काठमाडौं– सेप्टेम्बर महिनामा सुरु भएको फ्रान्सको प्रदर्शनले झन् ठुलो रूप लिएको छ । बिहीबार फ्रान्सको प्रदर्शनमा सबैभन्दा धेरै व्यक्तिको उपस्थिति थियो । पाँच लाख ७५ हजारको हाराहारीमा प्रदर्शनकारी सरिक भएको जनाइएको छ ।
अक्टोबर १७ मा भएको प्रदर्शनमा त्यसै किसिमको उपस्थिति थियो । तर जुलाई ५ का दिन भएको प्रदर्शन तुलनात्मक रूपमा शान्तिपूर्ण थियो । केही कामदारहरू काम छाडेर प्रदर्शनमा गएका थिए । सुरुमा विद्यार्थीहरूले शिक्षाको गुणस्तरका लागि भन्दै सुरु गरेको विद्रोह अहिले पहेंलो भेस्ट लगाउने मजदुरसम्म पुगेको छ ।
यसरी प्रदर्शनमा आउने हरेकका फरक स्वार्थ छन् । खासमा जीवनयापनमा आइपरेको समस्या सबैको चिन्ताको विषय हो । दोस्रो चिन्ताको विषय आर्थिक असमानता हो । महँगी त स्वाभाविक विद्रोहको कारण भई नै हाल्यो ।
फ्रान्सको पछिल्लो विद्रोहको अर्थ के हो भने सबै किसिमका व्यक्तिहरूको उपस्थिति थियो । विद्यार्थी, शिक्षक, हुलाक कार्यालय, चिकित्सक, औषधि व्यवसायी, यातायात मजदुरले आफ्नो प्रतिनिधित्व जनाएका थिए ।
यस प्रदर्शनले फ्रान्सको उच्च शिक्षा प्रभावित भएको छ । १३ प्रतिशत विद्यालय कर्मचारी हडतालमा गएका छन् । भलै यो सङ्ख्या युनियनले अनुमान गरेको भन्दा कम थियो । मजदुरहरू हड्तालमा गएपछि रेल सेवा प्रभावित भएको थियो । थोरैमात्र स्वास्थ्य क्षेत्रका व्यक्तिहरू प्रदर्शनमा गएका कारण धेरै असर गर्न पाएन । फ्रान्सको स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य सेवा सुचारु रहेको बताए ।
यो आन्दोलनमा गएका प्रदर्शन भन्दा शान्त थियो । प्रहरी र प्रदर्शनकारीका बिच फाटफुट झडपका घटना भए पनि धेरैजसो शान्त नै रहेको थियो । प्रहरी प्रशासनका अनुसार रेनस, नानेस, लियोन र मार्सेलीमा गरी कुल ४८५ जना गिरफ्तार गरिए ।
लियोनमा भने प्रहरीले अश्रुग्याँस फ्याकेको थियो । फ्रान्सको आन्तरिक मामला मन्त्रालयका अनुसार ८६ स्थानमा प्रदर्शनकारीले लगाएको आगो प्रहरीले निभाएको थियो । फ्रान्सेली सरकारले शान्तिपूर्ण प्रदर्शनको अधिकार सबैमा भए पनि आगजनीको अधिकार कसैमा नभएको जनाएको छ ।
मजदुर सङ्गठनले धेरै ज्याला र पेन्सनको माग गरेको छ । फ्रान्समा दुई मजदुर सङ्गठन सक्रिय छन् । एउटाले न्यूनतम ज्यालादरमा तत्काल १० प्रतिशत वृद्धिको माग गरेको छ । अर्को पक्षले ७ प्रतिशत माग गरेको छ ।
फ्रान्समा युवा र विद्यार्थीबाट सुरु भएको यो प्रदर्शन अहिले सबैमा पुगेको छ । मजदुर सङ्गठन र स्वास्थ्य क्षेत्रमा संलग्न पनि विद्रोहमा सरिक भएपछि यसलाई रोक्न कठिन भएको छ ।






















