काठमाडौं- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।
पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए । आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए । राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताएका उनले वाह्यमुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।
यस्तै नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन् । अध्यक्ष नेपालले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन् । ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको घटना धेरै भएको आरोप लगाएका नेपालले हालै सार्वजनिक महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले सबै छर्लङ पारेको बताए ।
‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटी पढे हुन्छ नि’, अध्यक्ष नेपालले भने ।
यस्तै अध्यक्ष नेपालले आफ्ना नेताहरुलाई हौसला प्रदान गर्दै आफूहरुको पार्टी पनि स्थापित हुने दावी गरेका छन् । नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुने दावी गरे ।


विश्व खबर 


















