images
images
  • भोटेकोशी बाढीका मृतकका परिवारलाई सामाजिक सुरक्षा कोषले पेन्सन दिने

    काठमाडौं – रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएका श्रमिक तथा कर्मचारीका आश्रित परिवारलाई सामाजिक सुरक्षा कोषले मासिक पेन्सन दिने प्रक्रिया सुरु गरेको छ । कोषले प्रभावित क्षेत्रका १७४ जना योगदानकर्ताका परिवारबाट प्राप्त दाबीमाथि परीक्षण गरिरहेको छ ।

    कोषका अनुसार पेन्सन पाउन योग्य भए वा नभएको यकिन गर्न निवेदन र योगदानको विवरण परीक्षण भइरहेको छ । बाढीबाट प्रभावित परिवारलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत कानुनले व्यवस्था गरेबमोजिम सुविधा उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो ।

    बाढीपछि प्रभावित क्षेत्रका योगदानकर्ताको विवरण सङ्कलन गर्न कोषले भदौमै निर्देशक उत्तमराज नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रभावित क्षेत्रबाट विवरण सङ्कलन गर्नुका साथै पेन्सन दाबीसहित प्राप्त निवेदनको परीक्षण गरिरहेको छ ।

    कार्यदलका संयोजक नेपालका अनुसार हिमबाढी प्रभावित क्षेत्रका विभिन्न जलविद्युत् आयोजना, बैङ्क तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत सुरक्षाकर्मीका परिवारबाट पेन्सनको माग गर्दै निवेदन प्राप्त भएका छन्। कोषमा नियमित योगदान गरेका कर्मचारी तथा श्रमिकका परिवारलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको उनले बताए ।

    कोषले बाढी आउनुअघिसम्म सम्बन्धित योगदानकर्ताले नियमित रूपमा योगदान गरेको वा नगरेको विषयलाई मुख्य आधार बनाएर परीक्षण गरिरहेको छ। सामाजिक सुरक्षा कोषको व्यवस्थाअनुसार रोजगारदातामार्फत सूचीकृत भई योगदान सुरु गरेको मितिदेखि मृत्यु हुँदासम्म नियमित योगदान गरेको हुनुपर्ने व्यवस्था छ ।

    आवेदन नपरेका प्रभावित परिवारको विवरणसमेत कोषले सङ्कलन गरिरहेको छ । यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको निर्देशक नेपालले जानकारी दिए ।

    कोषका अनुसार रसुवामा आएको बाढीबाट १५ स्थानीय तहमा रहेका सूचीकृत ३९ रोजगारदाता प्रभावित भएका छन् । बाढीमा ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका पाँच सयभन्दा बढी कर्मचारी र श्रमिक रहे पनि सामाजिक सुरक्षा कोषको योजनामा नियमित योगदान गर्ने योगदानकर्ता १७४ जना मात्रै रहेको पुष्टि भएको छ ।

    भोटेकोशीको हिमबाढीमा जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर तथा अनुभवी प्राविधिक जनशक्तिसमेत ठूलो सङ्ख्यामा प्रभावित भएका थिए । उनीहरूको मृत्यु भएपछि आश्रित परिवारको जीविकोपार्जनमा परेको आर्थिक भार कम गर्न कोषको पेन्सन सुविधाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोषको योजनाअनुसार इन्जिनियर तथा अनुभवी प्राविधिक जनशक्तिका आश्रित परिवारले मासिक न्यूनतम ५० हजार रुपैयाँसम्म निवृत्तिभरण पाउन सक्नेछन् ।

    सामाजिक सुरक्षा कोषको व्यवस्था अनुसार योगदान गरिरहेकै अवस्थामा कुनै योगदानकर्ताको मृत्यु भएमा निजका आश्रित परिवारले मृतकको मासिक आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्छन् । त्यस्तै, मृतकका सन्ततिले २१ वर्ष उमेर पूरा नगर्दासम्म शैक्षिक वृत्तिबापत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा पाउने व्यवस्था छ । यस्तो सुविधा बढीमा दुई सन्ततिले दामासाहीका आधारमा प्राप्त गर्न सक्छन् ।

    योगदानकर्ताको मृत्यु हुँदा निज अविवाहित भएमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर निवृत्तिभरणका रूपमा पाउने व्यवस्था छ । यसबाहेक मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँसमेत प्राप्त गर्नेछन् ।

    कोषका अनुसार हालसम्म विभिन्न रोग तथा दुर्घटनाका कारण योगदानकर्ताको मृत्यु भएपछि एक हजारभन्दा बढी परिवारले आजीवन निवृत्तिभरण सुविधा पाइसकेका छन् । आश्रित परिवार योजनाअन्तर्गत अहिलेसम्म ४० करोड ५८ लाख ५२ हजार रुपैयाँ निवृत्तिभरणबापत वितरण भइसकेको छ ।

    कोषले योगदान गरिरहेकै अवस्थामा विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका आश्रित परिवारलाई मासिक न्यूनतम चार हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म निवृत्तिभरण उपलब्ध गराउँदै आएको छ ।

    भोटेकोशीको बाढीले परिवारका सदस्य गुमाएका तथा जीविकोपार्जनको आधार गुमाएका परिवारका लागि सामाजिक सुरक्षा कोषको यो प्रक्रिया महत्त्वपूर्ण बनेको छ । अब योगदानको विवरण परीक्षणपछि योग्य ठहरिएका परिवारले कानुनअनुसार पेन्सन तथा अन्य सुविधा प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images