काठमाडौंं-राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिए । ‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । अध्यादेश अनुसार अब २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्नेछन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले अध्यादेश जारी भएको जानकारी दिए । उनले भने, अबको केहीबेरमा राष्ट्रपति कार्यालयको वेबसाइटमा राख्दैछौं । यसअघि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुगेको अवस्थामा दल विभाजन गर्न प्रावधान थियो । उक्त प्रावधानलाई खुकुलो पार्दै नयाँ अध्यादेशले अब दलहरूलाई विभाजनका लागि सहज बनाएको हो । यो अध्यादेश जारीसँगै अब एमाले र जनता समाजवादी पार्टी फुटका लागि बाटो खुलेको छ । पार्टी विभाजनका लागि एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह तयारी अवस्थामा छ ।
जसपाको ठाकुर समूहले पार्टीको नाम नै तय गरिसकेको छ । ठाकुर समूहका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नयाँ नाम ‘जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक’ हुनेछ । पार्टी अध्यक्ष ठाकुर रहनेछन् । दलका अन्य पदाधिकारी र केन्द्रीय सदस्य अनि संगठन संरचनाबारे पनि छलफल जारी रहेको छ । त्यस्तै, एमालेको माधवकुमार नेपाल पक्षले पनि नयाँ राजनीतिक दल दर्ताको तयारी थालेको छ ।



विश्व खबर 


















