सेनाको चितवनस्थित कालीबहादुर गणबाट ‘केआर १००७९२’ एसएमजी (सर्ट मेसिनगन) चोरेको अभियोगमा अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले साढे दुई वर्षदेखि सैनिक कारागारमा सजाय भोगिरहेका छन् । अर्का सिपाही चुबी गुरुङ सेवाबाट बर्खास्त भइसकेका छन् । तर, गणबाट तीन वर्षअघि हराएको मेसिनगन लवकुमार, सरोज र चुबीले नभई सिपाही गंगाधर ढकालले चोरेको खुलासा भएको छ । एक महिनाअघि काठमाडौंको शिवपुरीस्थित दी फेमस महिन्द्र दल गणमा कार्यरत नीलकण्ठ– १० धादिङका भरत गुरुङको हत्या घटना अनुसन्धानले तीन वर्षअघिको हतियार चोरी प्रकरणमा सैनिक अदालतले गरेको फैसलालाई गलत पुष्टि गरिदिएको हो ।
गत ७ साउनको बिहान करिब ३ बजेतिर हत्या गरिएका ३६ वर्षीय भरतको शव भरतपुर– १७ सिमलडाँडास्थित नालामा फेला परेको थियो । घटनालगत्तै भएको प्रहरी अनुसन्धानले उनको हत्यामा सोही गणमा कार्यरत चितवन भरतपुर– २१ का २६ वर्षीय गंगाधर संलग्न रहेको प्रमाण भेट्टायो । त्यसपछि भरतपुरको चनौली बजारबाट पक्राउ परेका गंगाधरमाथि अनुसन्धान गर्दा भरतको हत्यामा ‘केआर १००७९२’ एसएमजी नै प्रयोग भएको प्रमाणित भयो ।
प्रहरीका अनुसार घटनास्थलबाट ‘टेरलिङ नाइन एमएम एनकेआर १००७९२’ कोड नम्बर उल्लेखित राइफल र त्यसमा लाग्ने गोलीका खोका बरामद भएको छ । ढकालको चितवनस्थित घरको टौवाबाट सोही हतियारमा प्रयोग हुने ७१ राउन्ड गोली पनि बरामद भएको छ । गंगाधरले उक्त हतियार र गोली तीन वर्षअघि कालीबहादुर गणबाटै चोरेर ल्याएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । उनले जिल्ला अदालत चितवनलाई उक्त हतियार तीन वर्षअघि कालीबहादुर गणबाटै चोरेर ल्याएको बयान दिँदै, यही हतियार चोरी अभियोगमा जेल सजाय पाएका कसैलाई पनि नचिन्ने बताएका छन् ।
‘मैले भरत गुरुङलाई हत्या गर्न प्रयोग गरेको हतियार कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ । हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा मबाहेक अन्य कोही कसैको संलग्नता छैन,’ गंगाधरले अदालतमा दिएको बयानमा उल्लेख छ, ‘अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई म चिन्दिनँ ।’
सैनिक प्रहरीले २ पुस ०७५ मा पक्राउ गरी लवकुमार, सरोज र चुबीलाई हिरासतमा राखेको थियो । चार महिनासम्म यातना दिएर चोरी स्वीकारेको कागजमा जबर्जस्ती हस्ताक्षर गर्न बाध्य पारिएको र यसैलाई आधार मानेर सैनिक अदालतले ६ वैशाख ०७६ फैसला गरेको परिवारका सदस्यको आरोप छ ।
सरोजकी आमा मैया तामाङ भन्छिन्, ‘छोरालाई सैनिक हिरासतमा राखिएको वेला म हिरासत कक्षमै भेट्न जान्थेँ । मैले गल्ती गरेको छैन, तर गल्ती स्वीकार भन्दै खप्नै नसक्ने चरम यातना दिएको छ भनेर भक्कानिएर रुन्थ्यो । पछि कसुर प्रमाणित गरेर सात वर्ष कैद सजाय भएछ ।’
सेनाले लवकुमार, सरोज र चुबीलाई मात्रै होइन चोरी भएको हतियार बिक्री गरेको अभियोगमा उदयपुर गाईघाटकी २८ वर्षीया तारा तामाङ र टाइचिन भनिने पवन गुरुङलाई समेत दोषी ठहर्याएको थियो । पवन नाताले लवकुमारका भाइ र तारा जेठीसासू हुन् । जिल्ला अदालत चितवनको आदेशमा उनीहरूले पनि डेढ वर्ष कैद सजाय भोग्नुपर्यो । उनीहरू सैनिक नभएकाले मुद्दा जिल्ला अदालत चितवनले हेरेको थियो । हाल दुवैजनाले तोकिएको सजाय भुक्तान गरिसकेका छन् ।
