images
images
  • जेफ्रिज नयाँ इतिहास कोर्दै सभामुख बन्ने पक्का

    काठमाडौं – वासिङ्टन,हाकिम जेफ्रिज अमेरिकी प्रतिनिधिसभाको सभामुख पदका लागि औपचारिक रूपमा मनोनीत हुने पहिलो अश्वेत सांसद बन्ने पक्का भएको छ । यो घटनालाई अमेरिकाको राजनीतिक इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । बुधवार बन्द कोठाभित्र भएको मतदानमा ५६ वर्षीय न्युयोर्कका सांसद जेफ्रिजले सभामुख पदका लागि आफ्नो पार्टीको मनोनयन जितेका हुन् । मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले ठुलो सफलता हासिल गर्दै अमेरिकी संसद्का दुवै सदनमा पुनः नियन्त्रण कायम गरेको केही सातापछि दलले आफ्नो तर्फबाट सभामुखको टुङ्गो लगाएको हो ।

    मतदान सकिएपछि जेफ्रिजले सामाजिक सञ्जालमार्फत समर्थन गर्ने पार्टीका सहकर्मीहरूलाई धन्यवाद दिए । ‘हामी मिलेर साहसी परिवर्तन ल्याउनेछौँ र अमेरिकी जनताको जीवनमा ठुलो परिवर्तन गर्नेछौँ,’ उनले एक्समा लेखेका छन् । डेमोक्रेटिक पार्टीभित्रै उनको नेतृत्वलाई लिएर प्रगतिशील धारका सांसदहरूको असन्तुष्टि बढिरहेका बेला जेफ्रिजले बुधवार पार्टीका सदस्यहरूलाई आफ्नो पक्षमा वा विपक्षमा स्पष्ट रूपमा मतदान गर्न लगाउने योजना बनाएका थिए । यसै महिना निर्वाचित भएका केही सांसदले जेफ्रिजलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे स्पष्ट धारणा दिएका थिएनन् । उनीहरूमध्ये केहीले चुनावी अभियानका क्रममा प्रतिबद्धता जनाएका महत्त्वाकाङ्क्षी तथा जनमुखी नीतिलाई समर्थन गर्ने नेतृत्व चाहेको बताएका थिए ।

    जेफ्रिजलाई समर्थन गर्न आनाकानी गर्ने प्रमुख सांसदमध्ये एक ओहायोका नवनिर्वाचित सांसद डन लियोनार्ड थिए । उनले केही प्रगतिशील प्राथमिकतामा प्रतिबद्धता नजनाएसम्म जेफ्रिजलाई समर्थन नगर्ने बताएका थिए । ती प्राथमिकतामा इजरायललाई दिइँदै आएको अमेरिकी सैन्य सहायता रोक्ने र अमेरिकी सर्वोच्च अदालतको सिटिजन्स युनाइटेड मुद्दाले स्थापित गरेको चुनावी चन्दा तथा खर्चसम्बन्धी व्यवस्थामा सुधार गर्ने विषय थिए ।

    ‘सभामुख जेफ्रिजले गाजामा इजरायलले गरिरहेको नरसंहारविरुद्ध लेही कानुनजस्ता हाम्रा देशका कानुन लागू गर्ने प्रतिबद्धता जनाउँदैनन् र यस सङ्कटको मूल कारण सिटिजन्स युनाइटेडलाई सम्बोधन गर्न तयार हुँदैनन् भने उनले मेरो मत पाउने छैनन्,’ ओहायोका डेमोक्रेटिक सांसदले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भने । इजरायलसम्बन्धी उनको विगतको धारणा र अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटी ९एआईप्याक० जस्ता इजरायल समर्थक लबिङ समूहसँगको सम्बन्धलाई लिएर पनि जेफ्रिजले डेमोक्रेटिक पार्टीभित्रै आलोचना खेप्दै आएका छन् । मंगलबार द एट्लान्टिक पत्रिकासँगको अन्तर्वार्तामा उनले यस आलोचनाबारे प्रतिक्रिया दिँदै मध्यपूर्वमा ‘ठुलो परिवर्तन’ र दुई राज्य समाधानको पक्षमा आफू रहेको बताएका थिए ।

