काठमाडौं– संसारको राजनीतिमा नयाँ ध्रुवीकरण भइरहेको समयमा इजरायलमा पनि अरबहरू र यहुदीबीचको विभेद हटाउने उद्घोष गरेको वामपन्थी शक्तिको उदय भएको छ । इजरायली राजनीतिमा वामपन्थी झुकाव राख्ने अरब पक्षधरहरूको सिट सङ्ख्याकै कारण परस्परविरोधी दुई शक्तिमध्ये कसैको पनि बहुमत नपुग्ने निश्चित भएको छ ।
वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको आवश्यकता औंल्याएका छन् । उनका विपक्षीहरूले भने नेतान्याहुलाई स्वीकार गर्न कठिन हुने बताए ।
निर्वाचनको मत परिणाम आउन केही समय लाग्नेछ । परन्तु वर्तमान प्रधानमन्त्री नेतान्याहु र उनका निकटतम प्रतिद्वन्द्वी गाडी आइसेनकोटमध्ये कसैको पनि बहुमत नपुग्ने पक्का छ ।
पछिल्लो रुझानका अनुसार १२० सदस्यीय नेसेटमा नेतान्याहुको ब्लकले ५३ र आइसेनकोटको ब्लकले ४ सिटमा जित हात पार्ने सम्भावना प्रबल छ । यस निर्वाचन परिणामले सन् २०२३ अक्टोबर ७ पछि गाजामा नेतान्याहुले गरेको आक्रमणलाई केही हदसम्म अनुमोदन गरेको छ ।

यस निर्वाचनमा अरब पक्षले १९ सिट जित्ने आँकडा देखिएको छ । यसअघिका सर्वेक्षणले भने दुवै ब्लकले ५१ सिट जित्ने देखाएको थियो । नेतान्याहुको लिक्विड पार्टीले २७ तथा आइसेनकोटको यासेर पार्टीले ३१ सिटमा सफलता पाउने प्रक्षेपण गरिएको थियो ।
आइसेनकोटले यो नयाँ अध्यायको सुरुवात भएको भन्दै इजरायलमा पुरानो सत्ताको अन्त्य भएर नयाँ अध्यायको सुरुवात भएको बताए । उनले दक्षिणपन्थीहरूको व्यापक बहुमत भएको र आफ्नो दल सबैभन्दा ठुलो भएका कारण राजीनामा दिन बाध्य नभएको बताउँदै आएका छन् ।
अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन गिभिरले समग्रमा उनको दल ओत्जमा यहुदितको उपलब्धिमा आफू सन्तुष्ट रहेको बताए ।
प्यालेस्टाइन राजनीतिका ज्ञाता एहाब जाबरेन भने यस निर्वाचनको पूर्ण परिणाम नआएसम्म कुनै कुरा यकिन भन्न नसकिने बताउँछन् । उनले नियमित वार्तामार्फत नेतान्याहु अझै प्रधानमन्त्री कार्यालयमा रहन सक्ने बताउँछन् ।
नोभेम्बर ४ मा निर्वाचनको पूर्ण परिणाम आइसकेपछि राष्ट्रपति इसाक हेरजोगले नयाँ सरकारका लागि आह्वान गर्नेछन् । सोहीअनुसार नयाँ सरकार गठन हुनेछ । यसका लागि नेतान्याहु र आइसेनकोट नै मुख्य दाबेदार मानिएका छन् ।
इजरायलको पनि अन्य देशमा झैं संसदीय व्यवस्था छ । संसद्को बहुमतले नै प्रधानमन्त्री चयन गर्ने प्रावधान छ । इजरायलमा अल्पमतको सरकार बन्ने छैन । कसैले बहुमत नपाएमा गठबन्धनमार्फत सरकार बन्ने बाटो खुला हुनेछ ।

