नेपाल फरक भौगोलिक र सांस्कृतिक विविधता एकै ठाउँमा पाइने देश हो । यहाँ मुटु काम्ने हिमाली क्षेत्रदेखि पसिनाले निथ्रुक्क भइने भावर क्षेत्रसम्मको फरक भूबनौट पाइन्छ । माथिल्लो डोल्पाको द्यो तराप गाउँ यस्तै विरलाकोटिको भूगोल हो ।नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती यही हो । अझ यहाँका अगुवा तथा पर्यटन व्यवसायी ज्याङ्बा लामा त यो ठाउँ विश्वकै अग्लो स्थानमा मानव बस्ती रहेको भनेर प्रख्यात रहेको दाबी गर्छन् । हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा रहेको द्यो तराप समुद्री सतहबाट ४ हजार मिटर उँचाइमा अवस्थित छ । यति उच्च स्थानमा रहे पनि यहाँ अन्न उब्जनी हुन्छ ।
यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि द्यो तरापलाई शेष रुचाउने गर्छन् । डोल्पा सदरमुकाम दुनैबाट ५ दिनको पैदलयात्रापछि पुगिने यो ठाउँ शिक्षा, स्वास्थ्य, सूचना जस्ता राज्यको आधारभूत सुविधाबाट वञ्चित छ ।आकर्षक पयर्टकीय क्षेत्र भएर पनि द्यो तराप उपेक्षामा परेको ‘मोती’ झैं बनेको देखिन्छ । यहाँ पदयात्रामा आउने विदेशी पर्यटकले १० डलर शुल्क तिर्नुपर्छ । पर्यटन क्षेत्रको विकासका लागि भन्दै टान, नेपाल पर्यटन बोर्डले त्यस्तो शुल्क उठाउने गरे पनि सो रकम यो क्षेत्रमा खर्च गरिएको देखिँदैन । पदयात्रीका लागि आवश्यक संकेत चिह्न समेत नराखिँदा पर्यटकहरु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय क्षेत्र भएर पनी पर्यटकले तिरेको पैसा स्थानीय क्षेत्रले पाउने नगरेको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा लामाले बताए । यो क्षेत्रका बासिन्दाको प्रमुख पेशा कृषि भए पनी त्यसबाट उनीहरुको गुजारा चल्दैन । स्थानीयले जडिबुडीको व्यापार र यार्सागुम्बा टिपेर जीविका चलाउने गर्छन् ।



विश्व खबर 


















