काठमाडौं– यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको छ ।
हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमध्ये अधिकांश बालबालिका छन् । मन्त्रालयले साउदी विमानहरूले घर, आवासीय क्षेत्र र बजारलाई निशाना बनाएको आरोप लगाएको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले सोमबार साँझ दिएको जानकारीअनुसार साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा १०९ पटक हवाई आक्रमण गरेको छ । ती आक्रमण सादा, ताइज, लाहज, अल-जौफ र होदेइदाह प्रान्तमा केन्द्रित थिए ।
हुथी समूहले साउदी अरबको पूर्वी र दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी पनि गरेको छ ।
यमन सन् २०१४ देखि सशस्त्र द्वन्द्वको चपेटामा छ । त्यस वर्ष हुथी विद्रोहीहरूले राजधानी साना कब्जा गरेका थिए । त्यसको एक वर्षपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको गठबन्धन युद्धमा सहभागी भएको थियो ।
सन् २०२२ मा भएको युद्धविराम सम्झौता गत जुलाईमा भङ्ग भएपछि द्वन्द्व पुनः चर्किएको थियो । त्यसपछि सेप्टेम्बरमा हुथीहरूले रणनीतिक महत्वको बाब अल-मान्देब जलडमरुमाथि नियन्त्रण कायम गर्न आक्रमण सुरु गरेका थिए । उक्त जलमार्गले लालसागर र स्वेज नहर हुँदै युरोपलाई एसियासँग जोड्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पुनः लडाइँ सुरु भएयता एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।






















