काठमाडौं– नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा पुगेका छन् ।
उनको यो भ्रमण करिब २५ घण्टाको भए पनि दुई देशबीचको सम्बन्ध र आगामी सहकार्यका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ ।
‘जेनजी आन्दोलन’पछि यसै वर्ष सत्तामा आएका बालेन शाह आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका क्रममा भारत पुगेका हुन् ।
यसअघि उनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकाको न्युयोर्क भ्रमण गरेका थिए ।
विशेषज्ञहरूका अनुसार नेपालमा राजनीतिक परिवर्तनपछि उदाएका नयाँ नेतृत्व र भारतबीच आपसी समझदारी विकास गर्ने यो महत्त्वपूर्ण अवसर हो ।
बालेन शाहको भारत भ्रमणका क्रममा द्विपक्षीय व्यापार, जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, ऊर्जा तथा सीमा विवादलगायत विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ ।
बालेनको भारत भ्रमण किन महत्त्वपूर्ण ?
प्रधानमन्त्री बालेन शाह भारत पुगेपछि भारतीय विदेश राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका थिए ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता हुनेछ ।
त्यसपछि केही समझदारी तथा सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
नेपाल र भारतबीच करिब १ हजार ७५० किलोमिटर लामो सीमा जोडिएको छ ।
नेपालको सीमा भारतका उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, सिक्किम र पश्चिम बंगाल राज्यसँग जोडिन्छ ।
अधिकांश क्षेत्रमा खुला सीमाको व्यवस्था छ ।
त्यसैले दुई देशबीचको सम्बन्ध राजनीतिक तथा कूटनीतिक विषयमा मात्र सीमित नभई आर्थिक, सामाजिक र जनस्तरको सम्बन्धसँग समेत जोडिएको छ ।
नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रायका अनुसार यो भ्रमण भारतका लागि पनि नयाँ नेतृत्वलाई बुझ्ने अवसर हो ।
उनले भनेका छन्, ‘यस भ्रमणमा भारतका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नयाँ नेतृत्वलाई बुझ्नु हो । उनीहरूसँग भारतको त्यति धेरै परिचय छैन । यद्यपि पछिल्लो सात–आठ महिनामा विभिन्न भ्रमण भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत आए । त्यसपछि नेपालका विदेशमन्त्री शिशिर खनाल पनि भारत आए । त्यसैले संवाद जारी छ । दुई देशका प्रधानमन्त्रीबीचको यो पहिलो भेटवार्ता भएकाले यसको विशेष महत्त्व छ ।’
बालेन शाह प्रधानमन्त्री बनेपछि सुरुमा विदेशी नेताहरूसँगको भेटघाट र विदेश भ्रमणलाई प्राथमिकतामा राखेका थिएनन् । तर पछिल्लो समय बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिले नेपालका लागि भारतसँगको सम्बन्ध थप महत्त्वपूर्ण बनाएको विश्लेषण गरिएको छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्धपछि इन्धनको मूल्यमा आएको वृद्धि, रासायनिक मलको उपलब्धतामा देखिएको समस्या तथा भोटेकोशीमा आएको आकस्मिक बाढीले नेपाललाई थप चुनौतीमा पारेका छन् ।
भारतका लागि नेपालका पूर्वराजदूत शंकर शर्माका अनुसार प्रधानमन्त्री शाहले विदेश भ्रमण र विदेशी नेताहरूसँगको संवादलाई प्राथमिकता नदिएको अवस्था विस्तारै परिवर्तन भएको छ ।
उनका अनुसार नेपालभित्रै पनि अन्य मुलुकसँगको सम्बन्ध आवश्यक रहेको र विशेषगरी भारतसँग बलियो सम्बन्ध कायम गर्नुपर्ने विषयमा साझा धारणा विकसित हुँदै गएको थियो ।
दुई देशका राजदूत तथा नेताहरूबीचको भेटघाटले आपसी सन्देश आदानप्रदान गर्न सहज हुने भएकाले यो भ्रमण महत्त्वपूर्ण बनेको हो ।
दुई अर्ब डलरको आर्थिक सहायता र हवाई मार्ग नेपालको प्राथमिकतामा
