काठमाडौं- बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको सम्पर्कका आधारमा कांग्रेस नेता उमेश श्रेष्ठ र पूर्वप्रधानमन्त्री आरजु राणा पनि तानिने सम्भावना बढेको छ। इनमको सम्पर्क सञ्जालबारे पछिल्लो समय एकपछि अर्को विवरण सार्वजनिक भइरहेका हुन्। इनमको फोन सम्पर्कको रेकर्डअनुसार उनीहरु तानिने भएका हुन्।
बहालवाला प्रधानन्यायाधीशदेखि न्यायाधीश, प्रहरी प्रमुख तथा सरकारी उच्चपदस्थ व्यक्तिहरूसम्म सम्पर्क देखिएका सापकोटाको सम्बन्ध राजनीतिक वृत्तका नेताहरूसँग पनि भएको खुलेको छ।
सोही क्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा प्रभावशाली नेता उमेश श्रेष्ठसँग पनि सापकोटाको पटक–पटक फोन सम्पर्क हुने गरेको पाइएको छ। सापकोटाले श्रेष्ठलाई पटक–पटक फोन गर्ने गरेको विवरणले उनीहरूबीचको सम्बन्धलाई लिएर चासो बढाएको छ।
सापकोटासँगको आफ्नो सम्बन्धबारे बुझ्दा श्रेष्ठले उनी आफ्नो विद्यार्थी भएकाले सम्पर्क हुने गरेको बताए। विद्यार्थी हुँदादेखिको चिनजान र सम्बन्धका कारण कुराकानी हुने गरेको उनको भनाइ छ।
तर कुराकानीका क्रममा श्रेष्ठले सापकोटाको सम्बन्ध आफूभन्दा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणा देउवासँग अझ निकट रहेको दाबी गरे।
‘मेरोभन्दा सम्बन्ध नजिक त देउवा र आरजुको पो छ त’, श्रेष्ठले स्पष्ट रूपमा भने।
श्रेष्ठको यो भनाइले सापकोटाको राजनीतिक सम्पर्क र पहुँचबारे थप प्रश्न खडा गरेको छ। एकपछि अर्को उच्चपदस्थ व्यक्तिसँगको सम्पर्क विवरण सार्वजनिक भइरहेका बेला कांग्रेसका प्रभावशाली नेतासँग पनि उनको नियमित सम्पर्क देखिनुले यस प्रकरणलाई थप चासोको विषय बनाएको छ।
प्राप्त कल विवरणअनुसार गत १८ जुनमा सापकोटाले कांग्रेस नेता उमेश श्रेष्ठसँग फोन सम्पर्क गरेका थिए। उक्त दिन सापकोटा र श्रेष्ठबीच २ मिनेट २ सेकेन्ड कुराकानी भएको कल रेकर्डमा देखिन्छ।
स्वास्थ्यसम्बन्धी ठेक्काको तयारीमा पनि सापकोटाको कनेक्सन ?
स्रोतका अनुसार बिचौलिया भनिएका सापकोटासँगको सम्पर्क केवल सामान्य चिनजानमा मात्र सीमित नरहेको आशंका गरिएको छ। सापकोटासँगको सम्बन्धकै आधारमा कांग्रेस नेता श्रेष्ठले सरकारबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ठेक्का लिने तयारीसमेत गरिरहेको स्रोतको दाबी छ।
सापकोटाको राजनीतिक तहमा देखिएको सम्पर्कमध्ये श्रेष्ठसँगको सम्बन्ध सबैभन्दा पहिलेदेखिको हो। राजनीतिक तथा प्रशासनिक वृत्तमा आफ्नो पहुँच विस्तार गर्ने क्रममा सापकोटाको श्रेष्ठसँग सम्पर्क स्थापित भएको बताइन्छ।
श्रेष्ठ २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका थिए। निजी स्वास्थ्य संस्थामा उनको व्यावसायिक लगानी रहेकाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगेपछि उनको नियुक्ति विवादमा परेको थियो।
निजी स्वास्थ्य व्यवसायमा संलग्न व्यक्ति नै स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पुग्दा नीतिगत निर्णयमा स्वार्थको द्वन्द्व हुनसक्ने भन्दै उनको नियुक्तिको आलोचना भएको थियो। विवाद बढेपछि श्रेष्ठले मन्त्री पदमा रहँदासम्म आफ्नो व्यावसायिक संलग्नताबाट अलग रहने तथा सरकारी तलब, गाडी र भत्तालगायत सुविधा नलिने घोषणा गरेका थिए।






















