images
images
  • इनम सापकोटा प्रकरण : संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका सापकोटालाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोजिएको र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । उनले प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापालगायत अन्य व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने काम भइरहेको भए त्यो सामान्य विषय नभएको बताएका छन् ।

    उनले यस्तो गतिविधि विधिको शासनमाथिको गम्भीर प्रहार भएको उल्लेख गरेका छन् । हिरासतमा रहेका इनमले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्नहरू जन्माएको आङ्देम्बेको भनाइ छ । अनुसन्धानका नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको उनले बताएका छन् ।

    आङ्देम्बेले प्रधानमन्त्रीसँग इनम सापकोटा प्रकरणमा सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्र भइरहेको हो भन्ने प्रश्न गरेका छन् । उनले यस्तो अवस्था देखिएमा त्यसले राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र नभई अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि समेत गम्भीर चुनौती खडा गर्ने बताएका छन् ।

    ‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन् । नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौंदेखि लड्दै आएको पार्टी भएको उल्लेख गर्दै उनले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

    आरोपको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको भनाइ छ । लोकतन्त्रमा फरक विचार राख्ने व्यक्तिलाई फसाउने पटकथा नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको बताउँदै आङ्देम्बेले राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार बन्न नहुनेमा जोड दिएका छन् ।

    सरकार क्षणिक सनकमा नभई संविधान र विधिको शासनअनुसार चल्नुपर्ने भन्दै उनले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images