images
images
  • कालीबहादुर गणमा हतियार चोरी प्रकरण : ‘तत्कालीन मेजर श्रेष्ठको ‘मिस लिड’का कारण फसे निर्दोष सैनिक’, भयो जिन्दगी बर्बाद

    काठमाडौ – सेनाको चितवनस्थित कालीबहादुर गणबाट ‘केआर १००७९२’ एसएमजी (सर्ट मेसिनगन) चोरेको अभियोगमा अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले साढे दुई वर्षदेखि सैनिक कारागारमा सजाय भोगिरहेका छन् । अर्का सिपाही चुबी गुरुङ सेवाबाट बर्खास्त भइसकेका छन् । तर, गणबाट तीन वर्षअघि हराएको मेसिनगन लवकुमार, सरोज र चुबीले नभई सिपाही गंगाधर ढकालले चोरेको खुलासा भएको छ ।

    एक महिनाअघि काठमाडौंको शिवपुरीस्थित दी फेमस महिन्द्र दल गणमा कार्यरत नीलकण्ठ– १० धादिङका भरत गुरुङको हत्या घटना अनुसन्धानले तीन वर्षअघिको हतियार चोरी प्रकरणमा सैनिक अदालतले गरेको फैसलालाई गलत पुष्टि गरिदिएको हो । गत ७ साउनको बिहान करिब ३ बजेतिर हत्या गरिएका ३६ वर्षीय भरतको शव भरतपुर– १७ सिमलडाँडास्थित नालामा फेला परेको थियो । घटनालगत्तै भएको प्रहरी अनुसन्धानले उनको हत्यामा सोही गणमा कार्यरत चितवन भरतपुर– २१ का २६ वर्षीय गंगाधर संलग्न रहेको प्रमाण भेट्टायो । त्यसपछि भरतपुरको चनौली बजारबाट पक्राउ परेका गंगाधरमाथि अनुसन्धान गर्दा भरतको हत्यामा ‘केआर १००७९२’ एसएमजी नै प्रयोग भएको प्रमाणित भयो ।

    प्रमाण संकलनमा तत्कालीन मेजरले ध्यान नपुर्‍याउँदा चितवनस्थित कालीबहादुर गणका तीन सैनिक अन्यायमा परेको पाइएको छ । घटनास्थलको सुरक्षा गर्नु अधिकारप्राप्त अधिकारीको कर्तव्य भए पनि तत्कालीन मेजर दीपेन्द्र श्रेष्ठले एसएमजी चोरीमा उपलब्ध प्रमाणको सुरक्षामा ध्यानै नदिएको पीडित पक्षका कानुन व्यवसायीले दाबी गरेका छन् ।

    प्रहरीका अनुसार घटनास्थलबाट ‘टेरलिङ नाइन एमएम एनकेआर १००७९२’ कोड नम्बर उल्लेखित राइफल र त्यसमा लाग्ने गोलीका खोका बरामद भएको छ । ढकालको चितवनस्थित घरको टौवाबाट सोही हतियारमा प्रयोग हुने ७१ राउन्ड गोली पनि बरामद भएको छ । गंगाधरले उक्त हतियार र गोली तीन वर्षअघि कालीबहादुर गणबाटै चोरेर ल्याएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

    सोही घटनामा सैनिक करागारमा कैद सजाय भुक्तान गरिरहेका लवकुमार गुरुङ र सरोज तामाङको पक्षबाट वकालत गर्दै आएका अधिवक्ता सोमनाथ ढुंगानाले कालीबहादुर गणमा हतियार चोरीपछि घटनास्थलको सुरक्षामा मेजरले पर्याप्त ध्यान नदिएको पाइएको बताए ।

    अदालतमा पेस भएको अनुसन्धान प्रतिवेदनअनुसार कालीबहादुर गणस्थित कोतबाट ०७५ मंसिरको अन्तिम साता एसएमजी हराएको थियो । गणका कार्यकारी प्रमुख थिए, तत्कालीन मेजर श्रेष्ठ । एसएमजी हराएको सूचना उनले १ पुस ०७५ मा मात्रै पाए । हरेक दिन हतियारको अवस्थाबारे जानकारी लिइन्छ ।

    हतियार फलामको हुक प्रयोग गरी झिकिएको थियो । चोरले कोतको झ्याल पनि करौँतीले काटेको थियो । सुरक्षाका लागि चारवटा सिसिक्यामेरा थिए, तर मेजर श्रेष्ठले घटनास्थलको सुरक्षा र सिसिटिभी फुटेज संकलनमा ध्यान नदिएका कारण निर्दोष फसेको पीडित परिवारको पनि दाबी छ । ‘अनुसन्धानमा कमजोरी भएकै कारण निर्दोष फसे, यसमा तत्कालीन मेजर जिम्मेवार छन्,’ लवकुमारकी श्रीमती प्रमिला तामाङले भनिन् ।

