जेरुसेलम- सत्ता जोगाउने विकल्प साँघुरिँदै गएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मुख्य प्रतिद्वन्द्वी गादी आइसेनकोटलाई सत्ता साझेदारीको प्रस्ताव गरेका छन्। नेतान्याहुले आलोपालो प्रधानमन्त्री बन्ने व्यवस्थाअन्तर्गत पहिलो चरणमा आइसेनकोटलाई प्रधानमन्त्री बन्न दिन आफू तयार रहेको बताएका छन्।
शनिबार साँझ सामाजिक सञ्जाल ‘एक्स’मार्फत वक्तव्य जारी गर्दै नेतान्याहुले अहिलेको आवश्यकता राष्ट्रिय एकता भएको बताएका छन्। आफ्नो दल लिकुड संसद्को सबैभन्दा ठूलो दल भएकाले आफूले नै संयुक्त सरकारको नेतृत्व गर्नुपर्ने वा आलोपालो व्यवस्थामा आफू पहिलो प्रधानमन्त्री बन्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले ती सबै कुरा पन्छाएर आइसेनकोटलाई पहिलो कार्यकाल प्रधानमन्त्री बन्न दिन तयार रहेको बताए।
प्रस्तावअनुसार आइसेनकोट प्रधानमन्त्री हुँदा नेतान्याहु वैकल्पिक प्रधानमन्त्रीका रूपमा रहनेछन्। यद्यपि आइसेनकोटको प्रारम्भिक कार्यकाल कति समय रहने भन्नेबारे नेतान्याहुले स्पष्ट पारेका छैनन्।
उनले लिकुड र आइसेनकोटको याशार पार्टीबीच तत्कालै गम्भीर, इमानदार र तीव्र वार्ता सुरु हुनुपर्ने बताएका छन्। साथै दुवै पक्षले समान रूपमा सम्झौता र सहमति गर्न तयार हुनुपर्ने उनको भनाइ छ।
अक्टोबर २७ मा भएको निर्वाचनमा नेतान्याहुको लिकुड सबैभन्दा ठूलो दल बने पनि उनको गठबन्धन सरकार बनाउन आवश्यक बहुमतबाट निकै टाढा रहेको छ। यसैबीच, आइसेनकोटले नेतान्याहुलाई हटाएर नयाँ सरकार गठन गर्ने प्रयास अघि बढाएका छन्।
आइसेनकोटलाई सरकार गठनका लागि डिसेम्बर २० सम्मको समय छ। उनले थप दुई साताको समय माग्न सक्नेछन्। तर, उनले आगामी साता नै नयाँ सरकार गठनसम्बन्धी प्रस्ताव संसद्मा मतदानका लागि लैजाने प्रतिबद्धता जनाएका छन्।
आइसेनकोटले शुक्रबार जारी गरेको वक्तव्यमा राष्ट्रिय एकता पद वा प्रधानमन्त्री को पहिले बन्ने भन्ने विषय नभई नीति र मूल्यमा आधारित हुनुपर्ने बताएका थिए। उनले लिकुडले दुई सातासम्म कुनै ठोस प्रस्ताव अघि नल्याएको आरोप लगाउँदै नेतान्याहु पक्ष वास्तवमै गम्भीर वार्ताका लागि तयार छ कि केवल समय कटाउन खोजिरहेको हो भन्ने प्रश्न गरेका थिए।
शनिबार नेतान्याहुको प्रस्ताव सार्वजनिक भएपछि आइसेनकोटले नेतान्याहु र उनको टोलीलाई तत्कालै वार्तामा आउन आह्वान गरे। उनले आधारभूत नीति र कार्यक्रमबारे गम्भीर तथा तीव्र वार्ता गर्न आफू तयार रहेको बताए। तर, एक साताअघि नै आफूले गोप्य माध्यममार्फत महत्वपूर्ण सम्झौताका प्रस्तावसहित विस्तृत खाका पठाइसकेको र त्यसको नेतान्याहुले अहिलेसम्म जवाफ नदिएको उनको दाबी छ।
पछि लिकुडले नेतान्याहु र आइसेनकोटबीच फोनवार्ता भएको र आइतबार बिहान भेटवार्ता गर्ने सहमति भएको जनाएको छ।
आइसेनकोटले यसअघि नै दक्षिणपन्थी यिस्राएल बेइतेनु र वामपन्थी डेमोक्रेट्स पार्टीसँग गठबन्धन सम्झौता गरिसकेका छन्। उनले लामो समयदेखि नेतान्याहुको समर्थन गर्दै आएको अति–रुढीवादी पार्टी युनाइटेड टोरा जुडाइज्मसँग पनि गठबन्धनका लागि वार्ता गरिरहेका छन्।
तर आइसेनकोटका केही राजनीतिक सहयोगीले नेतान्याहुको पछिल्लो प्रस्तावलाई समय किन्न र आफूविरुद्ध भइरहेको सरकार गठनको प्रयास रोक्न गरिएको चालको संज्ञा दिएका छन्।