अहिलेको प्रक्षेपणअनुसार बेन्जामिन र आइसेनकोट नै मिल्नुपर्ने या दुईमध्ये एकले अरब नेतृत्वसँग गठबन्धन गर्नु पर्नेछ । अन्यथा दुईमध्ये एक पक्षले अरब नेतृत्वसँग सहकार्य गर्न आवश्यक छ । धेरै समीक्षकहरूले यो पनि असम्भव भएको देख्छन् । यी सबै सम्भावना नभएमा फेरि निर्वाचन पनि हुने सम्भावना छ ।
यस परिणामबाट अरबहरू खुसी देखिन्छन् । एक २९ वर्षीय युवा अहिले प्यालेस्टाइनमा भएको नरसंहारको विरुद्धमा आवाज बुलन्द गर्ने समय आएको बताउँछन् ।
अहिले समयले नयाँ माग गरेको छ । इजरायलमा अरब र यहुदीहरूको सुमधुर सम्बन्ध चाहनेहरू अरब पक्षीय कित्तालाई सरकारमा समावेश गराएर सधैंका लागि यो मनमुटाबका अन्त्य गर्न चाहन्छन् ।
अहिले अरब इजरायलको राजनीतिलाई नजिकबाट चासो दिनेहरू चार किसिमको सम्भावना व्यक्त गर्छन् । पहिलो सम्भावना अर्को निर्वाचन हो । अर्को सम्भावना अरब शक्तिले सरकार बाहिर बसेर समर्थन गर्ने । अर्को, सम्भावना नेतान्याहुविनाको सरकार तथा अर्को विकल्प राष्ट्रिय सरकारको समेत विकल्प देखिएको छ ।
अहिले प्यालेस्टाइनी यहुदी टुगेदर अभियानले यहुदी र अरब मिलेर नयाँ सरकार बनाउन तथा संसारलाई नयाँ सन्देश दिन माग गरेको छ ।
सात वर्षमा ६ वटा निर्वाचन

इजरायलमा पछिल्लो ७ वर्षमा ६ पटक निर्वाचन भएको छ । यसरी बारम्बार निर्वाचन हुनुको कारण नेतान्याहु र उनको विपक्षी दल दुवै पक्षले बहुमत प्राप्त नगर्नु हो । सन् २०१९ मा केही विधेयकहरूमा फरक मत रहेका कारण एबिगडोर लिबरम्यान सत्तामा समावेश हुन अस्वीकार गरेका थिए ।
सन् २०२० मा तेस्रो पटक मतदान भए पनि सन् २०२१ मा ८ दलको सरकार बनेको थियो । सन् २०२२ मा सरकारमा फर्किएका नेतान्याहुले भने यसपछि आफ्नो कार्यकाल पूरा गरेका छन् ।
अहिले अति दक्षिणपन्थी दल इजरायल फस्टका नेता तथा विधायक सारेन हस्काटले अरब प्रभावितविनाको सरकारको वकालत गरेका छन् ।
अहिले अरब दलको उदयलाई धेरै आँखाले हेरिएको छ । इजरायलमा पूर्ण प्रजातन्त्रको अभ्यासको माग गरिएको छ । धेरै अरब नेताहरूको मतका अनुसार नेतान्याहुभन्दा पनि कठोर विपक्षी गठबन्धन भएका कारण उनीहरूको अरबसँग सहकार्यको सम्भावना कम छ ।
प्यालेस्टाइन लेबरेटरिजका नेता एन्थोनी लोवेन्सटिनले आइसेनकोटलाई अझ अनुदारवादी र रङ्गभेदीको संज्ञा दिएका छन् । उनले आइसेनकोटले क्रिसमस, अरब र हिन्दूलाई स्वीकार गर्ने सम्भावना कम रहेको बताएका छन् ।
डेमोक्रेटिभ पार्टीका नेता गिलाड करिभ इजरायलमा समग्रमा दक्षिणपन्थीहरूको मत घटेको प्रतिक्रिया दिएका छन् ।
निर्वाचनको मतगणना जारी रहेको समयमा नेतान्याहुले विश्वव्यापी समस्यासँग समाधान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहकार्य गर्ने बताएका छन् ।
संसारकै चासो

इजरायलको निर्वाचन परिणामलाई संसारले चासो दिएर हेरेको छ । वेस्टबैंकको सवालमा नेतान्याहुभन्दा विपक्षी गठबन्धन अझ कठोर छ । कुनै पनि हालतमा वेस्टबैंक इजरायलको हुनुपर्ने जिकिर उनीहरूको छ ।
इरानमाथिको आक्रमण गर्ने सवालमा नेतान्याहुले अमेरिकासँगको सहकार्य गर्ने बताइसकेका छन् ।
इजरायलमा अब दक्षिणपन्थी सरकार बन्नेछ या अरब उपस्थितिमा सरकार बन्नेछ भन्ने कुरा छिनोफानो केही दिनमा नै हुनेछ । यसैको आधारमा अन्तर्राष्ट्रिय राजनीतिका धेरै विषय तय हुनेछन् ।
एउटा के साँचो हो भने इजरायलमा शान्ति चाहने र धार्मिक सम्प्रदायको नाममा विभाजित हुनु हुँदैन भन्नेको सङ्ख्या बढिरहेको छ ।
-अल जजिरा, सीएनएनलगायतको सहयोगमा


मनोज घिमिरे 



















