images
images
  • होर्मुजमा बारुदी सुरुङमा ठोक्किएर तीन तेल ट्याङ्करमा आगलागी

    काठमाडौं– इरानस्थित होर्मुज जलडमरूमध्य हुँदै यात्रा गरिरहेका तीनवटा तेल ट्याङ्कर बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको छ । इरानी सरकारी सञ्चारमाध्यमले यसबारे जानकारी दिएका छन् ।

    इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाका अनुसार ती जहाजहरूले ‘अनधिकृत’ दक्षिणी मार्ग प्रयोग गरिरहेका थिए । आगलागी भएपछि ती जहाजलाई होर्मुज जलडमरूमध्यको दक्षिणी किनारमा छाडिएको आईआरजीसीले जनाएको छ ।

    इरानको तस्निम समाचार एजेन्सीका अनुसार आईआरजीसीको नौसेनाले भनेको छ, ‘ती ट्याङ्करहरूले आफ्ना सबै राडार र नेभिगेसन प्रणाली बन्द गरेका थिए । आईआरजीसीको नौसेनाको चेतावनी बेवास्ता गर्दै उनीहरू होर्मुज जलडमरूमध्यको अनधिकृत दक्षिणी मार्गबाट बाहिर निस्कने प्रयास गरिरहेका थिए ।’

    जहाजमा आगलागी भएपछि वातावरणमा समेत असर परेको आईआरजीसीको नौसेनाले जनाएको छ । आईआरजीसीका अनुसार होर्मुज जलडमरूमध्यको अनधिकृत मार्ग प्रदूषित भएको छ । यी मार्ग हुँदै यात्रा गर्ने जहाजका मालिक र चालक दल यसका लागि जिम्मेवार रहेको उनले भनेको छ ।

    आईआरजीसीले समुद्री यातायात सञ्चालकहरूलाई अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले साइबर क्षेत्रमा फैलाउने भ्रममा नपर्न चेतावनी दिएको छ ।

    साथै उसले कुनै पनि उत्तेजक गतिविधिको निर्णायक रूपमा सामना गरिने चेतावनी पनि दिएको छ ।

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images