    बुधवारको मतदानमा केही सांसदको विरोधका बाबजुद जेफ्रिजले प्रतिनिधिसभाको डेमोक्रेटिक ककसबाट व्यापक समर्थन पाए । उनको पक्षमा २५१ सांसदले मतदान गर्दा ११ जनाले विपक्षमा मत दिएका थिए ।
    विरोधमा मतदान गर्ने सांसदहरूले जेफ्रिजबाट ‘सबैका लागि मेडिकेयर, आप्रवासन तथा भन्सार प्रवर्तन निकाय ९आईसीई० को दमन रोक्ने, राजनीतिबाट पैसाको प्रभाव हटाउने र गाजामा भइरहेको नरसंहार अन्त्य गर्ने’ जस्ता नीतिमा प्रतिबद्धता नपाएको भन्दै संयुक्त वक्तव्य जारी गरेका थिए ।

    ‘हामीले महत्त्वपूर्ण प्रगति देखेका छौ । तर आगामी संसद्मा हाम्रो पार्टीले लिने दिशा जनताले नेतृत्वबाट गरेको अपेक्षाअनुरूप होस् भन्ने सुनिश्चित गर्न अझै काम गर्न बाँकी छ,’ नवनिर्वाचित सांसदहरूले वक्तव्यमा लेखेका छन् । ‘यस विषयमा छलफल जारी छ। त्यसैले आज ककसमा हामीले विपक्षमा मतदान गर्‍यौँ ।’

    टेक्ससका अर्का नवनिर्वाचित सांसद फ्रेडरिक हेन्स पनि जेफ्रिजको मनोनयनविरुद्ध जारी संयुक्त वक्तव्यमा समावेश थिए । उनले पछि छुट्टै वक्तव्य जारी गर्दै बिरामी भएका कारण बुधवारको मतदानमा सहभागी हुन नसकेको स्पष्ट पारे । यद्यपि अधिकांश डेमोक्रेटिक सांसदले जेफ्रिजको मनोनयनको स्वागत गरेका छन् । यससँगै उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षमा उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वीमध्ये एक बन्ने बाटोमा अघि बढेका छन् ।

    प्रतिनिधिसभाको सभामुखका रूपमा लगातार नभई दुई फरक कार्यकाल गरी आठ वर्ष सेवा गरेकी निवर्तमान सांसद न्यान्सी पेलोसीले पनि यस ऐतिहासिक घटनाको स्वागत गरेकी छन् । अमेरिकाको पहिलो महिला सभामुख बनेकी पेलोसीले जेफ्रिजको हात समातेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन्, ‘सभामुखका रूपमा मनोनीत हाकिम जेफ्रिजलाई बधाई १’ मतदान हुनुअघि जेफ्रिजले सामाजिक सञ्जालमा बाइबलको कोरिन्थी पुस्तकको एउटा अंश पनि पोस्ट गरेका थिए । त्यसमा लेखिएको थियो, ‘किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखेको आधारमा होइन ।’

    सन् २०२३ मा तत्कालीन अमेरिकी सभामुख केभिन म्याकार्थीलाई आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले पदबाट हटाएपछि उनको स्थानमा जेफ्रिजलाई डेमोक्रेटिक पार्टीले आफ्नो उम्मेदवारका रूपमा अघि सारेको थियो । तर त्यति बेला प्रतिनिधिसभाका सभामुखमा माइक जोन्सन निर्वाचित भएका थिए ।

    बुधवारको मतदानले भने जेफ्रिजलाई आफ्नै पार्टीका सांसदहरूबाट सभामुख पदका लागि औपचारिक मनोनयन दिलाएको छ । आगामी जनवरी ३ मा नयाँ संसद् गठन भएपछि र पूर्ण प्रतिनिधिसभामा सभामुख चयनका लागि मतदान भएपछि जेफ्रिजले माइक जोन्सनको स्थान लिने अपेक्षा गरिएको छ । नयाँ संसद्मा डेमोक्रेटिक पार्टीको बहुमत रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images