काठमाडौं-नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुला राखिने उनको भनाइ छ । “उनहरु फर्कनु भयो भने हामी स्वागत गर्दछौं”, उनले भने, “आफूलाई सुधार गरेर आउँछन् भने ती साथीलाई पार्टीमा जिम्मेवारीसमेत दिन्छौँ ।”
बैठकले १० बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिविम्ब गर्ने गरी कार्यान्वयन गर्नेसमेत निर्णय गरेको उनले बताए । बैठकले निर्वाचन आयोगले पार्टीबाट हटाएर र अनुपस्थिति रहेका नेताको सनाखत गरेर पार्टी विभाजनमा सहयोगी बनेको निष्कर्ष निकालेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिए । “सनाखत भनेको त्यो व्यक्तिको हस्ताक्षर हो वा होइन भन्ने हो”, उनले भने, “तर आयोगमा उपस्थित नभएका व्यक्तिको पनि सनाखत गरी आयोग दल विभाजन गर्न सहयोगी बन्यो ।”
मङ्गलबार एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको थियो । बैठकले पार्टीले कारवाही गरेर पठाएका सांसदको कारवाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले अझै टाँस नगरेकाले संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने निर्णय गरेको उनले बताए ।
यही भदौ ८ गते एमालेको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचना २०७५ जेठ २ गते अवस्थामा फर्काउने निर्णय गरेको थियो । दश बुँदे कार्यान्वयनमा समस्या आएमा उपाध्यक्ष भीम रावल, उमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्टसहितको सहजीकरण गर्नका लागि कार्यदल गठन गरेको छ ।
उनले बैठक पार्टीको आन्तरिक रूपान्तरणमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउने बताए। एमालेले पार्टीको १०औँ राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि मङ्सिर १३ गते र विधान अधिवेशन आगामी असोज ४ गतेदेखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ । एमालेले आगाी कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भएको छ ।
बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताका पक्षमा उभिने र विभाजनको विपक्षमा उभिनेलाई स्वागत गर्नुभयो । बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले पार्टी एकता सुदृढीकरण गर्न सङ्कल्पसमेत व्यक्त गरेका थिए । बैठकले जनवादी गायक जेवी टुहुरेको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिअनुसार पार्टी एकताबद्ध बनाउने विषयमा छलफल भएको बताए ।
निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय
माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ । केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।पार्टीले काबराही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै हस्ताक्षर नगरेका व्यक्तिहरुको समेत सनाखत गरिएको एमालेले जनाएको छ ।
एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘निर्वाचन आयोगको भूमिका दल विभाजनमा सहयोगी हुने होइन । कानुनसम्मत गर्ने हो । तर कयौं कुराहरु यो ढंगको देखिएकाले कानुनी उपचार खोज्ने भनेका हौं ।’पार्टीले कारबाी गरेर पत्र पठाएपछि सांसदहरुलई पदमुक्त गरेको सूचना नटाँस्नु सभामुखको गल्ती भएको एमालेले बताएको छ । ‘यसको पनि कानुनसम्मत संसदीय अभ्यास अनुसार विरोध गर्छौं’ उनले भने ।
स्थानीय जनप्रतिनिधिहरुले पनि दल रोज्न पाउने राजनीतिक दलसम्बन्धी अध्यादेशको व्यवस्था संविधानको मर्म विपरीत भएको भन्दै ज्ञवालीले कानुनी उपचार खोज्ने बताए ।केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सचिव प्रदीप ज्ञवालीका अनुसार प्रदेश र र मातहतका कमिटीहरुलाई २ जेठ २०७७ पूर्वको अवस्थामा लैजान प्रदेश समन्वय कमिटीले समन्वय गर्ने छ ।
जनसंगठनलाई २ जेठ २०७५ पूर्वको अवस्थामा लैजान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझी सम्मिलित कार्यदल बनाइएको छ । युवा विद्यार्थी लगायतका संगठनमा उमेर हदका कारण विदा भएका नेताहरुलाई भने नफर्काइने सचिव ज्ञवालीले जानकारी दिए ।


विश्व खबर 


