नेपालले भारतसँग उठाउन खोजेका प्रमुख विषयमध्ये आर्थिक सहायता र हवाई प्रवेश मार्ग महत्त्वपूर्ण छन् ।
‘काठमाडौं पोस्ट’को समाचारअनुसार नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा ऋण सहायता प्याकेज माग गरेको छ ।
साथै भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि थप एउटा हवाई प्रवेश मार्ग उपलब्ध गराउन पनि आग्रह गरेको छ ।
यी विषयमा दुवै देशका अधिकारीबीच छलफल अन्तिम चरणमा पुगेको समाचारमा उल्लेख छ ।
आर्थिक सहायता प्रस्तावप्रति भारत सकारात्मक देखिए पनि थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भने सहमति जुट्न बाँकी छ ।
नेपालका पूर्वराजदूत शंकर शर्माका अनुसार यसअघि पनि भारतले करिब ८० करोड अमेरिकी डलर बराबरको ऋण सुविधा उपलब्ध गराएको थियो ।
तर उक्त सुविधाको पूर्ण उपयोग हुन सकेको थिएन ।
नेपालले अहिले उक्त सुविधालाई विस्तार गर्दै दुई अर्ब डलर बराबरको नयाँ वित्तीय सहायता प्याकेज माग गरेको हो ।
यसमा अनुदान र ऋण दुवै समावेश हुनेछन् ।
भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणमा समेत यस्तो सहयोग उपयोगी हुन सक्ने उनको भनाइ छ।
यद्यपि प्रस्तावित सहायता बाढीपछिको पुनर्निर्माणमा मात्र सीमित नभई नेपाल–भारत सहकार्यमा सञ्चालन हुने अन्य विकास परियोजनासँग पनि सम्बन्धित छ ।
पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि हवाई मार्गको आवश्यकता
नेपालले भारतसँग माग गरिरहेको अर्को महत्त्वपूर्ण विषय हवाई क्षेत्रको पहुँच हो ।
नेपालको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ ।
यसबाहेक विदेशी पर्यटक आकर्षित गर्ने र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने उद्देश्यले भैरहवा र पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएका छन् ।
तर यी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग आवश्यक पर्ने भएकाले नेपालले थप हवाई प्रवेश मार्गको माग गर्दै आएको छ ।
हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय विमानले दक्षिण(मध्य नेपालको सिमरा प्रवेश मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।
विमानको गन्तव्य देशको पश्चिमी भागमा भए पनि यही मार्ग प्रयोग गर्नुपर्दा उडान दूरी बढ्ने, समय लाग्ने र सञ्चालन खर्चसमेत वृद्धि हुने समस्या छ ।
भारतका पूर्वराजदूत रञ्जित रायका अनुसार भैरहवा र पोखरा विमानस्थलको व्यावसायिक सफलता सुनिश्चित गर्न भारतको सहयोग आवश्यक छ ।
उनका अनुसार भैरहवा विमानस्थल एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा निर्माण भएको हो भने यसको निर्माणमा चिनियाँ ठेकेदार संलग्न थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले लगानी गरेको छ र यसको निर्माण पनि चिनियाँ कम्पनीले गरेको हो ।
यी दुवै विमानस्थललाई आर्थिक रूपमा टिकाउ बनाउन अन्तर्राष्ट्रिय उडान आवश्यक छ ।
तर विमानस्थलबाट उड्ने वा अवतरण गर्ने विमानले भारतीय हवाई क्षेत्र प्रयोग गर्नुपर्ने भएकाले भारतको अनुमति महत्त्वपूर्ण हुन्छ ।
रायका अनुसार हवाई मार्ग उपलब्ध गराउने विषय प्राविधिक र सुरक्षा संवेदनशीलतासँग जोडिएको छ ।
नेपालले ऋण लिएर निर्माण गरेका विमानस्थल नियमित रूपमा सञ्चालन हुन नसके ती आर्थिक भार बन्न सक्छन् ।
त्यसैले यसको समाधानका लागि भारतसँग सहकार्य आवश्यक छ ।
उनले भविष्यमा यस्ता ठूला पूर्वाधार आयोजना अघि बढाउँदा सम्बन्धित छिमेकी मुलुकसँग पूर्वसल्लाह र समन्वय गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका छन् ।
सीमा विवाद ः बालेनले समाधानको पहल गर्न सक्लान् ?
