काठमाडौं-नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताएका छन्।
मंगलबार ६ वटा जनवर्गीय संगठनको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेपालले आफूले एकताका लागि अन्तिमसम्म प्रयास गरे पनि अध्यक्ष ओलीले एकताको ढोका बन्द गरेको बताए। आजै एकताको अन्तिम प्रयासका लागि दिउँसो २ बजे नेता घनश्याम भुसाल आफूसँग छलफल गरेर अध्यक्ष ओलीलाई भेट्न गएको उनले प्रसंग निकाले।
तर, एकताका लागि प्रयास गर्नुको सट्टा १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेर ओलीले एकताको ढोका बन्द गरेको उनको भनाइ थियो। “हामीले एकताका लागि अन्तिमसम्म प्रयत्न गर्यौं, तर केपी ओलीले एकताको ढोका बन्द गर्नुभयो,” नेपालले भने, “अब पार्टीलाई पुनर्गठन गर्ने अवस्थामा पुगेका छौं। यो पार्टीलाई पुनर्गठन गरिनेछ।”
देशभरका जनवर्गीय संगठनका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निराश नहुन अपील गरे। “संगठन बनाउँदै जानुस्। प्रत्येक वडा वडामा जानुस्। संगठन निर्माण गर्नुस्। निराश नहुनुस्, उत्साहका साथ जानुस्,” नेपालले भने, “जित हाम्रो अवश्यम्भावी छ।”
उनले अब नयाँ चरणमा भेट हुने बताए। “नयाँ चरणमा फेरि भेट हुनेछ। आत्तिनुपर्ने छैन, निराश हुनुपर्ने छैन,” नेपालले नेता–कार्यकर्तालाई हौसला दिँदै भने, “निजी स्वार्थ केही छैन। हाम्रो सामु देश छ, जनता छन्।”
एमालेलाई विभाजनको डिलमा पुर्याउन अध्यक्ष ओली जिम्मेवार भएको नेपालले बताए। आफूलाई गद्दार र देशद्रोही भन्दा पनि पार्टी एकताका लागि सहेर बसेको उनको भनाइ थियो। “उहाँले गद्दार भन्नुभएको छ, देशद्रोही भन्नुभएको छ,” अब पार्टी पुनर्गठन गर्नुपर्ने बताउँदै उनले भने, “अब आन्दोलनको झण्डा बुलन्द गरिनेछ। राष्ट्रिय झण्डा बुलन्द गरिनेछ, लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ। नेपाली जनताको प्यारो कम्युनिष्ट पार्टीलाई अगाडि बढाउनेछौं।”
अध्यक्ष ओलीकै कारणले सरकारबाट बाहिरिनुपरेको उनको आरोप थियो। “उहाँले यो पार्टीलाई एकताबद्ध गर्नु चाहनुभएको छैन। अध्यक्षको पदीय दायित्व पूरा गर्नुभएको छैन। उहाँ अंहकारको घोडामा सवार हुनुभएको छ। उहाँको ध्यान गुटमा गएको छ,” नेपालले भने, “उहाँमा आत्मालोचनाको प्रवृत्ति छैन। गल्ती गरें कि भनेर पछाडि फर्केर हेर्ने प्रवृत्ति छैन। अरूलाई दोष दिने प्रवृत्ति छ। सबैलाई होच्याउने, आफूलाई सर्वाधिकार सम्पन्न ठान्ने प्रवृत्ति छ।”
अध्यक्ष ओलीको यही अहंकारले एमाले यो अवस्थामा पुगेको नेपालको आरोप थियो। अझै पनि ओलीले गल्ती स्वीकार गरेर गत २३ फागुनपछि गरेका निर्णय खारेज गरेमा एकताको ढोका खुला रहने नेपालको भनाइ थियो।
अब ओलीले गर्ने कारबाहीबाट विचलित नहुने नेपालले बताए। एकताको ढोका खुला राख्द अगाडि बढ्ने उनको भनाइ थियो। “आज हामीले नयाँ पार्टी खोलिहाल्यौं भने पनि केपी ओलीले सबै गल्ती स्विकार्नुभयो भने फेरि एकताको ढोका खुला हुनेछ,” नेपालले भने।
देशभरका सबै कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने नेपालले बताए। “अहिले अरू पार्टीसँग एकताको सम्भावना छैन, सहकार्य गर्नेछौं,” नेपालले भने, “अरू वामपन्थी शक्तिलाई पनि एकत्रित पार्दै जानेछौं।”


विश्व खबर 


















