images
images
  • विदेशमा सिकेको ज्ञान र शीप भित्र्याउन सके मात्र देश समृद्ध बन्छ : डा.केसी

    • images
    • १२ भाद्र २०७८

    गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेश अक्टोबर २३ देखि २५ सम्म हुँदैछ । अनलाइन भोटिङबाट निर्वाचन हुने भएको हो । एनआरएनएमा रहेर विदेशमा बस्ने नेपालीहरुको हकहितका लागि आवाज उठाउँदै आएका डा. बद्री केसी संघको केन्द्रिय अध्यक्षको दावेदार हुन् । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत रहेका डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । डा. केसीले सुरुवातीकालदेखि नै विदेशमा बस्ने नेपालीहरुका लागि काम गरिरहेका छन् । अब हुने एनआरएनएको महाधिवेशमा उनको उम्मेद्वारी तथा आगामी योजनाका बारेमा विश्व खवरको युरोप प्रतिनिधीसंग गरिएको कुराकानीको सम्पादित अंशः

    तपाइँ पछिल्लो समय नेपालमा के कारणले जानु भएको थियो ?
    लामो समय कोरोना भाइरसको कारणले नेपाल जान पाएको थिइन । नेपाल सरकारसँग संस्थागत कुराहरु पनि तय गर्नुपर्ने थियो । र, गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनको तयारीका लागि पनि म काठमाडौं गएको हुँ ।

    आसन्न महाधिवेशनमा तपाईंको एजेन्डा के हो ?
    हाम्रो आठ वटा विभागहरु छन् । ती मध्ये वैदेशिक रोजगार तथा कल्याकारी विभागको म प्रमुख हुँ । यो विभागमा चारवटा उपकमिटीहरु छन् । यी कमिटीमध्ये पहिलो वैदेशिक रोजगारमा गएका साथीहरुको समस्या केलाएर नेपाल सरकारसँग लविङ गर्ने, हाम्रो संविधानमा गैर आवासीय नेपालीहरुलाई सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारसहित नागरिकता दिने भनेको छ, त्यो नागरिकता हामीले पाएका छैनौं । त्यसका लागि लविङ गर्ने, गैर आवासीय नेपालीहरुका लागि छुट्टै कानुन बनाउनका लागि पनि मैले लविङ गरिरहेको छु र विदेशमा रहेका नेपालीहरु जो महामारीको चपेटमा पर्नु भएको छ उहाँहरुको लागि हामीले थुप्रै काम पनि गरिरहेका छौँ ।

    एनआरएनएले कस्ता खालका रुपान्तरणका कामहरु गर्छ ?
    विदेशमा सिकेको प्रविधिहरु नेपालमा ल्यायौं भने चाँडै रुपान्तरण हुन्छ । अन्य देशहरु जसरी नै नेपालमा छिट्टै विकास हुन सक्छ । त्यसमा हामीले हरेक दुई वर्षमा एकपटक स्किल इनोभेसनका कन्फरेन्सहरु गर्छौँ । गतवर्ष गरिएको कन्फरेन्समा ४१६ वटा पेपरहरु प्रस्तुत गरेका थियौँ । हामीले ती पेपरहरुलाई तयार गरेर नेपालका सबै सम्बन्धित मन्त्रालय, विश्वविद्यालय तथा रिसर्च सेन्टरहरुमा दिएका छौं । हामी उहाँहरुसँग कनेक्ट हुन चाहान्छौं । विदेशमा रहेका नेपाली कुनै न कुनै विषयमा विज्ञ हुनुहुन्छ । उहाँहरु नेपालमा वर्षको एक, दुई महिनाको लागि निःशुल्क रुपमा यहाँका अस्पताल, ल्याब, कलेज तथा क्याम्पसहरुमा पढाउन चाहानुहुन्छ ती विज्ञहरुलाई यहाँसम्म ल्याउने कार्यक्रमहरु गरिरहेका छौं ।

