images
images
  • २४ वर्षपछि वामदेव गौतमले दोस्रोपटक एमाले परित्याग !

    • images
    • १९ भाद्र २०७८

    काठमाडौँ । ०५४ सालमा एमाले विभाजन गरेर माले गठन गरेका वामदेव गौतमबारे राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’ मा भनेका छन्, ‘उनी (गौतम) एकैदिनमा तीनथरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा मालेका पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’

    गौतमको राजनीतिक पृष्ठभूमि अझै यस्तै-यस्तै नै छ । गौतमलाई उनकै समकालीन नेता तथा विश्लेषकहरुले पनि ‘अस्थिर’ भएको टिप्पणी गर्ने गर्छन् । एमालेमा नेताहरु केपी शर्मा ओली र माधवकुमार नेपालबीच खटपट बढ्दै गर्दाका बखत पनि उनी घरी ओलीतिर त घरी नेपालतिर ढुलमुल गरिरहे । एमाले फुट्न नदिने भनेर एकता अभियान घोषणा गरेका उनीसँग एकाधबाहेक नेताको साथ नभएपनि उनी निराश भए । त्यसबेला फेरि उनको ढुलमुले बानीकै कारण धेरै साथीको साथ नपाएको टिप्पणी हुने गरेको थियो ।

    गौतमले करिब अढाई दशकपछि शुक्रबार पुनः एमाले परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरी माले बनाउन अगुवाइ गरेका उनी ०५८ सालमा एमालेमै फर्किएका थिए । ०७४ सालको आम चुनावमा आफ्नो पार्टी एमालेका प्रायः नेताहरुले देशभरबाट उल्लासमय जित हासिल गर्दैगर्दा गौतमले भने पराजय भोग्नुपर्‍याे । आफूलाई दलभित्रकै साथीहरु (ओली पक्ष) ले हराएको भनेर चित्त मात्र दुखाएनन् छानबिन हुनुपर्ने कुरा पनि उठाए । त्यसपछि संघीय संसद्सम्म पुग्न अनेकन् जुक्ति खोजेका गौतम अन्ततः राष्ट्रिय सभा सदस्य बने । पार्टीभित्र विवाद हुँदा उनी बेलाबेला प्रधानमन्त्री बनाइने पात्रका रुपमा समेत चर्चामा आए ।

    एमालेदेखि एमालेसम्म
    गौतमले दासढुङ्गा घटनापछि एमालेको संगठन विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी पाए । त्यसपछि उनी प्रायः गरेर पार्टी र सरकारका महत्वपूर्ण भूमिकामा रहँदै आए । राजीनामा दिनुअघि उनी एमालेको उपाध्यक्ष थिए ।

    ०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमाले ८८ सिट जित्दै प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बन्न सफल भयो । संसद्को ठूलो दलको हैसियतले अल्पमतको सरकारसमेत बनायो । तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने, महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री बन्दा गौतमलाई पार्टीको विधानमै नभएको उपमहासचिव पदको व्यवस्था गरेर पार्टीको कामको जिम्मेवारी दिइएको थियो ।

    एमाले अध्यक्ष ओली माओवादीका चर्का आलोचक हुँदा बामदेव माओवादीप्रति नरम थिए । उनले एमाले–माओवादी एकतामा पनि सुत्रधारको भूमिका निर्वाह गरे । पार्टी एकतापछि भने उनी सचिवालयमै सीमित बने । ०५३ मा संसद्बाट महाकाली सन्धि अनुमोदन गर्ने विषयलाई लिएर एमालेमा विवाद चर्कियो । उक्त विवादमा गौतमलगायतका नेताहरू सन्धिको विपक्षमा उभिए । ओली पक्ष सन्धिको समर्थक भयो । विवाद बढ्दै गएपछि वामदेवले ०५४ सालमा एमाले विभाजन गरेर माले गठन गरे ।

    कांग्रेस र एमाले मिलेर बनेको सरकारले ०५६ सालमा आम चुनाव गरायो । प्रतिनिधि सभाका २०५ सिटमा भएको निर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन । बरु त्यसबेला सशस्त्र विद्रोहरत माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवादमा रहेका उनलाई माओवादी प्रवेश गर्न खोजेको हल्ला फैलियो । पछि पुष्टि भयो कि– त्यो हल्ला माओवादीकै कुनै धारले चलाएको रहेछ । त्यसपछि माले झनै कमजोर बन्दै गयो । अन्ततः गौतम ०५८ सालमा एमालेमै फर्किए । एमालेमा प्रवेश गरेको २० वर्षपछि उनले पुनः एमाले परित्याग गरेका छन् ।

    एमाले उपाध्यक्ष वामदेव गौतमले दोस्रोपटक एमाले परित्याग 

    २४ वर्षअघि ०५४ मा एमाले विभाजनको नेतृत्व गरेका उपाध्यक्ष गौतमले दोस्रोपटक एमाले परित्याग गर्दै शुक्रबार पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा बुझाएका छन् । गौतमले शुक्रबार पार्टी कार्यालय, थापाथली पुगेर केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङमार्फत अध्यक्ष ओलीलाई सम्बोधन गर्दै राजीनामा बुझाएका छन् । कार्यालय सचिव तामाङले गौतमले राजीनामा दिएको जानकारी दिँदै प्रक्रियामै रहेको बताए ।

    राजीनामापत्रमा गौतमले अध्यक्ष ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन असमर्थ रहेको कारण खुलाउँदै केही आरोप लगाएका छन् । ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ गौतमले ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अबउप्रान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’