    सोमनाथ ढुंगाना, अधिवक्ता

    हतियार चोरी गर्दा प्रयोग गरिएको फलामको हुक र झ्याल काट्न प्रयोग गरिएको करौँती घटनास्थलमै थियो । त्यसमा अभियुक्तको अँगुठा छाप पक्कै थिए । त्यसको सुरक्षा गरिएन । घटनास्थलमा चारवटा सिसिक्यामेरा थिए । त्यसका फुटेज पनि हेरिएन । जसले घटनालाई ‘मिस लिड’ गर्न सघायो र निर्दोष फस्न पुगे ।

    घटनास्थलमा उपलब्ध प्रमाणको सुरक्षमा ध्यान नदिएका मेजर श्रेष्ठले गणमा कार्यरत अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई पक्राउ गर्न निर्देशन दिए । अन्ततः सोही अभियोग प्रमाणित गर्दै सैनिक अदालतले लवकुमारलाई १० वर्ष र सरोजलाई सात वर्ष कैद सजाय हुने फैसाल गर्‍यो । ‘कम्तीमा पनि सिसिक्यामेराको फुटेज हेरिएको भए र अँगुठा छापको खोजी गरिएको भए अनुसन्धान सही हुन सक्थ्यो,’ अधिवक्ता ढुंगानाको तर्क छ । अनुसन्धानमा भएको लापरबाहीका कारण दुई सैनिक गुरुङ र तामाङ हतियार चोरी अभियोगमा फस्न पुगेको उनको भनाइ छ ।

    घटना सार्वजनिक भएपछि सेनाले उच्चस्तरीय छानबिन समिति बनाएको थियो । समितिको प्रतिवेदन सैनिक विशेष अदालतमा पेस भएको सेनाले जनाएको छ । अदालतमा गएको विषय भएकाले सैनिक अधिकारीहरूले यसमा प्रतिक्रिया दिन हतार हुने बताएका छन् ।

    कोर्ट अफ इन्क्वायरीका सदस्य पनि ‘मिस लिड’मा फसे
    मेसिनगन चोरी भएपछि सेनाको मुख्यालयले तत्कालीन महासेनानी राजेन्द्रमणि गिरीको संयोजकत्वमा कोर्ट अफ इन्क्वायरी गठन गर्‍यो । इन्क्वायरीमा सदस्यका रूपमा तत्कालीन प्रमुख सेनानी हरिशरण अधिकारी र तत्कालीन मेजर प्रेम गिरी नियुक्त भए । १७ पुस ०७५ मा गठित इन्क्वायरी टोली लगत्तै कालीबहादुर गण पुग्यो ।

    गणपति बिदामा भएकाले गणका कार्यकारी प्रमुख थिए, तत्कालीन मेजर श्रेष्ठ । मातहतमा कार्यरत तत्कालीन क्याप्टेन गणेश भट्टराई र अर्का क्याप्टेन विज्ञान विष्टको सहयोगमा मेजर श्रेष्ठले लवकुमार, सरोज र अर्का सैनिक चुबी गुरुङलाई पक्राउ गरिसकेका थिए । इन्क्वायरीमा आएका टोलीसँग मेजर श्रेष्ठले घटनास्थलको अवस्था होइन, आफूलाई लागेको विषय ब्रिफिङ गरे ।

    अर्कोतिर इन्क्वायरीका लागि आएका टोली घटनाको निष्पक्ष अनुसन्धानतर्फ लागेन, न वारदातस्थलको निरीक्षणतर्फ नै उनीहरूको ध्यान गयो । मेजर श्रेष्ठले तयार गरेकै कथा सदर गर्दै उनीहरूले प्रतिवेदन बनाए । सोही प्रतिवेदनका आधारमा निर्दोष फस्न पुगे । अधिवक्ता ढुंगानाले भने, ‘सेनाले कोर्ट अफ इन्क्वायरी गठन गर्‍यो । टोली कालीबहादुर गण पुग्यो । तर, उनीहरूले घटनाको निष्पक्ष छानबिन गरेनन् । तत्कालीन गणपतिले जे भने सोही पत्याउन लागे । अर्थात् तत्कालीन गणपतिले ‘मिस लिड’ गरेको उनीहरूले भेउ नै पाएन । परिणामतः निर्दोष फस्न पुगे ।’

    सैनिक अदालत पनि ‘मिस लिड’मा फस्यो
    कोर्ट अफ इन्क्वायरीले अनुसन्धान प्रतिवेदन बुझायो । प्रतिवेदनमा लवकुमार, सरोज र अर्का सैनिक चुबी गुरुङसहित गणमा कार्यरत १४ सैनिकलाई आरोपित गरिएको थियो । प्रतिवेदन पेसलगत्तै सेनाले तत्कालीन सहायक रथी सहदेव खड्काको संयोजकत्वमा समरी जनरल सैनिक अदालत गठन गरियो । अदालतमा बहस चल्यो । अन्ततः सोही अदालतको फैसलापछि भविष्यमा सरकारी जागिरमा समेत अयोग्य हुने गरी अमल्दार लवकुमारलाई १० वर्ष, सिपाही सरोजलाई सात वर्ष कैद सजाय तोकियो । अर्का सिपाही चुबीलाई तीन महिना कैद सजायसहित सेवाबाट बर्खास्त गरियो ।

