images
images
  • कुवेतमा ड्रोन आक्रमण : दुई इटालियन नागरिकको मृत्यु भएपछि युरोप–इरानबीच तनाव

    तेहरान– कुवेतमा भएको भनिएको इरानी ड्रोन आक्रमणमा दुई इटालियन नागरिकको मृत्यु भएपछि इरान र युरोपेली सङ्घ (ईयू) बीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने विश्लेषकहरूले बताएका छन् ।

    बिहीबार कुवेतस्थित एक सैन्य क्षेत्रमा भएको ड्रोन आक्रमणमा इटालियन नागरिक एन्टोनियो साक्कोचियो (६५) र इमानुएल लो रूसो (३६) को मृत्यु भएको हो । उनीहरू युरोपेली रक्षा कम्पनीका लागि कुवेतमा कार्यरत थिए ।

    इटाली र कुवेतले आक्रमणमा इरानी ड्रोन प्रयोग भएको बताएका छन् । तर इरानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै यसलाई युरोपेली मुलुकहरूलाई अमेरिका र इजरायलले सुरु गरेको युद्धमा थप तान्ने उद्देश्यले गरिएको ‘फल्स फ्ल्याग’ अर्थात् झुटो आरोप सिर्जना गर्ने अभियान भएको दाबी गरेको छ ।

    रोमस्थित अन्तर्राष्ट्रिय मामिला संस्थान (आईएआई) का अनुसन्धान संयोजक तथा विश्व प्रतिस्पर्धा एवं राजनीतिक जोखिम कार्यक्रम प्रमुख रिकार्डो अल्कारोले आक्रमणको जिम्मेवारी इरानले अस्वीकार गर्नुका कारण स्पष्ट नभएको बताएका छन् ।

    उनका अनुसार ड्रोन इरान समर्थित इराकी समूहले प्रहार गरेको भए त्यसको उद्देश्य अमेरिकासँग सम्भावित अर्को सैन्य मुठभेडअघि कुवेतको रक्षा क्षमता कमजोर बनाउनु हुन सक्छ । तेहरानले अमेरिकासँग पुनः सैन्य टकराव हुन सक्ने सम्भावनालाई उच्च रूपमा लिएको उनको विश्लेषण छ ।

    अल्कारोले इरानले आफूलाई आक्रमणकारीका रूपमा प्रस्तुत हुनबाट जोगाउन र भविष्यमा हुन सक्ने अमेरिकी–इजरायली आक्रमणको औचित्यमाथि प्रश्न उठाउन फल्स फ्ल्यागको तर्क अघि सारेको हुन सक्ने बताए ।

    युरोपभित्र राजनीतिक विभाजनको जोखिम

    यस घटनाले युरोपेली राजनीतिमा पनि संवेदनशील परिस्थिति सिर्जना गर्न सक्ने देखिएको छ । विशेषगरी अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानमाथि सुरु गरेको युद्धप्रति युरोपेली जनमत पहिलेदेखि नै विभाजित रहेको अवस्थामा दुई इटालियन नागरिकको मृत्युले थप राजनीतिक दबाब सिर्जना गर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

    उक्त युद्धका कारण विश्वभर ऊर्जा आपूर्ति प्रभावित हुनुका साथै ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढेको छ । अल्कारोका अनुसार इटाली र युरोपले क्षेत्रीय मुलुकमाथि हुने आक्रमणको निन्दा जारी राख्ने सम्भावना छ । कुवेतका सैन्य आधार क्षेत्रमा काम गरिरहेका युरोपेली कम्पनीहरूले आफ्ना कर्मचारीको सुरक्षासम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

    उनका अनुसार रडारजस्ता जटिल रक्षा प्रणालीको मर्मतसम्भारका लागि विशेषज्ञ प्राविधिक कर्मचारी आवश्यक पर्ने भएकाले उनीहरू संवेदनशील सैन्य क्षेत्रमा काम गर्दा जोखिममा पर्ने गरेका छन् ।

    इरानले युक्रेनमाथि पनि उठायो प्रश्न

    तेहरानका सरकारी निकायसँग निकट रहेका केही सञ्चारमाध्यम र राजनीतिक वृत्तले भने घटनामा युक्रेनको सम्भावित भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले यस घटनामार्फत युरोपको युद्धमा रहेको भूमिकातर्फ ध्यान केन्द्रित गर्ने प्रयास गरेका छन् ।

    यसअघि आइतबार युक्रेनले लिबियामा रहेका दुई रुसी पानीजहाजमाथि आक्रमण गरेको थियो । उक्त घटनापछि रुस–युक्रेन युद्धलाई मध्यपूर्वसम्म विस्तार गर्न खोजेको भन्दै किभको आलोचना भएको थियो ।

    तेहरानस्थित विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिक विश्लेषक फोआद इजादीले कुवेतको घटनामा युक्रेनको हात हुन सक्ने दाबी गरेका छन् । उनले यसलाई फल्स फ्ल्याग अभियानको संज्ञा दिएका छन् ।

    इजादीका अनुसार युरोपेली नेताहरूले अमेरिकी सैन्य विमान र सैन्य अभियानलाई सहयोग गरेर इरानी जनताको मृत्युमा भूमिका खेलेका छन् ।

    उनले नेटोका महासचिव मार्क रुटेको अभिव्यक्तिलाई उद्धृत गर्दै फेब्रुअरी २८ देखि अप्रिलको मध्यसम्म युरोपेली सैन्य आधार क्षेत्रबाट अमेरिकाका पाँच हजारसम्म सैन्य उडान भएका बताएका छन् ।

