images
images
  • आधुनिक मिलको बढ्दो प्रयोगसँगै जुम्लाका परम्परागत पानी घट्ट लोप हुँदै

    काठमाडौं – आधुनिक विद्युतीय मिलको प्रयोग बढ्दै गएपछि जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय गाउँघरमा अन्न पिस्ने प्रमुख माध्यम रहेका पानी घट्ट पछिल्लो समय प्रयोगविहीन बन्दै गएका हुन् ।

    पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाका अनुसार गाउँघरका खोलाको पानीबाट सञ्चालन हुने घट्टमा स्थानीयवासीले मकै, गहुँ, जौँ, कोदो र फापरलगायतका अन्न पिस्ने गर्थे। तर गाउँमा विद्युत्बाट सञ्चालन हुने आधुनिक मिलको पहुँच बढेसँगै पानी घट्टको प्रयोग घट्दै गएको छ ।

    गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच नहुँदा पानी घट्ट अन्न पिस्ने साधन मात्र नभई ग्रामीण जीवनको आत्मनिर्भर आधारसमेत बनेको थियो। तर समयसँगै आधुनिक विद्युतीय मिलको प्रयोग बढेपछि परम्परागत घट्ट विस्थापित हुँदै गएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

    उनका अनुसार कतिपय स्थानमा पुराना पानी घट्टलाई सुधार गरी पिसानी, तेल उत्पादन तथा काठ चिरानीसमेत गर्न सक्ने गरी आधुनिक प्रविधिमा रूपान्तरण गरेर सञ्चालन गरिएको छ। यसले परम्परागत पानी घट्टको मौलिक स्वरूप र प्रयोग थप घटाएको छ ।

    कुनै समय जुम्लाका गाउँगाउँमा प्रचलनमा रहेका पानी घट्ट अहिले कतिपय स्थानमा देख्नसमेत मुस्किल हुन थालेका छन् । पानी घट्ट हराउँदै जाँदा यसको बनावट, सञ्चालन विधि र प्रयोगसम्बन्धी परम्परागत ज्ञान पनि नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको अध्यक्ष धितालले बताए ।

    आधुनिक प्रविधिको विस्तारसँगै सहज र छिटो पिसानीको सुविधा बढे पनि पानी घट्टसँग जोडिएको स्थानीय सीप, प्रविधि र सांस्कृतिक पहिचान भने क्रमशः हराउँदै गएको छ। परम्परागत पानी घट्टको संरक्षण र त्यससँग जोडिएको ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउनु चुनौतीपूर्ण बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images