    कोरोना कहरमा गैर आवासीय नेपालीहरु कति जना संक्रमित हुनुहुन्छ ?
    आजको दिनसम्म एक लाख १० हजार जना संक्रमित भइसक्नु भएको छ । संघले हरेक व्यक्तिको तथ्यांक राखेको छ । ४ सय ८६ जनाको मृत्यु भइसकेको छ भने करिब ९२ प्रतिशत संक्रमणमुक्त भइसक्नु भएको छ । पहिले जस्तो भयावहको अवस्था छैन । अहिले सबैजना कोरोनासँगै अघि बढ्न सिकिसक्नु भएको छ । यस्तै, सबैले कोरोनाविरुद्धको खोप लगाइसक्नु भएको छ । त्यसैगरि, गैर आवासीय नेपाली संघले नेपालमा खोप तथा अक्सिजन ल्याउन धेरै पहल गरेको थियो । त्यही अनुरुप काम पनि भयो ।

    एनआरएनएहरुलाई नेपाल सरकारको हेर्ने नजर कस्तो पाउनुभएको छ ?
    यो मिश्रित छ । कतिपय सरकारका मान्छेहरुले हामीलाई राम्रो व्यवहार गर्छन् भने कतिपयले गाली पनि गर्छन् । समग्रमा नेपाल सरकारले हाम्रो लागि राम्रै सोचेको छ ।

    नेपालमा विनाशकारी महाभूकम्प र पछिल्ला विपत्तिमा तपार्इंले कस्ता कामहरु गर्नुभयो ?
    २०७२ को भूकम्प जाँदा म संघको कोषाध्यक्ष थिए । र, म काठमाडौं मैं थिए । भूकम्प गएको ६ घन्टामै इमर्जेन्सी मिटिंग राख्यौं र संसारभरबाट पैसा उठाउन थाल्यौं । र, उठेका पैसाबाट राहतका सामान किन्यौं र भूकम्प गएको ३ दिनभित्र राहत बाड्यौं ।
    तराईमा बाढिपीडितलाई राहत र अस्थाई वासको काम होस् या पहाडी र हिमाली क्षेत्रमा भएको पहिरोमा संस्थागत रुपमा मेरो व्यक्तिगतरुपमा समेत सहयोग गरेका थियौं ।

    तपाईंको उम्मेद्वारी चर्चा मात्र हो कि वास्तबिक अध्यक्षको दाबेदारी नै हो ?
    गैर आवासीय नेपाली संघको अभियान सूरु गर्दादेखि नै म यहाँ छु । सुरुका दिनमा म साधारण सदस्य मात्र रहेर काम गरेँ । २००७ मा रसियाको महासचिव थिएँ । त्यसपछि दुई कार्यकाल म केन्द्रीय सदस्य भएँ । २०१३, २०१५ मा कोषाध्यक्ष थिएँ । त्यसपछि दुई कार्यकालमा म महासचिव भएर काम गरे । त्यसपछि २०१९, २१ मा म उपाध्यक्ष छु । त्यसकारण मैले एनआरएनएमा नसम्हालेको कुनै छैन जस्तो लाग्छ । मैले यो सबै पदमा जितेर आएको हुँ । त्यसैले एनआरएनएमा रहेर थुप्रै काम गरेको छु । यो संघको विभिन्न पदमा रहेर कामलाई निन्तरता दिँदै आएको छु । कुनै चर्चा पाउनका लागि होइन मेरो दाबेदारी वास्तविक हो ।

    एनआरएनहरुले तपाईंलाई किन जिताउने ?
    संस्थालाई आर्थिक रुपले कसरी लैजाने भन्नेमा म कन्फ्युज छैन । किनभने यो संस्थाको जन्म भएको दिनदेखि म यस संस्थामा छु । यहाँ रहेर धेरै दुःखका दिनहरु पनि देखेको छु । २०१३ सालमा हामीले हाम्रा सचिवालयका सदस्यहरुलाई तलब खुवाउन पनि चन्दा उठाउनुपर्ने वाध्यता थियो । म त्यो बेला कोषाध्यक्ष थिएँ । यस्तो खालको सामाजिक संस्थालाई आर्थिक रुपले सक्षम बनाउन सक्ने १० वर्षे योजना मैले बनाएँ । र, यही योजनाकै क्रममा भिजन २०२० पनि लिएर आएँं र आज यो संस्था एक वर्षमा ५० करोडको च्यारिटीको काम गर्न सक्ने भएको छ । त्यसैले संस्थालाई कसरी आर्थिक रुपले सक्षम बनाएर लैजाने भन्नेमा म कत्ति पनि कन्फ्युज छैन । यो संस्थालाई सबै कुराबाट सक्षम बनाएर संस्था हाक्न सक्ने मापदण्ड म मा छ ।