    शक्तिको आडमा निर्दोषलाई जेल  जिन्दगी बर्बाद
    उदयपुर चौदन्डी– ९ का लवकुमार गुरुङ भर्खर शान्ति मिसनबाट फर्किएका थिए । मिसनबाट फर्किँदा केही पैसा पनि ल्याएकाले परिवारमा खुसी थप्ने योजना बुन्दै थिए । तर, एउटा अमल्दारले गरेको थोरै कमाइमा हाकिमले मुख मिठ्याउने रहर गरे । कालीबहादुर गणका मेजर दीपेन्द्र श्रेष्ठले चाहेअनुसार पाटी नदिँदा श्रीमान्को जिन्दगी बर्बाद पारिदिएको लवकुमारकी श्रीमती प्रमिला तामाङको गुनासो छ ।

    त्यसैवेला गणबाट एकाएक ‘केआर १००७९२’ एसएमजी र ७० राउन्डभन्दा धेरै गोली हरायो । सेनाले तत्काल अनुसन्धानका लागि छानबिन टोली बनायो । मेजर दीपेन्द्र टोलीको नेतृत्वमा थिए । २ पुस ०७५ मा लवकुमारसहित गणका २० भन्दा धेरै सैनिकलाई हिरासतमा लियो । अनुसन्धानपछि अरू सबै छुटे, लवकुमार, सरोज र चुबीलाई हिरासतमै राखेर थप अनुसन्धान थाल्यो । उनीहरूको घर–घरमा खानतलासी गर्‍यो ।

    ‘हामी ब्यारेकनजिकै डेरा लिएर बस्थ्यौँ । ६ पुसको राति मेजर दीपेन्द्र नेतृत्वको टोली श्रीमान्लाई पनि लिएर डेरामा आयो । खानतलासी ग¥यो । केही नभेट्टाएपछि खाली हात फर्कियो,’ प्रमिला भन्छिन्, ‘तर, त्यतिवेलासम्म श्रीमान् चोरी काण्डमा फसेको परिवारका कसैलाई पनि थाहा दिइएको थिएन ।’

    १९ पुसको बेलुका पुनः सैनिक टोली लवकुमारको कोठामा पुगेर खानतलासी ग¥यो । त्यतिवेला उनकी जेठीसासू तारा तामाङ केही दिन त्यहीँ बसेर उदयपुरको गाईघाट फर्केकी थिइन् । टोलीले यो घटनालाई चोरी भएको हतियारसँग जोड्दै निष्कर्ष निकाल्यो, ‘लवकुमारले हतियार चो¥यो । जेठीसासू तारालाई दियो । र, उनले हतियार गाईघाट पु¥याएर बेचिन् ।’

    भेटघाटका क्रममा श्रीमान्को भनाइ उद्धृत गर्दै घटनाक्रमबारे प्रमिलाले भनिन्, ‘यही बहानामा टोलीले हिरासत गएर चोरी स्वीकार गर्न कारकाप गर्‍यो । रातभर चिसोमा राखेर यातना दियो । आँखामा पट्टी बाँध्यो, शरीर नांगै बनाएर बुट र लाठीले हान्यो । शरीर सुन्निन थाल्यो । चार महिनासम्म निरन्तर यातना भएपछि खप्न नसकेर जबर्जस्ती अभियोग स्विकार्नुपर्‍यो ।’ तर, तारा व्यक्तिगत लेनदेनका कारण डेरामा आएको प्रमिला बताउँछिन् ।

    सैनिक प्रहरीको आदेशमा लवकुमारले जेठीसासू तारालाई हिरासत कक्षमै बोलाए । ‘आफूले हतियार बुझेको र भाइ पवन गुरुङलाई बुझाएको’ भनेर सेनाको छानबिन टोलीलाई बयान दिन तारालाई आग्रह गरे । त्यसपछि गाईघाटबाट पक्राउ परेकी ताराले लवकुमारले भनेअनुसार बयान दिइन् । सेनाले पवनलाई पनि पक्राउ गर्‍यो ।

    सुन्दरहरैँचा– १२ मोरङ घर भएका सिपाही सरोजकी आमा मैया तामाङ पनि सेनाकै मिलेमतोमा छोरालाई फसाएको बताउँछिन् । अहिले हतियार चोर्ने व्यक्ति अर्को भएको प्रमाण भेटिएसँगै उनले घटनाको उच्चस्तरीय छानबिनको माग गरेकी छिन् । ‘हाम्रो छोराहरूलाई अनाहकमा फसाइयो । यसको उच्चस्तरीय छानबिन हुनुपर्छ । अनुसन्धानमा लापरबाही गर्ने सबै अधिकारीलाई कारबाही गर्नुपर्छ । सरोज र लवकुमारलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images