नेपाल–भारत सम्बन्धमा लामो समयदेखि विवादित रहँदै आएको सीमा समस्या पनि प्रधानमन्त्री शाहको भारत भ्रमणको महत्त्वपूर्ण एजेन्डा हुन सक्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री बनेपछि बालेन शाहले दिएको एउटा अभिव्यक्ति निकै चर्चामा आएको थियो ।
उनले नेपाल र भारत दुवैले एकअर्काको भूमिमा अतिक्रमण गरेको बताएका थिए ।
उक्त अभिव्यक्तिपछि नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ कुनै क्षेत्रीय दाबीको सन्दर्भमा नभई नेपाल–भारत सीमामा भएको अतिक्रमण र जमिनको प्रयोगसँग सम्बन्धित रहेको स्पष्टीकरण दिएको थियो ।
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर लामो समयदेखि विवाद छ ।
सन् २०१९ मा भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतीय भू–भागका रूपमा समेटिएको थियो ।
त्यसपछि नेपालले संविधान संशोधन गर्दै आफ्नो राजनीतिक नक्सा अद्यावधिक गरेको थियो ।
नेपालको संशोधित नक्सामा यी तीन क्षेत्रलाई नेपाली भू–भागका रूपमा समेटिएको छ ।
भारतले भने नेपालको उक्त कदमलाई अस्वीकार्य बताउँदै आएको छ ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणसँगै सीमा विवाद समाधानका लागि नयाँ संवाद सुरु हुने अपेक्षा गरिएको छ ।
नेपालका वरिष्ठ राजनीतिक विश्लेषक कनकमणि दीक्षितले पनि प्रधानमन्त्री शाहले भारतसँगको भेटवार्तामा सीमा विवादको विषय उठाउनुपर्ने बताएका छन् ।
उनका अनुसार तत्कालै समस्या समाधान नहुन सक्छ, तर समाधानको दिशामा वार्ता सुरु हुनु आवश्यक छ ।
नेपालका पूर्वराजदूत शंकर शर्माका अनुसार सीमासम्बन्धी विषयमा काम गर्न एउटा समिति सक्रिय छ ।
यसको उद्देश्य तीन वर्षभित्र सीमा क्षेत्रको प्रक्रिया पूरा गर्नु हो ।
तर सुस्ता, लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग सम्बन्धित विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत वार्ता गर्ने सहमति भए पनि त्यसपछि बैठक हुन सकेको छैन ।
उनका अनुसार प्रधानमन्त्रीस्तरको वार्तामा सीमा विवादको विषय उठ्न सक्छ ।
तर संयुक्त वक्तव्यमा यसबारे स्पष्ट उल्लेख हुने सम्भावना भने कम छ ।
यद्यपि दुई प्रधानमन्त्रीबीच यस विषयमा छलफल हुनु र त्यसबाट सकारात्मक संकेत आउनु महत्त्वपूर्ण हुनेछ ।
जलवायु परिवर्तन र हिमालय संरक्षणमा साझा पहल
भारत भ्रमणका क्रममा जलवायु परिवर्तनको विषय पनि महत्त्वपूर्ण एजेन्डा बन्ने देखिएको छ ।
प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय क्षेत्रमा बढ्दो जलवायु संकट समाधान गर्न साझा संयन्त्र निर्माणको प्रस्ताव गरेका थिए ।
नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रायका अनुसार जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा तीव्र रूपमा देखिन थालेको छ ।
हिमालयलाई विश्वको ‘तेस्रो ध्रुव’ र ‘पानीको टावर’ का रूपमा चिनिन्छ ।
यस क्षेत्रबाट उपलब्ध हुने पानीमा करिब दुई अर्ब मानिस निर्भर छन् ।
हिमनदी पग्लिने, पहाडका चट्टान खस्ने र बाढीपहिरोका घटना बढ्ने क्रमले नेपालमा मात्र नभई भारत र चीनमा समेत गम्भीर असर पार्न सक्छ ।
भोटेकोशीमा आएको बाढीले पनि जलवायु परिवर्तनको जोखिमलाई थप स्पष्ट पारेको उनको भनाइ छ ।
जलवायु संकट कुनै एक देशको मात्र समस्या नभएकाले यसको समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उनी बताउँछन् ।
उनका अनुसार जलवायु परिवर्तन अब बहुपक्षीय मात्र नभई नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा समेत प्राथमिकताका साथ उठाउनुपर्ने विषय बनेको छ ।
बालेनले कति उपलब्धि हासिल गर्न सक्लान् ?
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण समयका हिसाबले छोटो भए पनि नेपालका लागि आर्थिक सहायता, हवाई मार्ग, सीमा विवाद, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषय उठाउने अवसर बनेको छ ।
नेपालले भारतसँग माग गरेका सबै विषयमा तत्काल सहमति जुट्ने सम्भावना भने छैन ।
विशेषगरी हवाई प्रवेश मार्ग र सीमा विवाद प्राविधिक, रणनीतिक तथा कूटनीतिक संवेदनशीलतासँग जोडिएका छन् ।
तर दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद हुनु, नयाँ राजनीतिक नेतृत्वबीच आपसी विश्वासको वातावरण निर्माण हुनु र लामो समयदेखि रोकिएका विषयमा वार्ताको ढोका खुल्नु पनि यस भ्रमणका महत्त्वपूर्ण उपलब्धि हुन सक्छन् ।
अन्ततः बालेन शाहको भारत भ्रमणको सफलता भेटघाट र औपचारिक घोषणामा मात्र होइन, नेपालले उठाएका विषयमा ठोस सहमति, कार्यान्वयनयोग्य निर्णय र दीर्घकालीन परिणाम हासिल गर्न सक्ने क्षमतामा निर्भर रहनेछ । –बीबीसी हिन्दी






















