काठमाडौं – प्रहरीले भक्तपुर, रुकुम पश्चिम र सुनसरीका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ । बिहीबार राति गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरबाट नौ जना, रुकुम पश्चिमबाट तीन जना र सुनसरीबाट ११ जना रहेका छन् । उनीहरूको साथबाट कुल ८ लाख ८५ हजार ५९० रुपैयाँ नगद र १९ बुक तास बरामद गरिएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ३४ वर्षीय सुनिल घिमिरेसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूको साथबाट २ लाख ३६ हजार १०० रुपैयाँ नगद र छ बुक तास बरामद गरेको छ ।
त्यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–२ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा चौरजहारी नगरपालिका–१ का ३५ वर्षीय दीपक नेपालीसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको टोलीले उनीहरूको साथबाट ५६ हजार ९९० रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा धरान–१६ जोर सखुवाका ३३ वर्षीय सोम तामाङसहित ११ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ५ लाख ९२ हजार ५०० रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको छ ।





