डेमोक्रेट्सका नेता याइर गोलानले नेतान्याहुको प्रस्तावलाई अस्वीकार गर्दै निर्वाचनको जनादेशको सम्मान गर्दै परिवर्तनको सरकार गठन गर्नुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री याइर लापिडले पनि नेतान्याहुको प्रस्तावलाई ‘ठगीपूर्ण चाल’ भन्दै आइसेनकोटको नेतृत्वमा सरकार गठन गरेपछि मात्रै संयुक्त सरकारबारे वार्ता गर्नुपर्ने धारणा राखेका छन्।
तर अर्का पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले भने नेतान्याहुको प्रस्तावको स्वागत गरेका छन्। उनले यो सही निर्णय भएको भन्दै नेतान्याहुविनाको सरकार गठनसम्बन्धी छलफल अब रोक्नुपर्ने बताएका छन्। नेतान्याहुका निकट स्रोतका अनुसार बेनेटले नेतान्याहु र उनका विश्वासपात्र रोन डर्मरसँग छुट्टाछुट्टै छलफल गरेपछि प्रस्ताव तयार पार्ने प्रक्रियामा पर्दापछाडि भूमिका खेलेका थिए।
बेनेटको पछिल्लो धारणा केही साताअघिको उनको अभिव्यक्तिभन्दा निकै फरक देखिएको छ। अक्टोबरको सुरुवातमा इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले नेतान्याहुलाई इजरायललाई ध्वस्त पार्ने र देशलाई गृहयुद्ध तथा ठूलो संकटतर्फ लैजाने व्यक्ति भन्दै कडा आलोचना गरेका थिए।
आइसेनकोटका लागि नेतान्याहुलाई विस्थापित गर्ने सबैभन्दा सहज बाटोमा अरब दलहरूको समर्थन महत्वपूर्ण देखिएको छ। शनिबार इजरायलको च्यानल १२ सँगको अन्तर्वार्तामा राम पार्टीका अरब नेता मन्सुर अब्बासले अक्टोबर ७, २०२३ का घटनासँग सम्बन्धित असफलताबारे राज्यस्तरीय छानबिन आयोग गठन गर्ने प्रस्तावित कानुनबारे धारणा राखेका थिए।
अब्बासले उक्त विधेयकमा हमासलाई स्पष्ट रूपमा आतंकवादी संगठनका रूपमा उल्लेख गरिएको भन्दै ‘हमास आतंकवादी संगठन हो’ भन्ने धारणा दोहोर्याएका छन्। हमासलाई आतंकवादी संगठन घोषणा गर्नु र त्यसलाई समाप्त गर्ने प्रतिबद्धता जनाउनु आइसेनकोटले सरकारमा सहभागी हुन अघि सारेका सर्तमध्ये एक हो। अब्बासको पछिल्लो अभिव्यक्तिलाई आइसेनकोटसँग सहकार्यतर्फ अघि बढेको संकेतका रूपमा हेरिएको छ।
तर नेतान्याहुको सत्ता साझेदारी प्रस्तावप्रति शंका पनि उत्तिकै छ। यसको मुख्य कारण सन् २०२० को सत्ता साझेदारी सम्झौता हो। त्यतिबेला नेतान्याहुले बेन्नी गान्त्जसँग संयुक्त सरकार बनाएका थिए र आलोपालो व्यवस्थाअनुसार नेतान्याहु पहिलो चरणमा प्रधानमन्त्री बनेका थिए।
तर कार्यकाल सकिएपछि गान्त्जलाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने समयमा नेतान्याहुले राज्यको बजेट पारित हुन नदिएको आरोप लागेको थियो। त्यससँगै संसद् स्वतः विघटन भएर पुनः निर्वाचनको अवस्था बनेपछि सत्ता साझेदारी सरकार गान्त्ज प्रधानमन्त्री बन्नुअघि नै समाप्त भएको थियो।
इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक रस्साकस्सी जारी रहँदा प्यालेस्टिनी क्षेत्रमा भने निर्वाचनसम्बन्धी प्रक्रिया पनि अन्योलमा परेको छ। यसैबीच बेल्जियम, फ्रान्स, नर्वे, पोल्यान्ड, लक्जेम्बर्ग, बेलायत, अस्ट्रेलिया र क्यानडाका विदेशमन्त्रीहरूले शनिबार प्यालेस्टिनी प्राधिकरणलाई सन् २०२७ को पहिलो त्रैमासिकमा निर्वाचन गराउन आग्रह गरेका छन्।
प्यालेस्टिनी राष्ट्रपतिले यसअघि अक्टोबरमा निर्वाचन सेप्टेम्बर २०२७ सम्मका लागि स्थगित गरेका थिए।