    त्यस्तै, गौतमले ओलीका कारण एमालेमा सामूहिक नेतृत्व प्रणाली समाप्त भएको र सुधार्ने प्रयाससमेत असफल भएकोसमेत प्रस्ट्याएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाब दिएको थिएँ,’ राजीनामापत्रमा भनिएको छ, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रूपमा सुझाबहरू पनि थिए । तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’

    गौतमले ओलीले आफ्ना समकक्षीलाई अपमान गर्नेदेखि पार्टीबाट निष्कासन गर्ने, राष्ट्रपतिलाई समेत दुरुपयोग गरेको आरोप लगाएका छन् । ‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी निरंकुश प्रवृत्ति र शैली अँगाल्नुभयो । त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो,’ राजीनामामा भनिएको छ ।

    त्यस्तै, ओलीले जबजको सिद्धान्त पालना नगरेको गौतमको आरोप छ । ‘जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालन गर्नुभएन । जननेता मदन भण्डारीका नवीन सोच कम्युनिस्ट पार्टीले जनताको जनादेशका आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरीत जनताको अत्यधिक बहुमत झन्डै दुईतिहाइ जनताको जनादेशलाई लत्याउँदै पहिलोपटक ०७७ पुस ५ र दोस्रोपटक ०७८ जेठ ७ गते दुई–दुईपटक संविधानविपरीत जनताद्वारा निर्वाचित सदन भंग गर्नुभयो,’ गौतमले राजीनामामा भनेका छन् ।

    नेकपा एस प्रवेशका लागि गौतमको सर्त : जबज मार्गदर्शक सिद्धान्त
    राजीनामापछि नेकपा एसमा प्रवेश गर्ने तयारीमा रहेका गौतमले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने मुख्य सर्त अगाडि सारेका छन् । ‘पार्टीको नवौँ महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मानिसकेकाले त्यसलाई मान्नुपर्ने उहाँको प्रस्ताव छ,’ नेकपा एसका स्थायी समिति सदस्य बेदुराम भुसालले भने, ‘हामीले जबज जस्ताको तस्तै भन्दा पनि यसको मूल्य–मान्यता नछाड्ने, तर समाजवादको दिशामा अगाडि जानुपर्छ, यसको अर्थ जबज छोड्ने कुरा होइन भनेका छौँ, तर परिवर्तित परिस्थितिमा मार्गदर्शक सिद्धान्त नै हुन्छ कि हुँदैन, त्यसमा छलफल गर्नुपर्ने हुन्छ ।’

    गौतमले पार्टी प्रवेशका लागि जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहने शासकीय स्वरूपमा जानुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने र संघीयताको मोडललाई परिमार्जन गर्नुपर्ने चार प्रस्ताव राखेका छन् । ती प्रस्तावलाई छलफलका रूपमा अगाडि बढाउनुपर्ने पनि उनको सर्त छ । त्यसमा नेकपा एसका अध्यक्ष नेपाल सकारात्मक बनेका छन् ।

    अब कता ?
    २५ वर्षपछि पुनः एमालेबाट दोस्रो पटक अलग बनेका गौतम अब कता जान्छन् ? यसबारे ठोस निर्णय उनी आफैंले गर्लान् ।

    एमाले परित्यागलगत्तै गौतम माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । नेकपा एसका अध्यक्ष नेपालले गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।नेकपा एसमा सात उपाध्यक्ष प्रस्ताव गरिएको छ । नेकपा एसको राष्ट्रिय भेलाबाट सात उपाध्यक्ष रहने गरी विधान पारित भए वरिष्ठ उपाध्यक्ष र एक मात्र उपाध्यक्ष रहने विधान पारित भए उपाध्यक्ष मात्रै बनाउने समझदारी भएको स्रोतले जनाएको छ ।

    बिहीबार नेपालसहित नेकपा एसका स्थायी समितिका नेताहरूसँग गौतमले लामो छलफल गरेका थिए । यद्यपि उनका निकटस्थहरुकाअनुसार उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर जाने करिब करिब निश्चित जस्तै छ । यसको छनक दिँदै गौतमले ‘एकीकृत समाजवादीबाट जबज नहटोस्’ भनिरहेका थिए भने अध्यक्ष नेपालले पनि जबज नछोड्ने बताउँदै आएका छन् । त्यसो त उनले एमालेभित्रै बसेर ओलीसँग संघर्ष गरेर पार नलाग्ने निष्कर्षमा पुगेको भने निकै भएको उनी निकटहरु बताउँछन् ।

    एकीकृत समाजवादीका नेता मेटमणि चौधरी गौतम एकीकृत समाजवादीमै आउने कुरा भइसकेको दाबी गर्छन् । ‘उहाँ अब आउने यतै हो,’ नेता चौधरीले मकालुखबरसँग भने, ‘हाम्रो कुराकानी पनि भइसकेको छ । हुन त शुरुदेखि नै उहाँ हामीसँगै हुनुहुन्थ्यो । तर बीचमा केही कुराहरु आए । अब उहाँले एमाले त्याग्नुभएको छ । उहाँ यतै आउँदै हुनुहुन्छ ।’

    उहाँ आउँदा कुन पद दिन्छ पार्टीले ? भन्ने प्रश्नमा नेता चौधरी भन्छन्, ‘उपाध्यक्ष वा सहअध्यक्षमध्ये एक हुनसक्छ । त्यो खालको कुरासमेत भएको छ ।’ सांसद भएको खण्डमा संसदीय दलको नेतासमेत पार्टीले बनाउन सक्ने दाबी नेता चौधरीको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images