गंगाधरले तारा र टाइचिनलाई पनि नचिनेको बयान जिल्ला अदालतमा दिएका छन् । ‘टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग मेरो कुनै नाता–सम्बन्ध छैन । म निजहरूलाई चिन्दिनँ,’ अदालतसमक्ष उनले दिएको बयानपत्रमा लेखिएको छ, ‘के–कुन आधारबाट निजहरूउपर हातहतियार मुद्दा दर्ता भई सम्मानित चितवन जिल्ला अदालतमा पेस भएको हो मलाई थाहा भएन ।’
घटनाबारे गम्भीर अनुसन्धान हुँदै छ : सन्तोषबल्लभ पौडेल प्रवक्ता, सेना
भरत गुरुङको हत्यामा प्रयोग भएको हतियार र तीन वर्षअघि चितवनको कालीबहादुर गणबाट चोरी भएको भनिएको हतियारको कोड मिलेको विषयमा हामी पनि जानकार छौँ । यस विषयको छानबिन हुँदै छ । उच्चस्तरीय छानबिन समिति गठन भएको छ । केही दिनभित्रै समितिले निष्कर्ष निकाल्नेछ । घटनाको सत्य तथ्य त्यसपछि मात्रै भन्न सकिएला ।

मेजरको सनकले अमल्दार र सिपाहीको जिन्दगी बर्बाद
उदयपुर चौदन्डी– ९ का लवकुमार गुरुङ भर्खर शान्ति मिसनबाट फर्किएका थिए । मिसनबाट फर्किँदा केही पैसा पनि ल्याएकाले परिवारमा खुसी थप्ने योजना बुन्दै थिए । तर, एउटा अमल्दारले गरेको थोरै कमाइमा हाकिमले मुख मिठ्याउने रहर गरे । कालीबहादुर गणका मेजर दीपेन्द्र श्रेष्ठले चाहेअनुसार पाटी नदिँदा श्रीमान्को जिन्दगी बर्बाद पारिदिएको लवकुमारकी श्रीमती प्रमिला तामाङको गुनासो छ ।
त्यसैवेला गणबाट एकाएक ‘केआर १००७९२’ एसएमजी र ७० राउन्डभन्दा धेरै गोली हरायो । सेनाले तत्काल अनुसन्धानका लागि छानबिन टोली बनायो । मेजर दीपेन्द्र टोलीको नेतृत्वमा थिए । २ पुस ०७५ मा लवकुमारसहित गणका २० भन्दा धेरै सैनिकलाई हिरासतमा लियो । अनुसन्धानपछि अरू सबै छुटे, लवकुमार, सरोज र चुबीलाई हिरासतमै राखेर थप अनुसन्धान थाल्यो । उनीहरूको घर–घरमा खानतलासी गर्यो । ‘हामी ब्यारेकनजिकै डेरा लिएर बस्थ्यौँ । ६ पुसको राति मेजर दीपेन्द्र नेतृत्वको टोली श्रीमान्लाई पनि लिएर डेरामा आयो । खानतलासी ग¥यो । केही नभेट्टाएपछि खाली हात फर्कियो,’ प्रमिला भन्छिन्, ‘तर, त्यतिवेलासम्म श्रीमान् चोरी काण्डमा फसेको परिवारका कसैलाई पनि थाहा दिइएको थिएन ।’
१९ पुसको बेलुका पुनः सैनिक टोली लवकुमारको कोठामा पुगेर खानतलासी ग¥यो । त्यतिवेला उनकी जेठीसासू तारा तामाङ केही दिन त्यहीँ बसेर उदयपुरको गाईघाट फर्केकी थिइन् । टोलीले यो घटनालाई चोरी भएको हतियारसँग जोड्दै निष्कर्ष निकाल्यो, ‘लवकुमारले हतियार चो¥यो । जेठीसासू तारालाई दियो । र, उनले हतियार गाईघाट पु¥याएर बेचिन् ।’
भेटघाटका क्रममा श्रीमान्को भनाइ उद्धृत गर्दै घटनाक्रमबारे प्रमिलाले भनिन्, ‘यही बहानामा टोलीले हिरासत गएर चोरी स्वीकार गर्न कारकाप गर्यो । रातभर चिसोमा राखेर यातना दियो । आँखामा पट्टी बाँध्यो, शरीर नांगै बनाएर बुट र लाठीले हान्यो । शरीर सुन्निन थाल्यो । चार महिनासम्म निरन्तर यातना भएपछि खप्न नसकेर जबर्जस्ती अभियोग स्विकार्नुपर्यो ।’ तर, तारा व्यक्तिगत लेनदेनका कारण डेरामा आएको प्रमिला बताउँछिन् ।