    रुटेका अनुसार उक्त अभियानलाई सहयोग गर्न इटालीका सैन्य आधार क्षेत्रबाट मात्रै करिब पाँच सय अमेरिकी सैन्य उडान भएका थिए । तर इटालीको रक्षा मन्त्रालयले भने आफूले नियमित प्राविधिक तथा लजिस्टिक सहयोगका लागि मात्रै अनुमति दिएको र युद्धमा सहभागी हुने सैन्य अभियानलाई अनुमति नदिएको स्पष्ट पारेको थियो ।

    इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रभावलगायत विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । युरोपेली सङ्घले इरानमाथि विभिन्न प्रतिबन्ध लगाउनुका साथै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी सङ्गठनका रूपमा वर्गीकरण गरेको छ ।

    इरानमाथि दबाब बढाउन ईयूको तयारी

    इरानी विश्लेषक इजादीले आगामी वर्षहरूमा इरान र युरोपबीचको सम्बन्ध सुधार हुने सम्भावना कम रहेको बताएका छन् । तर जारी द्वन्द्वले युरोपेली उपभोक्तालाई नै बढी असर गर्ने उनको भनाइ छ । विशेषगरी जाडोयाममा ग्यास तथा अन्य ऊर्जा स्रोतको मूल्य बढ्दा युरोपेली नागरिक थप प्रभावित हुने उनले बताए ।

    यसैबीच इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले कुवेतका सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी आक्रमण भएको र स्काईगार्ड हवाई रक्षा प्रणालीको रडार मर्मतमा संलग्न दुई प्राविधिकको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार ड्रोनलाई आकाशमै रोक्ने क्रममा निस्किएको टुक्रा लागेर उनीहरूको मृत्यु भएको हो ।

    इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत घटनामा इरानको संलग्नता अस्वीकार गरेका छन् । उनले घटनालाई युद्ध भड्काउने उद्देश्यले तयार पारिएको शङ्कास्पद योजना भन्दै इटाली र कुवेतका समकक्षीसँग टेलिफोन गरी समवेदना व्यक्त गरेको बताएका छन् ।

    इरानी सशस्त्र बलका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफजल शेखार्चीले पनि आरोप अस्वीकार गरेका छन् । अमेरिका र इजरायलले इरानलाई लक्षित गर्दै आफ्नो उद्देश्य पूरा गर्न विगतमा पनि यस्ता झुटा अभियान सञ्चालन गरेको उनको आरोप छ ।

    इरानसँग सम्बन्धित सञ्चारमाध्यमले पनि घटनालाई बाह्य शक्तिको गोप्य योजनाका रूपमा व्याख्या गरेका छन् । सुधारवादी अखबार ‘मर्दोम सालारी’ ले यसलाई ‘युद्ध नभएको तर शान्ति पनि कायम नरहेको अवस्था’ मा भएको फल्स फ्ल्याग घटनाका रूपमा प्रस्तुत गरेको छ ।

    सरकारी निकायसँग निकट रहेको ‘जुम्हुरी–ए–इस्लामी’ अखबारले भने अमेरिका र इजरायलका गुप्तचर निकायले इरानमाथि पुनः ठूलो सैन्य कारबाही सुरु गर्ने बहाना खोजिरहेको दाबी गरेको छ । त्यसैले तेहरानले पूर्वसावधानीका नाममा कुनै आक्रमण गर्न नहुने उक्त अखबारको सम्पादकीयमा उल्लेख छ ।

    इटालीले तत्काल सैन्य जवाफ दिने सङ्केत गरेन

    इटालीले आक्रमणमा इरानी मूलका ड्रोन प्रयोग भएको बताएको छ । तर विदेशमन्त्री ताजानीले इरान समर्थित अन्य देशका सशस्त्र समूहले पनि ड्रोन प्रहार गरेको हुन सक्ने सम्भावना खुला राखेका छन् ।

    इटाली सरकारले घटनापछि इरानविरुद्ध सैन्य प्रतिकार, थप प्रतिबन्ध वा अन्य दण्डात्मक कदम चाल्ने घोषणा गरेको छैन ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले भने कुवेत तथा क्षेत्रका अन्य अरब साझेदारमाथि भइरहेका अस्वीकार्य आक्रमण रोक्न इरानमाथि दबाब बढाउनुपर्ने बताएकी छन् ।

    ब्रसेल्सस्थित सेन्टर फर युरोपियन पोलिसी स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता जेम्स मोरानले इरानको खण्डन विश्वसनीय नरहेको टिप्पणी गरेका छन् । उनका अनुसार भोन डर लेयनको अभिव्यक्तिले इरानमाथि थप प्रतिबन्ध लगाउने सम्भावनालाई सङ्केत गर्छ ।

    मोरानले कुवेतको घटनाले इरान र युरोपेली सङ्घबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने भए पनि ईयू वा इटालीले प्रत्यक्ष सैन्य कारबाहीमा सहभागी हुने अपेक्षा नरहेको बताए ।

    उनका अनुसार युरोपको मूल धारणा अमेरिका र इजरायलले सुरु गरेको युद्धको विरोधमा छ । युरोपले उक्त युद्धलाई गैरकानुनी र प्रतिकूल परिणाम निम्त्याउने कदमका रूपमा हेरेको छ । यसले युरोपको ऊर्जा आपूर्तिमा समेत गम्भीर असर पारिरहेको उनको भनाइ छ । –अलजजीरा

    प्रतिक्रिया दिनुहोस्
    images
    images