images
images
  • इरानका सर्त पूरा नभएसम्म स्ट्रेट अफ होर्मुज खुल्दैन: आईआरजीसी

    काठमाडौं– इरानले आफ्ना माग पूरा नभएसम्म स्ट्रेट अफ होर्मुज बन्द नै रहने चेतावनी दिएको छ ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहबीले अमेरिकाले इरानका माग पूरा नगरेसम्म विश्व व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द रहने बताएका हुन् ।

    फार्स समाचार एजेन्सीका अनुसार मोहबीले भनेका छन्, ‘स्ट्रेट अफ होर्मुज अहिले इरानी सशस्त्र बलको रणनीतिक नियन्त्रणमा छ । इस्लामिक गणतन्त्र इरानका सर्तहरू पूर्ण रूपमा पूरा नभएसम्म यो जलमार्ग कहिल्यै खोलिने छैन ।’

    मोहबीले ‘शत्रु’ले इरानको आणविक तथा क्षेप्यास्त्र क्षमता नष्ट गर्ने प्रयास गरेको आरोप पनि लगाए । तर अमेरिकाको ‘लुकेको उद्देश्य’ भने ‘ग्रेटर इजरायल’ को योजना साकार पार्नु रहेको उनको भनाइ छ ।

    यसैबीच होर्मुज जलडमरूमध्यको पश्चिममा अमेरिकी ‘जासुसी’ ड्रोन कब्जा गरेको इरानले दाबी गरेको छ ।

    इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलडमरूमध्यको पश्चिमी क्षेत्रमा अमेरिकी ‘जासुसी तथा छलकपट गर्ने’ ड्रोन कब्जा गरेको दाबी गरेको हो ।

    एक विज्ञप्तिमा आईआरजीसीको नौसेनाले आफ्नो इलेक्ट्रोनिक युद्ध इकाइका लडाकुहरूले होर्मुज जलडमरूमध्यको पश्चिममा अमेरिकी सेनाको एउटा ‘आतंकवादी जासुसी तथा छलकपट गर्ने ड्रोन (एमक्यूएम–१७०)’ लाई सुरक्षित रूपमा अवतरण गराउन सफल भएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘यस ड्रोनको उद्देश्य फारसको खाडीको तटीय क्षेत्र र होर्मुज जलडमरूमध्यमा इस्लामिक गणतन्त्र इरानका हवाई रक्षा प्रणालीहरूको पहिचान गर्नु थियो ।’

    आईआरजीसी नौसेनाका विशेषज्ञहरूले उक्त ड्रोनबाट प्राप्त गरेको जानकारीका आधारमा यसको उडान फारसको खाडीको दक्षिणी तटमा रहेका देशहरूमध्ये कुनै एक देशको तटबाट सुरु भएको पत्ता लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि आईआरजीसीले होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा रहेको इरानको हवाई क्षेत्रमा एउटा एमक्यू–१ ड्रोन खसालेको घोषणा गरेको समाचार सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images