापित भएको मानिँदैन, किनभने हामी माधव नेपालतिर हुँदा एउटा जिम्मेवारीमा थियौँ, ओलीतिर रहनुभएका साथीहरूको अर्कोथरी जिम्मेवारी थियो,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘समग्र कार्यविभाजन हुँदा क–कसको कता पर्छ, त्यसपछि थाहा हुन्छ । अहिले कर्णालीको संयोजक भए पनि मेरै कार्यविभाजन कता हुन्छ, पछि थाहा हुन्छ । अहिलेका लागि एकीकरण गर्ने, संगठनको काम मिलाउने अस्थायी कामको मात्र निर्णय भएको हो, एकीकरणको काम सकिएपछि कार्यविभाजन हुन्छ ।’

    नेपाल समूह बाहिरिएपछि एमाले स्थायी समितिको १० भदौको बैठकले पार्टी र जनसंगठनको सबै तहलाई २ जेठ ०७५ अघिको अवस्थामा फर्काउन बेग्लाबेग्लै दुईवटा कार्यदल गठन गरेको थियो । प्रदेश र जिल्लामा दशबुँदे प्रस्तावलाई अविलम्ब कार्यान्वयन गर्न प्रदेश कमिटीका पूर्व र वर्तमान पदाधिकारीले सहजीकरण गर्ने तथा जनसंगठनमा लागू गर्न महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल तथा गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले सहजीकरण गर्ने गरी गठित कार्यदलले काम सम्पन्न गरिसकेको छैन ।

    सहमति कार्यान्वयनमा समस्या छैन :  शेरबहादुर तामाङ, केन्द्रीय कार्यालय सचिव

    दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा केही पनि समस्या उत्पन्न भएको छैन । २ जेठअघिको जिम्मेवारीभन्दा पनि पदीय हैसियत मात्रै पुनस्र्थापित भएको हो । तर, नयाँ जिम्मेवारी त टुंगो लागेको छैन । कार्यविभाजनसहित नयाँ जिम्मेवारी अबको बैठकमा टुंगो लाग्छ । कार्यविभाजन हुन्छ, नेताहरूलाई जिम्मेवारीविहीन राख्ने काम हुँदैन । सम्भवतः यो महिनाको अन्त्यसम्म पार्टीको बैठक बस्छ र त्यसबाट नयाँ कार्यविभाजन पनि आउँछ ।

    कार्यविभाजनपछि सबै स्पष्ट हुन्छ :  युवराज ज्ञवाली, उपाध्यक्ष

    जनवर्गीय संगठनमा समायोजनका लागि कार्यदल बनेको छ, तर नीति नबनिसकेकाले निष्कर्ष निस्किएको छैन । प्रस्ट नीति नबनिसकेको अवस्थामा एकीकरणमा समस्या देखिन सक्छ । तर, छिटफुट देखिएको समस्यालाई नै ठूलो समस्याका रूपमा बुझ्नुहुँदैन । केन्द्रीय कमिटीमा पनि पूर्ण रूपमा नयाँ कार्यविभाजन भइसकेको छैन । समग्र कार्यविभाजन हुँदा क–कसको कता पर्छ, त्यसपछि थाहा हुने हो । नयाँ पत्रिकादैनिकबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images