सैनिक प्रहरीको आदेशमा लवकुमारले जेठीसासू तारालाई हिरासत कक्षमै बोलाए । ‘आफूले हतियार बुझेको र भाइ पवन गुरुङलाई बुझाएको’ भनेर सेनाको छानबिन टोलीलाई बयान दिन तारालाई आग्रह गरे । त्यसपछि गाईघाटबाट पक्राउ परेकी ताराले लवकुमारले भनेअनुसार बयान दिइन् । सेनाले पवनलाई पनि पक्राउ गर्यो ।
सुन्दरहरैँचा– १२ मोरङ घर भएका सिपाही सरोजकी आमा मैया तामाङ पनि सेनाकै मिलेमतोमा छोरालाई फसाएको बताउँछिन् । अहिले हतियार चोर्ने व्यक्ति अर्को भएको प्रमाण भेटिएसँगै उनले घटनाको उच्चस्तरीय छानबिनको माग गरेकी छिन् । ‘हाम्रो छोराहरूलाई अनाहकमा फसाइयो । यसको उच्चस्तरीय छानबिन हुनुपर्छ । अनुसन्धानमा लापरबाही गर्ने सबै अधिकारीलाई कारबाही गर्नुपर्छ । सरोज र लवकुमारलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्छ ।’
अनि चोरेका थिए गंगाधरले मेसिनगन
भरत गुरुङको हत्या अभियोगमा पक्राउ परेका गंगाधरले सैनिक गणबाट कसरी हतियार चोरेका थिए भनेर प्रहरीले अनुसन्धान गरेको छ । प्रहरीका अनुसार उनी सानैदेखि हठी स्वभावका थिए । साथीभाइबीच रवाफ देखाउनु उनको सोख थियो । सैनिक सेवामा जागिर सुरु गरेपछि उनको रवाफ अझ बढ्यो । चितवनस्थित कालीबहादुर गणमै ड्युटी भएकाले त्यहाँ हतियार कहाँ र कसरी राखिन्छ भन्ने राम्रोसँग थाहा थियो ।
पछि काठमाडौंको शिवपुरीस्थित दी फेमस महिन्द्र दल गणमा सरुवा भयो । हतियार लिएर घर जाने र गाउँमा साथीभाइबीच रवाफ देखाउने सोख जाग्यो । त्यसकै लागि हतियार चोर्ने योजना बनाए । त्यसका लागि कालीबहादुर गण नै उपयुक्त लाग्यो । महिन्द्र गणबाट बिदा लिएका उनी चितवनतिर लागे । कसैले नदेख्ने गरी कालीबहादुर गणको पछाडिपट्टिबाट काँडेतार पन्छाएर ब्यारेकमा छिरे । हतियार राखेको ठाउँमा त पुगे, तर कोठा बन्द भएकाले ‘हुक’ गरेर निकाल्नुपर्ने भयो ।
फलामको रड प्रयोग गरेर तान्दा उनको हातमा ‘केआर १००७९२’ एसएमजी र त्यसका गोली आइपुग्यो । त्यही लिएर उनी ब्यारेकबाट बाहिरिए । भरतपुरस्थित घरमा पु¥याए । पोको पारेर घरनजिकै टौवामा लुकाए । भरतको हत्या गर्नेवेला उनले त्यही टौवाबाट झिकेका थिए ।
सरोजकी आमाको माग– चरम यातना दिएर अपराध स्वीकार गर्न लगाउने अधिकारीमाथि कारबाही होस्
हतियार चोरेको अभियोगमा हिरासतमा राख्दा नै मैले छोरालाई भेटेकी थिएँ । मैले गल्ती गरेको छैन भन्दै भक्कानिएर रुन्थ्यो । खप्नै नसक्ने यातना दिएको छ भन्थ्यो । पछि कसुर प्रमाणित गरेर सात वर्ष कैद सजाय भएछ । मैले सुन्नै सकिनँ । निर्दोष छोरा फसेको कसरी सहनु ? अहिले भरत गुरुङ हत्यामा प्रयोग भएको हतियार र हत्यामा संलग्न गंगाधर ढकालबारे भएको अनुसन्धानमा भेटिएका प्रमाणले सरोज र लवकुमार निर्दोष भएको प्रस्ट हुन्छ । गंगाधरले नै प्रहरी र अदालतमा आफूले हतियार चोरेको बयान दिएका छन् । हाम्रा छोरालाई फसाइएको घटनाबारे उच्चस्तरीय छानबिन हुनुपर्छ । अनुसन्धानमा लापरबाही गर्ने सबै सैनिक अधिकारीलाई कारबाही हुनुपर्छ । सरोज र लवकुमारलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्छ ।


विश्व खबर 


