    यस्तै, म कोषाध्यक्ष भएर काम गर्नु भन्दा पहिले केन्द्रीय सदस्य भएर काम गर्दा संस्थामा ४०/४५ वटा मात्र देशहरु थिए । त्यसपछि म महासचिव भएर काम गर्दा कमसेकम ३० वटा नयाँ राष्ट्रिय समन्वय परिषद् खुल्यो । यसरी म महासचिव हुँदा कसरी धेरै भन्दा धेरै देश तथा नेपालीहरुलाई आबद्ध गर्ने भन्ने विषयमा मेरो ठूलो योगदान रह्यो । सुरुमा हाम्रा साधारण सदस्यहरु कम थिए । अहिले १ लाख १० हजार साधारण सदस्यहरु मात्र छन् । म महासचिव हुँदा म लगाएत मेरो टिमले एकदम उत्कृष्ट काम गरेको छ ।
    वैदेशिक रोजगारमा के–के समस्या छन् भनेर हामीले एक हप्ता अघि मात्र श्वेत पत्र जारी गरेका छौं । अब अर्को उपाध्यक्ष आउँदा अलमल हुनु पर्दैन । यी आठ वटै विभाग, ४० वटा कमिटीहरु र ८४ वटा देशहरुलाई म कन्ट्रोल गर्न सक्छु। र, ती देशहरुमा बसेका नेपालीहरु पहिले आफैं सक्षम हुनुपर्छ अनि नेपाललाई सहयोग गर्नुपर्छ यी सबै कुराहरुलाई व्यवस्थापन गरेर म लैजान सक्छु भनेरै मैले अध्यक्ष पदको लागि आँट गरेको छु । साथीहरुले मलाई जिताउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

    तपाईंको उम्मेद्वारीमा साथीहरुको प्रतिक्रिया कस्तो छ ?
    धेरै साथीहरुले भनेका छन्, एनआरएनमा बौद्धिक, अनुभवी र सक्षम व्यक्तिको नेतृत्व चाहिन्छ । जुन योग्यता ममा छ । त्यसैले म मापदण्डमा पर्छु ।

    कोरोनाको यो समयमा वैदेशिक रोजगारी अन्तर्गत मध्यपूर्व र मलेसिया लगाएतका देशमा काम गर्ने नेपाली श्रमिकहरुका लागि तपाईंले के–के काम गर्नु भयो ?
    मुख्यतः कोरोना भाइरसको संक्रमणपछि विदेशमा बस्ने नेपालीहरूको सहयोगको लागि गैरआवासीय नेपाली संघले सक्रियता देखिएको थियो । कोरोनाकै कारणले धेरैको जागिर खोसिएको आवस्थामा खानबस्नको समेत समस्या थियो । विदेशमा धेरै अलपत्र परेका थिए ती नेपालीहरूलाई गासबाँस र उद्धारको काम संघले गरेको थियो । विदेशमा कोरोनाका कारणले कुनै पनि नेपालीहरूलाई भोकभोकै बस्न र सडकमा सुत्न दिएनौँ । सरकारसंग मिलेर थुप्रै काम भएका छन् । नीतिगत सुधारका कामको लागि पनि सरकारलाई सुझाव दिएका छौं ।
    अन्तमा के भन्नु हुन्छ ?
    हामी गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको तयारीमा छौं । सबै देशमा नयाँ निर्वाचन भएका छन् । आगामी महाधिवेशनले संघको नेतृत्व चयन गर्दै छ । विभिन्न देशका महाधिवेशनप्रतिनिधी भएर आउनु भएकाहरूलाई स्वागत गर्दछु । संघको आगामी निर्वाचनमा म आफै अध्यक्ष पदको उम्मेदवार भएको सर्वविधितनै छ त्यसै संघका गत निर्वाचनहरूमा जस्तै यहाँहरूको सहयोग, सुझाव र मायाको अपेक्षा गरेको छु ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images