images
images
  • एक्लो रहन पाउँदैन एक्लेडाँडा

    तनहुँ- बुद्ध जयन्तीका दिन मात्रै भरिभराउ हुने तनहुँको एक्लेडाँडामा हिजोआज आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा त्यही सहरका व्यस्त मान्छेहरु साँझबिहान टहलिन पुग्छन् । स्वस्थ बन्न पैदलयात्रा गरेर उकालो चढ्छन् ।

    जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ एक्लेपाखा सामुदायिक वनमा पर्ने एक्लोडाँडा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यो वर्ष कोरोनाभाइरस संक्रमण रोक्न गरिएको निषेधाज्ञाको बेला सामाजिक सञ्जालमा एक्लेडाँडो भाइरल बन्यो । घरमै थुनिएर बसेकाले घुम्नलाई नजिकको गन्तव्य चहार्न थालेपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् ।

    स्थानीय टीका अधिकारीकाअनुसार शनिबार र चाडपर्वमा दैनिक करिब तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लन्छन् । ‘अरु दिनमा पनि बिहान बेलुका भीड नै हुन्छ’, उनी भन्छन्, ‘डाँडामा केही संरचना छैन र त पर्यटक बढेको बढ्यै छन् । प्रतीक्षालय, शौचालय, खानेपानीको व्यवस्थापन गर्न सकेमा अझै बढ्छन् होला ।’

    अधिकारीकाअनुसार घाँसदाउरा गर्नबाहेक यो डाँडामा स्थानीयसमेत त्यतिसारो जाँदैनथे । ‘हामीले घाँसदाउरा गर्ने र गाईबाख्रा चराउने ठाउँ थियो । अहिले घुम्ने ठाउँ बनेको छ’, उनले सुनाए । नागबेली चालमा सुसल्दै बग्ने सेती नदी र सुरौदी खोला सिरानको एक्लेडाँडा गर्मीयाममा गर्मी छल्नलाई उपयुक्त गन्तव्य हुने अधिकारीको भनाइ छ ।

    पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धूपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापतका टाँगिएको छ । जसले आगन्तुक पर्यटकलाई फहराउँदै स्वागत गर्दछ । फहराइरहेका ती झिलीमिली ध्वजापतका पृष्ठभूमिमा पारेर तस्बिर र भिडियो कैद गर्न धेरैजसो आन्तरिक पर्यटकको पाइला डाँडोतिर लम्कन्छ ।

    डाँडो भाइरल हुनु अगाडि नै वडाको नजर परिसकेको थियो । पर्यटकीय सम्भावना देखेर डाँडाको विकास गर्न डीपीआर बनाउँदै गर्दा जिल्लाका अग्ला डाँडातिर आन्तरिक पर्यटक उक्लने ट्रेन्ड बढ्यो । ‘त्यो ट्रेन्डले जसरी नि हामीले यो डाँडाको विकास गर्नुपर्छ भनेर हौस्यायो’, वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, ‘१० लाख रुपैयाँको बजेट विनियोजन भएको थियो । त्यही रकमले दुई सय मिटर रेलिङसहितको पदमार्ग बनायौँ । त्यसपछि त पर्यटक आउन सुरु भयो ।’

    पर्यटक बढ्न थालेपछि फेरि गत वर्ष नै प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच लाख रुपैयाँ बजेटले ढुंगाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको उनले बताए । वडाध्यक्ष रेग्मीकाअनुसार यो पदमार्गलाई दुई किलोमिटर बनाएर पवित्र तीर्थस्थल ढोरवाराही मन्दिरसंग जोड्ने लक्ष्य छ ।

    एक्लेडाँडामा पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन १२ करोड ५३ लाख ३४ हजार चार सय एक रुपैयाँको डीपीआर तयार गरिएको छ । डीपीआरअनुसार दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति निर्माण गरिनेछ । ‘बौद्ध धर्मावलम्बीको आस्था भएको हुनाले यहाँ बुद्धको मूर्ति निर्माण हुनेछ’, वडाध्यक्ष रेग्मीले भने ।

    यस्तै, पृथ्वीराजमार्गमा लेखनाथदेखि म्याग्देबाट देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गरिने उनले बताए । उक्त मूर्ति एक सय आठ फिट अग्लो हुनेछ । एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजनासमेत समेटिएको छ । जिपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्नेछ, किनकि एक्लेडाँडाको छङ्गाछुर भीर पार गरेर सुरौदी खोला, सेती नदीमाथि–माथि हुँदै च्यवनधाममा जिपलाइन जोडिनेछ ।

    करोडौँको योजना बनाइए पनि एक्लेडाँडाको विकासका लागि बजेट विनियोजनमा भने कन्जुस्याइँ गरिएको छ । चालू आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले एक्लेडाँडाको पर्यटन विकासका लागि १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । प्रदेश र संघीय सरकारसँग बजेटको माग गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images